निसीखोलामा प्राविधिक शिक्षा सञ्चालनमा समस्या

डम्मर बुढा मगर, बागलुङ

बागलुङको पश्चिम निसी स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षातर्फ पशु विज्ञान पढाई सुरु भएको दुई वर्ष पूरा भयो । शैक्षिक सत्र २०७६ सालदेखि कक्षा ८ मा पशु विज्ञान सुरु भएको यस विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाई संचालनमा छ । दुर्गम गाउँमा प्रविधिक शिक्षाको पठनपाठन हुनु सुखद विषय भए पछि सञ्चालनमा कठिनाइ भइरहेको विद्यालयले जनाएको छ ।

गाउँमै प्राविधिक शिक्षाको पढाई हुन थाले पछि निसीखोलाका विद्यार्थीलाई ठूलो राहत मिलेको छ । हजारौ,लाखौँ खर्च गरेर ठूला सहरमा पुगेर पढ्नु पर्ने बाध्यता हटेको छ । भौतिक संरचना, दक्ष जनशक्तिको अभावमा प्राविधिक शिक्षाको पठनपाठनमा समस्या परेको विद्यालयका प्रधानाध्यापक अमृता बुढा मगरले बताउनुभयो ।

यहाँ अध्ययन गर्ने अधिकांश विद्यार्थी निसीखोलाकै छन् । त्यसमा पनि वडा नम्बर ५ र ६ का दलित र जनजाति समुदायका छन् । आफ्नै भाषा, संस्कृति र रहनसहन भएका विद्यार्थीहरुको बाहुल्यता भएको विद्यालयमा प्राबिधिक शिक्षा पठनपाठन गराउने शिक्षकहरु भने अन्य जिल्ला तथा स्थानबाट ल्याउनु पर्ने बाध्यता छ । बाहिरबाट आएकाहरु राम्रो अवसर पाउँदा साथ हिँड्ने गरेका छन् । जसले गर्दा प्राविधिक कक्षाको निरन्तरता र गुणस्तरमा कठिनाइ भइरहेको प्रधानाध्यापक बुढाको भनाई छ ।

विद्यालयले २०७६ सालमा प्राविधिक शिक्षा संचालनका लागि माग गरेकोमा २०७६ मै अनुमती पाएर पठनपाठन थालेको थियो । सुरुमा विभिन्न जिल्लाबाट शिक्षकहरु ल्याएर संचालन गरे पनि पछिल्लो समय शिक्षकहरु टिकाउनै सबै भन्दा ठुलो चुनौती भएको उहाँले बताउनुभयो । विद्यालयमा शिक्षक दरबन्दी, आर्थिक तथा प्रयाप्त भौतिक पूर्वाधार अभावको समस्या अहिले झेलिरहेको बताउनुहुन्छ ।
‘विद्यालयमा आवश्यक दरबन्दी पनि छैन, आवश्यक भौतिक संरचना पनि छैन, जसले गर्दा पठनपाठमा समस्या आउने गरेको छ,’ प्रविधिक शिक्षा पढाउने शिक्षकहरु स्थानीय हुनुहुन्न, उहाँहरुलाई बाहिरबाट खोजेर ल्याउनु पर्छ,’ प्रअ बुढा मगरले भन्नुभयो ‘उहाँहरु २/४ महिना पछि गइहाल्नु हुन्छ, टिकाएर राख्नै सकिन्न अनि पठन पाठन प्रभावित हुन्छ ।’

स्थानीय सरकार र सरोकारवालाले गाउँको प्राविधिक विषयको पढाइको निरन्तरता र सहजताका लागि शिक्षक दरबन्दी र भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने प्रअ बुढा बताउनुहुन्छ । तत्कालका लागि बाहिरबाट आउने शिक्षकलाई पर्याप्त सेवा सुविधा दिन सक्ने बातावरण बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

‘निसी भन्दा बित्तिकै दुर्गम भन्ने हुँदो रैछ, सरहरु आउँदा बित्तिकै सेवा सुविधा राम्रो खोज्नु हुन्छ, हाम्रो ठाउँ यस्तै छ, उहाँहरुलाई टिकाएर राख्न निकै मुस्किल छ,’बुढा मगरले भन्नुभयो ‘विज्ञापन गर्दा पनि कोही आउनुहुन्न, कोहीले सेवा सुविधा कस्तो छ, संचार, विद्युतको सुविधा कस्तो छ भनेर सोध्नुहुन्छ, प्राविधिक धार तर्फका शिक्षकहरुलाई व्यवस्थापन गर्न निकै समस्या छ ।’
सरकारले पशु विज्ञानका लागि मावि तह र निमावि तहमा २/२ वटा दरबन्दी दिएको छ । अहिले प्राबिधिक धार तर्फ ४२ जना विद्यार्थी अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *