ढोरपाटन बाढी प्रभावित बस्तीमा छैन दसैँको रौनक

फाइल तस्बिर

डम्मर बुढा मगर, बागलुङ

नेपालीहरुको महान पर्व बडादसैको चौतर्फी रौनकता छाएको छ ।

सहर बजारबाट मात्र होइन, घर परिवारको जीविकाका लागि देश नै छोडेर परदेशिएकाहरु समेत गाउँ घर फिरेका छन् । हुने खानेदेखि हुँदा खाने सम्म सबैले आ आफ्नो क्षमता,हैसियत अनुसार दसैं मनाउने तयारीमा छन् ।

तर, ढोरपाटनका बाढी पीडितहरुमा भने अहिले पनि चाडपर्वको रौनक छैन । उनीहरुलाई पीडा र ऋणको भारीले च्यापेको छ । गत वर्ष भदौँ १७ गते ढोरपाटनको भूजीखोलामा आएको बाढीले सयौँलाई घरबार विहीन बनायो । कैयनले परिवारका सदस्य र आफन्त गुमाए । तीन दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटनाका कारण अझै पनि भूजीखोलावासीको आँखा ओभाएका छैनन् ।
बाढीले घर सम्पत्ति बगाए पछि अहिले यहाँका सयौँ नागरिक घर टहरोकै व्यवस्थापन र विहान बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् । उनीहरुको वर्ष दिन पुगे पछि अहिले बल्ल घर ठडिएको छ । घर त ठडियो तर ऋणले उनीहरुलाई ठडिएको घरमा निद्रा लागिरहेको छैन ।
बाढीका कारण आफन्त र सम्पति गुमाएका मध्येका एक हुनुहुन्छ कुलबहादुर विक । बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र ४ वर्षकी नातिनी गरि चार जना सदस्य बगाएको थियो । आफन्त र भए भरको सम्पति गुमाएपछि विक्षिप्त बन्नुभएका कुलबहदुरका आँखा चाडपर्वमा गुमाएका परिवारका सदस्य सम्झिएर भिज्ने गर्छन् । यसबेला घर आँगनमा आएको चाडपर्वले बिर्सिन थालेको दर्दनाक पीडा बल्झाउने उहाँको भनाई छ । ‘चाडपर्व आयो, मर्ने मरेर गैसके, बाँचेकाले खान लाउन खोज्दा रहेछन्, उनीहरुलाई मिठो खान राम्रो लाउन दिने अवस्था पनि छैन,’ विकले भक्कानिँदै भन्नुभयो ‘भए भरको सम्पति सबै बगर बनेको छ, काम गरेर ल्याएको केही पैसाले घर बनाएको ऋण तिर्नु प¥यो, विहान बेलुकीको छाक टार्नु प¥यो, मिठो मसिनोको कुरा त टाढैको हो, यहाँ दैनिक छाक टार्न गाह्रो छ ।’

विकले घर बनाउँदा लागेको ऋण तिर्न हम्मेहम्मे भएको भन्दै सरकारले चाडबाडको समयमा थोरै भए पनि राहतको व्यवस्था गरिदिएको भए बालबच्चासँग चाडबाड मनाउन सकिने बताउनुभयो । नगरपालिकाबाट घर बनाउन २ लाख रुपैयाँ सहयोग मिलेको उहाँको भनाई छ । सरकार र दाताको अनुदानमा आफूले थप चार लाख खर्च गरेर ६ लाखमा घर निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।
‘दसै तिहार आयो, घरमा छाक टार्न धौ–धौ छ, केटाकेटीले नयाँ लुगा किन्दिन भन्छन्, मिठो मसिनो खान खोज्छन्, घरमा एक सुको पैसो छैन, के गरेर दसैँ तिहार मनाउने ? सरकाले २/४ हजार यो बेला सहयोग गरे त ठूलै राहत हुन्थ्यो,’ विकले भन्नुभयो ‘घर बनाउँदै ३/४ लाख ऋण लागेको छ, के गरेर तिर्ने हो ?, नगरपालिकाले २ लाख त दिएको थियो तर त्यतिले के घर बनाउन पुगोस् ?’
बाढीमा जीवन संगीनीसहित सबै सन्तान गुमाएका ढोरपाटन नगरपालिका वडा नम्बर ९ का निमप्रकाश विकले पनि कुलबहादुरको जस्तै पीडा सुनाउनुभयो । दिनमा ज्याला मजदुरी गरे विहान बेलुकीको छाक टार्ने गरेको उहाँले बताउनुभयो ।

बाढीले २५ वर्षीया श्रीमति चनी विक, ९ वर्षीय जेठो छोरो, २ वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरासहित भए भरको जायजेथा सबै बगाएको थियो । ‘केही छैन, घर सम्पत्ति भएको ठाउँ अहिले बगर बनेको छ, के मा गरिखाने, मागेर खाउँ भने पनि सबै आफै जस्तै पीडामा छन्’ निमप्रकाशले भन्नुभयो, ‘पहिला ४÷५ जनाको परिवार पाल्न सजिलै सकेको थिएँ, अहिले एक्लो ज्यान पाल्न पनि साह्रै मुस्किल परेको छ, चाडबाड आएको होकी नआएको मलाई त केही पत्तो छैन, मन पीरै पीरले भरिएको छ, के को दसैँ के को तिहार ?’

ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ मा आएको बाढीले १ सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो । क्षति पुगेका अधिकांश भौतिक संरचना भने मर्मत भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाले चाडबाड लक्षित गरी बाढी पीडितलाई कुनै पनि सहयोग नगरेको ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमति पुनले बताउनुभयो । उनीहरुको लागि घर बनाउन नगरपालिकाबाट सहयोग गरिएको र क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न आफूहरुले जोड दिएको उहाँ बताउनुहुन्छ । ‘चाडबाड लक्षित गरी हामीले कुनै सहयोग गर्ने कार्यक्रम गरेका छैनौँ, घर निर्माणका लागि सहयोग भएको छ, अन्य सहयोग भने अहिले भएको छैन,’ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *