कोरोनालाई सामान्य ठान्ने भुल नगरौं

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) का कारण करिब एक वर्षदेखि विश्व समुदाय भयभित बनिरहेको छ । मानव सभ्यतामै निकै कठिन संकटको रुपमा कोरोनाले सर्वत्र आक्रान्त बनायो । हजारौ नागरिकले ज्यान गुमाएका छन् भने लाखौ नागरिक कोरोनाबाट संक्रमित बनेका छन् । यसको भयावहबाट दैनिक रोजीरोटी गुमाउनेहरुको संख्या ठुलो छ । गत वर्षको चैत्रबाट नेपालमा प्रवेश गरेको कोरोना यति लामो अवधी सम्म दबदबा जमाएर बस्नेछ भन्ने सायदै नागरिकले सोचेका थिए । तर, कोरोना भाइरसले आजको दिन सम्म उत्तिकै जलत्रासको अवस्था पैदा गरिरहेको छ । नेपालको पाचौ र छैठौ संक्रमित बेहोरेको बागलुङले सुरुमा निकै अप्ठ्यारो, अपमान र उपेक्षा सहनुप¥यो । विस्तारै यसबाट भयभित होइन, संयमित हुनुपर्छ भन्ने महुशुस सर्वत्र बोध भयो । यही क्रममा देशमा जारी लकडाउन हटे सँगै नागरिक नियमित दैनिकीमा फर्किए । र पछिल्लो समय कोरोना जोखिम क्रमशः हट्दै गएको आँकलन गरिएको थियो । यद्यपि, यो साताको लगातार दुई दिनमा कोरोना भाइरस (कोभिड १९) का कारण दुई जनाको दुखद असामयिक निधन भए पछि फेरी बागलुङ तरंगित बनेको छ ।

कोरोना संक्रमणका कारण मंगलबार ३७ वर्षिय एक उर्जाशील बहुआयामिक व्यक्तित्वको इहलिला समाप्न ग¥यो । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय युवाको उपचारका क्रममा निधन भयो । स्वास प्रस्वासमा समस्या भए पछि गत पुस २१ गते अस्पतालमा भर्ना गरिएको थियो । यसअघि सोमबार कोरोना संक्रमणकै कारण धौलागिरी अस्पतालमै उपचाररत बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ८ का एक ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्वासप्रस्वासमै समस्या आए पछि पुस २२ गते अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरेर पोखरा पठाइएकोमा मृत्यु भए पछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मृतक दुवैको शव नेपाली सेनाको टोलीले बागलुङ नगरपालिका–१ निरयघाटमा अन्त्येष्टी गरेको छ । यो सँगै कोरोनाका कारण बागलुङमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । पछिल्लो लगातार दुई घटनाले सिंगो जिल्लाबासीलाई स्तब्ध र मर्माहत तुल्याएको छ । कोरोनाको फोबियाबाट क्रमशः नियमित सामान्य दैनिकीमा फर्किदै गरेका आम नागरिकलाई फेरी एक पटक झस्काएको छ ।

कोरोनालाई सुरुमा विश्व समुदायले निकै गम्भीर र संवेदनशील रुपमा लियो । नेपालले पनि सोही अनुरुप यसको रोकथाम र उपचार प्रयास ग¥यो । तर, स्रोत साधनले यसको उपचार, रोकथाम, नियन्त्रण असम्भव भए पछि अहिले पूर्ववत सचेतताका लागि अपनाइएका लकडाउन, अरु कडाई पनि क्रमशः खुकुलो बनाइयो । यसो गर्दा आम मानिसहरुलाई लाग्न थाल्यो कि अब कोरोनाको संक्रमण जोखिम घट्दै र हट्दै गयो । व्यापार व्यवसाय, यातायात, उद्योग, कलकारखाना सबैजसो खुल्ला भयो । मानिसहरु निसंकोच खुल्ला दैनिकीमा आए । अहिले घटनाक्रमले फेरी कोरोनाको जोखिम सामान्यकरण तर्फ उन्मुख नभएको संकेत गरेको छ । धौलागिरी अस्पतालमा दुई पुरुषको लगातार मृत्युको घटनाले पछिल्लो समय कोरोना संक्रमण अझ खतरा स्वरुपमा देखिन थालेको प्रतित हुन्छ । त्यसैले रोगले भन्दा भोकले मर्ने विद्यमान अवस्थालाई बोध गर्दै नियमित दैनिकीमा फर्किएका सबैले सचेतता अपनाऔं । कोरोनालाई सामान्य ठान्ने गम्भीर गल्ती नगरौं । यसले जुनसुकै बेला तपाई हामीलाई पनि कोरोनाको मात्र होइन, मृत्युको शिकार बनाउन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *