पर्वतको सेतीवेणी बजार डुबानमा, १० परिवार विस्थापित

आदर्श अनलाइन, पर्वत

अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ ।

पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका(६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले बताउनुभयो । मंगलबार बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थानमा गएका छन् । ‘पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना समेत डुबाएको उहाँले बताउनुभयो ।

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्ण रुपमा क्षति पुगेको छ। पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन् ।

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रासमा बस्न बाध्य छन् ।

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *