गण्डकी प्रदेश सरकारका सय दिनः नागरिकलाई खोपदेखि खाद्यान्न ढुवानीसम्म

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा नयाँ सरकार बनेको १०० दिन पुरा भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारले एक सय दिन कार्यकाल पूरा गरेको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। जसमा कोरोना विरुद्धको खोप, प्रदेश समन्वय परिषद् पुनर्गठन, मन्त्रिपरिषद् सदस्यहरुको आचारसंहिता, बाढी पहिरो पीडितलाई राहतलगायतलाई समेटिएको छ।

आर्थिक वर्ष २०७८र७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरी स्वीकृत गरिएको विषय प्रदेश सरकारले आफ्ना उपलब्धिमा समेटेको छ। नीति तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७८ स्वीकृत गरिएको र संघीयताको मर्म बमोजिम मौद्रिक नीतिमा प्रदेशका आवश्यकता सम्भावना र प्राथमिकता समावेश गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ सरोकारवालासँग छलफल गरी नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव पठाइएको समेत उपलब्धिमा उल्लेख छ।

सरकारले राजनीतिक नियुक्तिदेखि इजरायलका राजदुतसँग भएको भेटघाट तथा छलफल र गठबन्धन सरकारको मन्त्रिपरिषद् विस्तारलाई समेत निकायगत उपलब्धिमा राखेको छ। प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष सहित तीन जना सदस्य नियुक्ति, प्रदेशको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला र प्रदेश लोकसेवा आयोगको सदस्यमा योगेन्द्र गौचन, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल र प्रेस संयोजकमा भरत कोइरालालाई नियुक्त गरिएको विषयलाई समेत उपलब्धिमा राखेको हो।

बाढीपहिरोको कारण अवरुद्ध प्रदेशभरका सडक सञ्चालन गर्न प्राविधिक कार्यालय परिचालन, बाढीका कारण खाद्यान्न ढुवानी नहुँदा अभाव पूर्ति गर्न हेलिकप्टरबाट ढुवानी लगायतलाई पनि उपलब्धिमा समावेश गरेको छ। बाढी तथा पहिरो पीडितका लागि तत्काल राहत उपलब्ध गराउन आवश्यक सामग्रीसहित मुख्यमन्त्रीको नेतृत्वमा गएको टोलीद्वारा मनाङ र गोरखा जिल्लाका विभिन्न स्थानका क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरिएको र मनाङलगायत बाढीपहिरोबाट अति प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा आवश्य प्रक्रिया समेत तत्काल अगाडि बढाइएको एक सय दिनको उपलब्धिमा प्रस्तुत गरेको हो।

समृद्ध प्रदेश निर्माण गर्न मुख्यमन्त्री प्रतिबद्ध

प्रदेशमा हालसम्म कोरोनाविरुद्धको पहिलो मात्रा खोप ६ लाख १० हजार ४ सय ३० जनालाई र दोश्रो मात्रा खोप ४ लाख ५३ हजार ८ सय ९७ जनालाई लगाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिएका छन्। मनाङ र मुस्ताङ जिल्लालाई साउन १९ गते नेपालमै पहिलो पटक कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको उनले जानकारी दिए।

समृद्ध प्रदेश निर्माणको लक्ष्य हासिल गर्नका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *