घान्द्रुक दुर्घटना:मृतकको सनाखत,मृत्यु हुनेमा घुम्न आएका विद्यार्थी

आदर्श अनलाइन, पोखरा

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सोमबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ ।

अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा रहेको प्रहरीले जनाएको छ । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका( ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जीप चालक दुर्घटनामा परेका हुन् ।

नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका( ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । ‘गोंगबुबाट मिलेर घुम्न निस्केको र दिउँसो नयाँ पुलबाट घान्द्रुक जाँदै गर्दा जीप दुर्घटना भएर चालकसहित ८ को मृत्यु भएको खुलेको छ,’ विकले भन्नुभयो, ‘उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लागिएको छ ।’

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो । सडकको माथिल्लो घुम्तीबाट २ सय मिटर तल सोही सडकमा जीप आइपुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *