गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास बिफल, राजमो बागलुङका सांसद थापा निर्णायक

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय जनमोर्चा बागलुङका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस-माओवादीसहित चार दलको प्रयास असफल भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले पीएस गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

यसअघि संसदमा मत बिभाजनको कार्यसूचि रहेको दिन बागलुङकै अर्का राजमो सांसद खिमबिक्रम शाही संसदमा उपस्थित नभए पछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद बैठक स्थगित गरेका थिए ।

माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताए ।

कोइरालाले भने, ‘जनमोर्चाका कृष्ण थापाले हामीलाई समर्थन गर्न मान्नुभएन । उहाँले नमान्ने बित्तिकै बहुमत नपुग्ने भयो । अब २९ दिनका लागि उहाँ नै मुख्यमन्त्री हुनुभयो ।’

गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।

राजमोकी सचेतक पियारी थापाले सोमवार ह्वीप जारी गरे पनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताएका छन् । उनले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताएका छन् । थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पुष्टि गरे । ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।

यदि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *