पहिरोले अवरुद्ध पोखरा-बागलुङ राजमार्ग खुल्न अझै २ दिन लाग्ने

आदर्श अनलाइन, बागलुङ

बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । “अहिले पाँचवटा स्काभेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला चट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ”, मरासीनिले भने, “मोदीको पाथी चौरबाट कुश्मातर्फ दुई स्काभेटर, कुश्माबाट पाथी चौरसम्म दुई र बीचमा एक स्काभेटर लगाएका छौँ ।”

उनका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिराले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । सवारी साधन ठप्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । पर्वतको दोविल्लामा एक सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *