‘ढाकाको सल मायाको चिनो’

साधना पन्त, बागलुङ
सोमबार घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रमका सहभागिले अतिथिलाई मायाको चिनो भन्दै ढाकाबाट बुनेको सल ओढाए ।

आफ्नै हातले कालो, रातो, सुन्तला, खरानी, गुलाबी र हरियो रंगका ढाका कपडाबाट बुनेका सल कार्यक्रमका सहभागीले प्रमुख अतिथीलाई ओढाएका थिए । पछिल्लो २ महिना देखि घरेलु तथा साना उद्योग कार्यालय बागलुङले कार्यालयमै आयोजना गरेको ढाका बुनाई तालिमका सहभागीले तालिमको समापन कार्यक्रममा पुगेका प्रमुख अतिथी र पत्रकारलाई तालिमकै क्रममा आफैले बुनेका ढाकाका सल ओढाएका थिए ।

पुस २९ गतेबाट सञ्चालन भएको तालिममा बागलुङ जिल्लाका विभिन्न स्थानबाट २३ जना महिला सहभागि भएका थिए । तालिममा सहभागी मध्येकी शान्ती थापाले यहि विचमा आफ्नै व्यवसाय सुरु गरिसकेको बताउनुभयो । घरेलु कार्यालयले महिलालाई आत्मनिर्भर बनाउनको लागि ‘सिप सिकौ रोजगार बनौ’ भन्ने नाराको साथ आयोजना गरेको तालिमका अन्य सहभागिले पनि व्यवसाय गर्ने बताएका थिए ।

तालिमकै क्रममा व्यवसाय सुरु गरेकी शान्ती थापाले तालिमबाट सिपमात्र नभएर आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने प्रेरणा समेत सिकेको बताउनुभयो । उहाँले त्यही प्रेरणा र आत्मविश्वासको कारण तालिम नसकिदै बागलुङ बजारमै व्यवसाय सुरु गरेको बताउनुभयो । आगामी दिनमा व्यवसाय सँगै अन्य दिदी बहिनीलाई पनि सिप सिकाउने सोच बनाएको थापाको भनाई छ । शान्तीले जस्तै तालिमका सहभागी अमृता देवी छन्त्यालले पनि आफ्नै व्यवसाय सुरु गर्नुभएको छ ।

तालिममा सहभागी चित्रकला श्रीषले आफ्नो पहिलेनै ढाकाको व्यवसाय भएको र यो तालिमले ढाका बुनाईलाई व्यवसायीक बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आफ्नो व्यवसायलाई अब थप व्यवस्थीत गरेर अगाडी बढने बताउनु भयो ।

तालिमको समापन कार्याक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले महिलालाई आत्मानिर्भर बनाउनका लागि घरेलुले गरेको कामलाई प्रशंसा गर्दैे सिप सिकेर आत्मनिर्भर हुनको लागि महिलाहरुलाई बाटो खुलेको बताउनु भयो ।

उहाँले तालिमबाट सिकेको सिपबाट महिला दिदीबहिनीहरु व्यवसायीक ढाकाको कपडा बुनेर आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको थियो । नेपालको ढाकाको कपडा अहिले विश्व बजारमा माग भएको भन्दै पौडेलले अब बागलुङका महिला दिदीबहिनीले पनि गुणस्तरिय ढाकाको कपडा बनाउने र ढाकाको कपडाको विविधिकरण गर्नुपर्ने बताउनुभयो ।

पौडेलले महिलाहरुले ढाकाका कपडाहरु उत्पादन गरेमा नगरपालिकाले बजारीकरण गर्न सहयोग गर्ने समेत बताउनु भयो । ढाकाका कपडा बनाउदा बजारमा माग भए अनुसारको डिजाईन बनाउनका लागि सुझाव समेत पौडेलले दिनुभयो ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले तालिममा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका २३ जना महिला महिलाको सहभागीता रहेको बताउनुभएको थियो ।

उहाँले महिलालाई आत्मानिर्भर बनाउनका लागि तालिम संचालन गरेको बताउनुभयो । तालिममा सहभागी २३ जना मध्ये ६ जनालाई ढाका बुन्ने तान हस्तान्तरण गरेको शर्माले बताउनुभयो । जैमिनी नगरपालिका–२ कि हिमा छन्त्याल, काठेखोला गाउँपालिका –२ कि दिला कुमारी थापा, काठेखोला गाउँपालिका–७ कि थकुमाया थापा, काठेखोला गाउँपालिका –४ दिल कुमारी पून, बागलुङ नगरपालिका– १० कि युकला थापा र काठेखोला १ की रुपा थापाले रहेको शर्माको भनाई छ ।

अहिले बजारमा ढाकाको सललाई प्रतिगोटा ९ सय र ढाकाको सारीलाई प्रतिगोटा १० हजार देखि १६ हजार सम्म पर्ने शर्माको भनाई छ । बजारमा ढाकाको कपडाको अत्याधिक माग भएकाले सिप भएका महिला दिदीबहिनीहरुले ढाकाको कपडा व्यवसायीक रुपमा विक्री गर्न समेत शर्माले अनुरोध गर्नुभएको छ ।

कार्याक्रम घरेलु तथा साना उद्योगका प्रमुख गुमादेवीको अध्यक्षतामा भएको कार्यक्रम लेखा अधिकृत यामबहादुर थापाको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *