जसको होडबाजीः सरकारले गर्दै पिसिआर, कांग्रेस नेताको प्रचार !

आदर्श अनलाइन, बुर्तिबाङ

जिल्लाको पश्चिम ढोरपाटनमा स्वास्थ्य संकटमा पनि चरम राजनीति भएको पाइएको छ ।

ढोरपाटन नगरपालिकामा कोरोना चेकजाँचका लागि स्वाब संकलन गरेर पिसिआर चेकजाँच गर्ने क्रममा जस लिने होडबाजी चलेको छ ।

बुर्तिबाङमा स्वाब संकलनका लागि ल्याइएको भिटिएम काँग्रेस नेता जित शेरचनले ल्याएको भन्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचार गरिए पनि तथ्यमा त्यस्तो नभएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले प्रष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय बागलुङले प्राथमिक स्वास्थ्य केन्द्रका लागि पठाएको भिटिएमबाट ४३ जनाको पिसिआर परीक्षण गरि बागलुङ पठाइएको र पिसिआर रिपोर्ट आउन बाँकी रहेको केन्द्रले जनाएको छ । यसका बारेमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले एक वत्तव्य नै प्रकाशित गरि यस्तो कठीन संकटमा स्वास्थ्य संस्थामा राजनैतिक चलखेल र जनतालाई भ्रम फैलाउने गतिविधि मात्र भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

ढोरपाटन नगर कार्यपालिकाले बैशाख ३० गते गरेको निर्णय अनुसार बैशाख ३१ मा लक्षण सहितका बिरामीको कोरोना परीक्षण गर्ने निर्णय गरेको र सोही अनुसार कोरोना परीक्षण गरिएका ४३ जनाको स्वाब धौलागिरी अस्पताल बागलुङमा पठाइएको उहाँको भनाई छ । पिसिआर गरिने भिटिएम समेत स्वास्थ्य कार्यालय मार्फत प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको विज्ञप्तिमा उल्लेख छ । केही मिडिया र फेसबुकमा भ्रम सिर्जना गर्ने खालका नगरपालिकाले चासो नदेखाएपछि ‘काँग्रेस नेता जित शेरचनको सक्रियतामा ४३ जनाको स्वाब परीक्षण’ भन्ने शीर्षकमा भ्रामक समाचार प्रकाशन भएको र राजनैतिक प्रचार वाजी गरिएको प्रति स्वास्थ्य केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तथ्यमा आधारित हुन आग्रह गरिएको छ ।

‘स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० थान भिटिएम पठाएको तर काँग्रेस नेता शेरचनले बिचैमा चलखेल गरि लगेर गलत प्रचार प्रसार गरेको पाइयो,’ डा.मल्लले भन्नुभयो, ‘नेता शेरचनले आफ्नै प्रचार प्रसार गर्न खोज्नु दुर्भाग्य हो, स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा राजनीति गर्ने यसखालको क्रियाकलाप प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

जिल्ला कोभिड फोकल पर्सन घिमिरेले समेत प्राथमिक स्वास्थ्य केन्द्रका डा. मल्ल ढोरपाटनका फोकल पर्सन भएकाले आफूले उक्त भिटिएम उहाँलाई नै पठाएको तर बिचमा यसखालको गतिविधि र चलखेल हुनु स्वभाविक नभएको बताउनुभयो । ‘भिटिएम ढोरपाटनका लागि प्राथमिक स्वास्थ्य केन्द्रका डा. मल्लका नाममा पठाइएको हो, उहाँ लगाएतका स्वास्थ्यकर्मीको सक्रियतामा पिसिआर परीक्षण गरि धौलागिरी अस्पतालमा स्वाब पठाइएको मलाई थाहा छ, तर के कति कारणले राजनीतिकरण गरियो वा मिडियावाजी गरियो त्यो सम्बन्धित पक्षले जान्ने कुरा हो,’ घिमिरेले भन्नुभयो ।

यस्तो छ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको विज्ञप्ती

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *