७० वर्षको ‘धौलागिरीको पत्रकारिता’ ऐतिहासिक पुस्तकको लोकार्पण

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रकाशित गरेको ऐतिहासिक पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को शनिवार लोकार्पण गरिएको छ ।

पुस्तकको नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारी, महासंघको तत्कालीन धौलागिरी शाखाका सचिव तथा मुख्य निर्वाचन अधिकृत हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी शिवराज कार्की र जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरुले सामूहिक रुपमा विमोचन गरे ।

विमोचन कार्यक्रममा पुस्तकको समिक्षा गर्दै धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरीप्रसाद पाण्डेयले धौलागिरीको पत्रकारिताको ७० वर्ष लामो इतिहासको विविध खोज, अध्ययन र अनुसन्धानमूलक सामग्री सहितको पुस्तक संग्रहणीय र पठनीय भएको बताए । ‘सिंगो धौलागिरीको पत्रकारिताको ७ दशकको अनेकन पाटो केलाउने प्रयास सह्रानीय छ,’उनले भने, ‘यो भोलीको पुस्ताका लागि थप खोज, अध्ययन, अनुसन्धानका लागि पनि सन्दर्भ सामग्रीको रुपमा अमूल्य सम्पत्तिका रुपमा रहनेछ ।’

पत्रकार महासंघका केन्द्रीय सदस्य तिवारीले पनि साविक धौलागिरी अञ्चलका चार जिल्लाको पत्रकारितामा केन्द्रित खोजमूलक पुस्तकले २००८ सालदेखि अहिले सम्मको पत्रकारिताकाबारेमा बुझ्न निकै सहज भएको बताए ।

धौलागिरीको पत्रकारिता नामक पुस्तकमा यस क्षेत्रको पत्रकारिताको ७ दशक अवधिको जीवन्त अभिलेखको रुपमा रहने गरी प्रकाशन प्रयास गरिएको नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरीषले बताए । ‘हामीले धौलागिरी क्षेत्र (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)को पत्रकारिताको इतिहास के रहेछ भनेर अध्ययन गर्दा तथ्यपरक दस्ताबेज र गहनतम अध्ययन खोज नगरेको पाइयो, पत्रकारिता क्षेत्रकै आफ्नै इतिहासको अन्यौलता देखिए पछि महासंघका तर्फबाट हामीले पुस्तक प्रकाशन निर्णयमा पुगेका थियौ,’ निवर्तमान शाखा अध्यक्ष शिरीषले भने, ‘यस पुस्तकले अब धौलागिरीको पत्रकारिता २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिका ‘सहीबाटो’देखि अहिलेको डिजिटल पत्रकारिता सम्मका अभ्यास र अनुभव समावेश गरेका छौ, यस क्षेत्रको पत्रकारिताका अनेकन आयामबारे बुझ्न अब धेरै सहज हुने अपेक्षा छ ।’

पुस्तकमा चार खण्ड छ । पहिलो खण्डमा धौलागिरीको पत्रकारिताको इतिहास, पहिलेका पत्रकारिताका अभ्यास, कठीनाई, चूनौतिहरु उल्लेख छ भने दोस्रो खण्डमा धौलागिरीका पत्रकारिताका बिबिध आयामलाई समावेश गरिएको छ । जहाँ धौलागिरीका अग्रज र स्थापित पत्रकारले बिबिध विषयमा तथ्यपरक हिसाबले लेखेका लेखहरु समाविष्ट छ । तेस्रो खण्डमा धौलागिरीका पत्रकारका अनुभव र अभ्यासको पाटो समावेश छ भने चौथो खण्डमा धौलागिरीमा पत्रकार महासंघको सुरुवात, संघर्ष र हालको संस्थागत विकासको अवस्था उल्लेख छ ।

पुस्तकमा दिल शिरीष सम्पादक, राम थापा अविरल सहसम्पादक, नरेश कंडेल र उषा पौडेल प्रवन्ध सम्पादक तथा नवीन शिशिर बिक, सुवास आचार्य, चन्द्रप्रकाश शर्मा, नारायण रिजाल र सिर्जना पन्त सम्पादन सहयोगी र बिजय राना व्यवस्थापकका रुपमा छन् । यस पुस्तकको मूल्य संस्थागत १ हजार रुपैयाँ र व्यक्तिगत ५ सय रुपैयाँ राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *