मध्यरातमा कालीगण्डकीमा लुट

मध्यरातमा पर्वतको राजाबगरमा कालीगण्डकी दोहन गर्दै गर्दाको ताजा दृश्य ।

आदर्श अनलाइन, बागलुङ

बिहीबार रातको ठीक १२ बजे थियो । कालिगण्डकी किनारमा रहेका राजमार्ग पोखरा बागलुुङ र पोखरा बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालिगण्डकी आफ्नै बेगले बगिरेहको थियो । जताततै सुनसान थियो । नागरिकहरु निद्रामा मस्त थिए ।

यही सयममा बागलुङ र पर्वत जोड्ने विश्वकै अग्लो दाबी गरिएको लामो झोलुङ्गे पुल मुनीको राजाको बगरमा भने दुई वटा जेसिभी मेसिन काली गण्डकी नदी किनारमा जागे । साथमा थिए जेसिभी चालक, सहयोगी, रेखदेखकर्ता । यो उनीहरुको दैनिकी थियो ।

यही आशंकामा सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानको टोली छड्के जाँचका लागि जाग्राम बसेरै उक्त स्थान पुगेको थियो । अभियन्ता आरके अदिप्त गिरी, राम शर्मा सहितका युवा, पत्रकारको टोली कालीगण्डकी माथिको पुलबाट निगरानी गर्दा मध्यरातमा उत्खनन हुने गरेको प्रत्यक्ष फेला पारिएको उनीहरुले बताएका छन् । कालीगण्डकी नदीको अवैध दोहन गर्ने क्रममा दाँया बाया हेरालु र वारी पारी सुराकी समेत परिचालन गरिएको थियो ।

पर्वतको जलजला गाउँपालिकाको राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो । लस्ती बगर, दम्मुवा खोला, कालाखोला बगर, मालढुङ्गाको वारी पारी बगरमा पनि यस्तै शैलीमा नदी दोहन हुने गरेको छ ।

राज्यले ठेक्का लगाएको समयमा दिउँसो अबैध उत्खनन् गर्ने कालीगण्डकी दोहनकर्ता ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालिगण्डकी दोहन गरेर लुट मच्चाइरहेको अभियन्ता आरके अदिप्त गिरीले बताउनुभयो ।

१२ बजे देखि विहान ४ बजे सम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ । भोलीपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धौलागिरीको साविक सदरमुकाममा रहेको बागलुङ बजार देखि कालिका मन्दिर सम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरी भए पनि उनीहरु मौन बस्ने गरेका छन् ।

कालीगण्डकीलाई लुटेर खाने धन्दा बनाएकाहरुका विरुद्धमा कालिगण्डकी बचाउँ अभियानको निरन्तर खबरदारी हुने अभियन्ता गिरी बताउनुहुन्छ । “हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौं, केही स्थानम ासकरात्मक रुपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन राकिन सकिएको छैन, प्रहरीले २४ घण्टै नदि दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले सांकेतिक रुपमा रातको १ बजे लाइट बालेर दोहन स्थलमा विरोध जनाएका छौं” गिरीले भन्नुभयो “यसमा बागलुङ, म्याग्दी सहित अन्य जिल्लाका पत्रकारहरुको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ ।”

आषाढ १ देखि भाद्र १५ सम्म नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने गण्डकी प्रदेशको कानुन भए पनि राज्य सत्तालाई प्रभावमा पारेर मध्यरातमा कालिगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताउनुभयो ।

नेपालकै पुरानो सध्यता मध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एकमात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवज उठ्न थालेको छ । पर्वत प्रहरीले २४ घण्टानै नदी किनारामा प्रहरी खटाइएको दावी गर्दै आएको समेत छ ।

२४ घण्टै नदी दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाइएको र केही मात्रामा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । “म पर्वत आएको एक महिना भयो, दोहन पूर्ण रुपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै गाडी सहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिरेका छौं, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ” बुढाथोकीले भन्नुभयो “हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, रातीमा लाइट आफ गरेर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुन सक्छ, यसरीनै नागरिकस्तरबाट सूचना जानकारी आए कालीगण्डकी दोहन रोक्न सम्भव हुनेछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *