धवलागिरि हिमालमा नेपाली महिलाको पहिलो सफल आरोहण

तस्बिरः हिमाल आरोही पूर्णिमा श्रेष्ठको फेसबुकबाट

आदर्श अनलाइन, म्याग्दी

संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन्।

धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो।

काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा जानुभएको थियो ।
सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज विहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको बताउनुभयो।

‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्। धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन,’ उनले भने।

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरेरनगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताउनुभयो।

पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ ।

शेर्पा ९पथप्रर्दशक० पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो। पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुनुहुन्छ।

उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताउनुभएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *