गण्डकीमा सत्ता रस्साकस्सीः बागलुङका दुई राजमो सांसद ‘तटस्थ’, फेरि मुख्यमन्त्रीमा गुरुङ !

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको छ ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफूहरु कुनै गठबन्धनमा नरहेको भनी विज्ञप्ति निकालेका छन् । सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका छन् ।

यस्तो छ बागलुङका दुई राजमो सांसदले तटस्थ’ भन्दै जारी गरेको पत्र र प्रेस विज्ञप्ती ।

सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए ।

तर राष्ट्रिय जनमोर्चाका सांसदहरु थापा र शाहीले तटस्थ रहने भनेपछि पोखरेलको पक्षमा जम्मा २९ सांसदको मात्र समर्गन रहन्छ, जुन प्रदेशसभामा बहुमत भन्दा कम संख्या हो ।

प्रदेश प्रमुख कार्यालयले पोखरेलको दावीमाथि अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ ।

‘कृष्णचन्द्रलाई मुख्यमन्त्री दाबी गर्दै फाइल दर्ता भएको छ । तर, उहाँको बहुमतबारे अध्ययन भइरहेको छ । प्रदेश प्रमुखले परामर्श लिइरहनुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले भने, ‘बहुमत नदेखिए केहीबेरमै अर्को प्रक्रिया सुरु हुन्छ ।’

संविधानको धारा १६८९२० अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्‍याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयले पोखरेललाई बहुमत सांसदको समर्थन रहेको दावी पेश गर्न आह्वान गर्ने र मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा हालै राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्ति गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

विपक्षी दलले भने एक महिनाभित्र विश्वासको मत लिँदा प्रदेशसभामा बहुमत पुर्‍याउने दावी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *