प्रवासी म्याग्देलीले थाले पहिरो पीडितको ४० घर पुर्ननिर्माण

तस्विर सौजन्यः लोकेश पुन

सन्तोष गौतम, म्याग्दी

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले गत बर्खाको पहिरोमा घरबास गुमाएका म्याग्दीका पहिरो पीडितहरुको आवास पुर्ननिर्माण सुरु गरेको छ। रोजगारी, अध्ययन, व्यापार, व्यवसाय लगायत विभिन्न कामको शिलशिलामा विदेशिएका म्याग्देलीहरु ९मोना०ले जिल्लाभर ४० वटा घर बनाउन लागेका हुन्।

मोनाको पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाले रघुगंगा गाउँपालिकाको झिँबाट पुननिर्माणको काम सुरु भएको जानकारी दिए। ‘मोना मार्फत म्याग्दीमा ४० वटा घर पुननिर्माण हुँदैछ’, उनले भने, ‘झिँका भिमबहादुर गर्बुजाको घर निर्माण सुरु गरेर अभियान थालेका छौं।’

विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक संकलन गरेर पहिरो पीडितको घर बनाइदिन लागेका हुन्। सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुननिर्माणका लागि छनौट गरिएको छ।

मोनाले बनाउने एउटा घरको लागत रु। ५ लाख अनुमान गरिएको छ। मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले बर्खाअघि नै आफूहरुले जिम्मा लिएका घर निर्माण सकेर पालिका मार्फत पीडितलाई हस्तान्तरण गरिने बताए।

उनका अनुसार धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४(४ वटा घर निर्माण गरिने भएको छ। एक वटा भान्छाकोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुनेछ।

प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ। आवास पुननिर्माणका लागि पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा जग्गाको व्यवस्थापन भइसकेको छ।

बिम–मालिका संघले २० लाख रुपैयाँमा खरिद गरेको जग्गामा घर निर्माण गर्न सम्माउने काम सकिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताए। समुदाय स्तरबाट आर्थिक स्रोत जुटाएर ३८ लाख ५० हजार रुपैयाँमा मराङको राम्चेमा ११ र अस्कारेमा १२ रोपनी जग्गा खरिद भइसकेको छ।

वडा अध्यक्ष राजाराम सुबेदीले राम्चेमा थप ६ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए। वडा स्तरीय विपद् व्यवस्थापन कोषमा करिब ६० लाख रुपैयाँ संकलन भएको छ। गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए।

८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो। प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले टहरा र त्रिपालमुनी रहेका पहिरो पीडितलाई बर्खाअघि नै सुरक्षित घर उपलब्ध गराउने तयारी भएको बताए।

‘संघीय सरकारले पनि पहिरो पीडितको आवास पुननिर्माणका लागि बजेट पठाउँदैछ’, उनले भने, ‘समुदाय स्तरबाट स्रोत जुटाएर जग्गा ब्यवस्थापन भएका ठाउँमा पहिरो पीडितको घर पुननिर्माण सुरु गरिएको हो। बाँकीको पनि छिट्टै सुरु हुन्छ।’

बिघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुननिर्माण गर्न ५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउन कार्यविधि स्विकृत भइसकेको बताए। पहिरोमा घरबास गुमाएकाहरु टहरा, त्रिपाल, सामुदायिक भवन, आफन्त र गाउँका खाली घरमा बसेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *