वेलढुङ्गा-पञ्चकोट जोड्न २५ सय मिटरको उचाइमा साइकल लेन

आदर्श अनलाइन,बागलुङ

कुनैदिन गुमनाम अवस्थामा रहेको पर्यटकीय स्थल वेलढुङ्गा एकाएक चर्चामा छ ।

स्थानीयको निरन्तरको पहल, प्रयास, पूर्वाधार निर्माण र प्रचार प्रसारका कारण अहिले भर्जिन गन्तव्यको रुपमा वेलढुङ्गा क्षेत्रमा पर्यटकको चहल पहल बढ्दो छ ।

पर्यटकको थप आकर्षणका लागि जिल्लाको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्न समुन्द्री सतहदेखि झण्डै दुई हजार ५ सय मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिकाको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको वेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्ग संगै साइकले लेन निर्माण शुरु गरिएको हो ।

बागलुङ र म्याग्दीको शिरबाट साइकल मार्फत वेलढुङ्गा हुँदै पञ्चकोट सम्म आवत जावतका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीयको एक लाख जनश्रमदानबाट एक हजार ७ सय मिटर उचाईमा साइकल लेन निर्माण सुरु गरिएको हो । वेलढुङ्गा देखि कान्छो धौलागिरी नजिकै साइकल लेन पुगिसकेको छ । संसारकोट सम्म साइकल लेन निर्माणका लागि अध्ययन समेत भइसकेको छ ।

दुई वर्ष अघि मात्रै बागलुङ नगरपालिका–६ र ७ स्थित पाँच कोटको संगम पञ्चकोट देखि थाप्लेको धुरी, कान्छौ धोलागिरी हुँदै बेलढुङ्गा सम्मको पदमार्ग पहिचान गरिएको थियो । तत्कालीन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्लालले पदमार्ग पहिचानको शुभारम्भ गर्नुभएको थियो । त्यही समयमा पहिचान गरिएको पदमार्गलाई अहिले साइकल लेनको रुपमा विकास गर्न थालिएको हो ।
साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटकहरुलाई साइकल मार्फत यात्रा गर्न सहज हुने वेलढुङ्गा–पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिनुभयो ।

“पदमार्गलाई साइकल समेत चलाउन सक्ने गरी विकास गर्न खोजेका छौं, त्यसैले वेलढुङ्गा–पञ्चकोटलाई साइकल लेनको जोड्ने हाम्रो उदेश्य हो, अहिले गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको २० लाख र एक लाख श्रमदानबाट देउराली देखि वेलढुङ्गा भ्यू पोइन्ट पुग्ने स्लेट ढुङ्गा सहितको ३०० मिटर पदमार्ग र सोही स्थानबाट १७ सय मिटर साइकल लेन निर्माण गरेका छौं” अध्यक्ष घर्तीले भन्नुभयो “साइकल लेन मध्ये १७५ मिटरमा स्लेट ढुङ्गा बिछ्याएर चिटिक्क बनाएका छौं, सबै स्लेट ढुङ्गा ताराखोला गाउँपालिकाबाट ल्याएका हौं ।”

वेलढुङ्गा देखि पञ्चकोट सम्मको झण्डै ९ किलोमिटर मध्ये वेलढुङ्गाबाट केही सरकरात्मक रुपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । वेलढुङ्गा अलि दुर्गममा भएपनी पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माण पछि सदरमुकाम देखि पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटकहरु साइकल र पर्यटक पदमार्ग मार्फत वेलढुङ्गा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर अर्गानिक उत्पादन चखाउने योजना रहेको वेलढुङ्गा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीसले बताउनुभयो ।

वेलढुङ्गालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी प्राथमिकताका साथ काम अघि बढाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापाले बताउनुभयो । यो अािर्थक वर्षमा समेत वेलढुङ्गा क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । “पदमार्ग र साइकल लेन निर्माणलाई पूर्णता दिन समय लाग्ने भए पनि यसको पूर्णताले पञ्चकोट र बेलढुङ्गालाई जोड्ने मात्र नभई साहसिक पर्यटकीय गन्तव्य बनाउने छ” थापाले भन्नुभयो ।

ढुङ्गामाथी वेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमश्रृंखला र सुन्दर पहाडहरु यसको प्रमुख आर्कषण भए पनि २०७२ सालको भुकम्पले हल्लाएका कारण २०७७ भदौमा वेलढुङ्गाको माथिल्लो भाग खसेको थियो । अहिले पूर्ननिर्माणले गति लिएको छ । अहिले वेलढुङ्गालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सुचना बोर्ड समेत राखिएको छ । चारफिट चौडा साइकेल लेन समेत निर्माण गरिएको छ ।

बागलुङ जिल्लाको काठेखोला ३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा अवस्थित वेलढुंगा २ हजार ६ सय १४ मिटर उचाईमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *