गण्डकीमा बागलुङका बुढा सहित माओवादीबाट तीन मन्त्री बन्ने

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् ।
माओवादी सांसद बागलुङका चन्द्र बहादुर बुढा सहित रामजी बराल र दीपक चर्ती सरकारमा जाने निश्चित भएको हो ।

उनीहरूमध्ये बुढाले कृषि मन्त्रालय, अर्थ रामजी बराल र वन तथा वातावरण मन्त्रालय दीपक चर्ती सम्हाल्नु हुनेछ। उनीहरूको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।

जनयुद्धको उद्गम थलो ताराखोलाका बुढा बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट निर्वाचित सांसद हुुनुहुन्छ । उहाँ पार्टीमा पनि निष्ठावान, त्यागी र समर्पित नेताका रुपमा चिनिनु हुन्छ । यसलाई पार्टीले न्याय गरेको रुपमा जिल्लाका पार्टी नेता कार्यकर्ताले लिएका छन् ।

माओवादीका सांसद दीपक कोइरालाका अनुसार बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लागेको हो । माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसक्न्ुभएको छ । उहाँले अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो । कांग्रेस नेतृत्वमा सरकार बनेपनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमति नजुट्दा सरकार बनेको डेढ महिनापछि मात्र मन्त्रीको टुंगो लागेको हो ।

अहिले गण्डकीमा कुमार खड्काले शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक विकास, जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन् । अब कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि गण्डकी सरकारले पूर्णता पाउनेछ ।

कांग्रेसले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ती र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पाउने भएको छ ।

मन्त्रिपरिषद् पूर्णता सँगै मन्त्रालय हेरेफेर पनि हुने भएको छ । कांग्रेसका कुमार खड्काले सम्हालेको शिक्षा विज्ञान तथा प्रविधि र सामजिक विकास मन्त्रालय कांग्रेसले नै पाउनेछ । तर, खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *