पत्रकार महासंघ बागलुङले थाल्यो सर्वसम्मत नेतृत्व चयनको पहल

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङले आसन्न निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको पहल थालेको छ ।

महासंघले बुधवार जिल्लामा क्रियाशील पत्रकार सम्वद्ध संघ संगठनका प्रमुख तथा महासंघका पूर्व अध्यक्षहरु सहितको बैठक आव्हान गरेर सर्वसम्मतका लागि छलफल थालेको हो ।

यही चैत्र २५ गते हुने निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दा महासंघ सहज हिसाबले गतिशील हुने भएकाले आपसी सहमतिबाटै नेतृत्व चयनका लागि सबै संगठनले आवश्यक पहल र समन्वय गर्ने निर्णय गरिएको पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा अविरलले जानकारी दिनुभयो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दा पत्रकार महासंघ भवन निर्माण, सदस्यता शुद्धिकरण सुरुवात, पत्रकार क्षमता विकास, श्रमजीवी पत्रकारको हितमा अन्य स्मरणीय उपलब्धी समेत हासिल गर्न सफल भएको उल्लेख गर्दै सर्वसम्मत नेतृत्व चयन अहिलेको समयको माग भएको महासंघ जिल्ला अध्यक्ष दिल शिरीषले भन्नुभयो ‘महासंघमा एकले अर्कालाई निषेध गर्ने अभ्यास सुरुवातदेखि नै रह्यो, ७ वर्ष अघि सम्म पनि चुनाव बहिष्कार गर्ने, नेतृत्व बहिष्कार गर्ने जस्ता तित्ततापूर्ण बिर्सनलायक विगत हामीसँग छ,’ उहाँले भन्नुभयो, ‘त्यसबाट पाठ सिकेर गरिएको सर्वसम्मतको प्रयासले सकरात्मक परिणाम दिएको छ, फेरि पनि सहमतिका साथ नेतृत्व चयन गरौं भनेर सबै संगठनका साथीहरुलाई आग्रह गरेका छौ ।’

बैठकमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रदिप पन्तले विगतको १२ वर्ष सम्मको आलोपालोको सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष उमाकान्त शर्मा, तारानाथ आचार्य, प्रगतिशील पत्रकार संघका अध्यक्ष राम सुवेदी लगायतले विगतको सहमति कार्यान्वयनका लागि तयार रहेको तर उक्त सहमतिमा अमूर्त अस्पष्ट कुरा पनि भएकाले त्यसमा पनि साझा सहमति आवश्यक रहेको धारणा राखे । उनीहरुले अब महासंघको नेतृत्वका लागि प्रेस युनियन आफ्नो उम्मेदवार र सर्वसम्मतको खाका सहित आउनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष रामबहादुर जिसीले महासंघको संस्थागत विकास र श्रमजीवी पत्रकारको हितमा काम गर्ने नेतृत्व सहित भरोसायोग्य बातावरण बनाए मात्रै सहमतिबाट नेतृत्व चयन गर्न सकिने बताउनुभयो । सबै संगठनलाई केन्द्र र प्रदेशबाट पनि दबाब आउने भएकाले त्यसलाई समेत छिचोलेर अघि बढ्न सक्नुपर्ने आवश्यकता बताउनुभयो ।

महासंघले प्रारम्भिक छलफल गरेर सहमतिको बातावरण बनाउन सुरुवात गरेको र अब यसलाई निरन्तरता दिइने अध्यक्ष शिरीषले बताए । ‘अब बिधिवत रुपमा महासंघको नेतृत्वका लागि छलफल सुरु भयो, छलफलमा सबै संघ संगठनलाई अब आपसी वार्ता र संवाद अघि बढाउन आग्रह गरेका छौ,’ अध्यक्ष शिरीषले भन्नुभयो , ‘कसैलाई निषेध गरेर होइन, सबैलाई समावेश गरेर अघि बढौं भनेका छौ, यसमा महासंघका तर्फबाट निरन्तर सहमतिका लागि आवश्यकता अनुसार पहल र समन्वय गर्छौ ।’

महासंघको चार वर्ष अघि भएको निर्वाचनमा प्रेस चौतारीलाई नेतृत्व प्रदान गरिएकाले संघ संगठनका बीचमा प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ समेत गरी १२ वर्ष आलोपालो नेतृत्व गर्ने सहमति गरिएको थियो । तर, उक्त सहमतिमा अन्य पदाधिकारी र बदलिँदो परिवेशमा संगठनहरुमा देखिएका उतार चढावको अवस्थामा के हुने भन्ने अमूर्त छ ।

पत्रकार महासंघको यसपटकदेखि प्रत्यक्ष निर्वाचन प्रणालीमा निर्वाचन हुँदैछ । महासंघका हरेक सदस्यले अब जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि मतदानको अवसर पाउनेछन् । केन्द्रीय समिति चयनका लागि चैत्र १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ भने प्रदेशको १९ गते र जिल्लाको नेतृत्वका लागि चैत्र २२ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *