सन्तोष गौतम,म्याग्दी
पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ ।
अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी-तातोपानी-घार-शिख-घोडेपानी-पुनहिल खण्ड सडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।
‘कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ”, उनले भने, “नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवर्धनमा जोड दिएका छौँ ।” अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’, खयर-खोपारा, नारच्याङ र महभिर झरना, जलजले-फगाम-मोतिचौर बराह-धवलागिरि आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्धार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन् । संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ-तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण-धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन् ।
सामुदायिक लजको क्षमता विस्तार
प्राकृतिक दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाँडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बढाइएको छ । अन्नपूर्ण-धवलागिरि सामुदायिक पदमार्ग अन्तर्गत पर्ने दुई ठाउँमा २०/२० जना क्षमताको लज थिए ।
पाहुनाको चाप बढेपछि मोहरेडाँडामा गाउँपालिका र पर्यटन मन्त्रालयले रु एक करोड ५० लाख लगानीमा तीनवटा र खोपारामा गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा एक आठकोठे आश्रयस्थल भवन निर्माण भएको छ।
क्षमता विस्तार र सुविधा थपेर सामुदायिक लजको स्तरोन्नति भएपछि मानब बस्तीदेखि टाढा रहेको मोहरेडाँडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हटेको मोहरेडाँडाको सामुदायिक लजका कर्मचारी नगेन्द्र गर्बुजाले बताए ।
मौरिज हर्गोज पदमार्ग सञ्चालन
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पारेका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका-४ नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ ।
मौरिजको नामबाट नामाकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले रु दुई करोडभन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ ।
पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । यसअघि हेलिकोप्टर चार्टर गरेर लैजानु पर्दथ्यो ।
आधारभूत स्तरको पदमार्ग, खोलामा पुल, बस्नका लागि आश्रयस्थल र नक्सा तयार पारिएको नारच्याङ(अन्नपूर्ण आधार शिविर जोड्ने मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए ।
गुराँस पार्क स्थापना
राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले अन्नपूर्ण गाउँपालिका-७ फूलबारीमा गुराँस पार्क ९उद्यान० स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फूलबारी, मोहरेडाँडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुराँसको जङ्गल भएको दाबी गरिएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीको रु १० लाख अनुदान सहयोगमा नेसरानी सामुदायिक वन उपभोक्ता समूहले २० रोपनी पाखो सम्याएर घेराबार गरी नेपालमा पाइनै सबै ३१ प्रजातिका गुराँसको बगैँचा र सूचना केन्द्रका लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण गरी पार्क बनाएका हुन् ।
समूहका अध्यक्ष लालबहादुर गर्बुजाले गुराँसको अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको पार्कबाट पृष्ठभूमिमा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने बताए ।
साइकल र घोडा मार्ग
अन्नपूर्ण-६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल, पोन्नी ‘ट्रेल’ ९घोडा मार्ग० निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले प्रदेश सरकारको रु २० लाख सहयोगमा गत आर्थिक वर्षमा फरक-फरक ठाउँमा डेढ मिटर फराकिलो तीनरतीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण गरेको जानकारी दिए ।
“मार्गको कालीसारमा चरा अवलोकनस्थल र भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ”, उनले भने, “घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्छन् ।” जङ्गलको बीचमा करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको हिमालको छायाँ देखिने तालमा जनैपूर्णिमा पर्वमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
घोडेपानी-पुनहिलमा पूर्वाधार थपियो
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा स्थापित पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको घोडेपानी-पुनहिल क्षेत्रमा निजी क्षेत्र, समुदाय र सरकारी तबरबाट करोडौँका पूर्वाधार निर्माण भएका छन् ।
चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल भएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न २७ करोडको आयोजना सञ्चालन गरेको छ ।
घोडेपानी र त्यहाँदेखि दृश्यावलोकनस्थल पुनहिल जाने पदमार्गमा २३ वटा सोलार बत्ती जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । पानी र हिउँ परेको अवस्थामा सुरक्षितरूपमा बसेर दृश्यावलोकन गर्ने सुविधाका लागि पुनहिल परिसरमा तीनकोठे आश्रयस्थलको पक्की भवन निर्माण भएको छ । घोडेपानीको मगर सङ्ग्रहालयको पक्की भवन निर्माण भएको छ ।
पुनहिल हुँदै मोहरे, घोडेपानीबाट चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानीका व्यवसायीले सहरबजारमा जस्तै पक्की घर र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ।
छ वर्षअघि घोडेपानीका होटलको क्षमता दैनिक ५०० जनाको हाराहारीमा थियो । होटलको क्षमता बढाएर एक हजार जनाभन्दा बढी पुर्याएको होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनले बताइन् ।
नयाँ पदमार्गमा पूर्वाधार
पाउद्धार पर्यटन सहकारी संस्थामार्फत कालीगण्डकी नदी किनारमा रहेको पाउद्धार तातोपानी कुण्डबाट भालखरा, खोपारा, खयरताल, खोपारा, लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण सुरु भएको छ ।
पर्यटनको लाभ समुदायमा पुर्याउन नेपालमै पहिलोपटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरेको छ । गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण भएको वडाध्यक्ष राजेश तिलिजाले बताए ।
रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा १० लाख बजेटबाट जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको छ ।
दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेक बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको हो ।
पदमार्गमा पर्ने धार्मिकस्थल मोतिचौर बराहमा गाउँपालिका र समुदायको रु २० लाख लगानीमा १०८ धारा निर्माण भएको छ । भुरुङ-तातोपानीमा आउने पर्यटकको बसाइ लम्ब्याउन मान्द्रेढुङ्गा हुँदै बराह गुफाबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग निर्माण भएको छ ।
वडाध्यक्ष ओमप्रकाश फगामीले आव २०७७/७८ मा गाउँपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको जानकारी दिए ।
प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको छ । गत आवमा रु १७ लाख ७४ हजार लगानीमा रातोपानी कुण्डको कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाएर ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।
गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले पाउद्धार-तातोपानी कुण्डमा १४ लाख ६८ हजारमा दुईवटा पोखरी, भित्तामा टायल राख्ने र ट्रसले छाएको टहरा निर्माण भएको जानकारी दिए ।
पाउद्धार-तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले थप नयाँ टहरा, सानो पोखरी, विश्रामस्थल, शौचालय र पोखरीको भुइँमा ढुङ्गा बिछ्याएको छ ।
दोवाको सेकार्कु तातोपानी कुण्ड संरक्षण र त्यहाँसम्म पुग्ने सडक तथा पदमार्ग निर्माण भएको छ । गत आवमा गाउँपालिकाको पाँच लाख सहयोगमा भुरुङ-तातोपानी कुण्डमा स्नानस्थल, तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई व्यवस्थित गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित नारच्याङ झरनाको फेदीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।
सङ्ग्रहालय तयार
अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको छ । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको बताए ।
“कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ”, उनले भने, “दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर राख्न थालेका छौँ ।”
सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुईतले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले भवन निर्माण भएको हो । भवन निर्माण र सामग्री खरिदमा हालसम्म करिब रु ६८ लाख खर्च भएको करबाकेली संरक्षण समितिले जनाएको छ ।