कोप सम्मेलनमा उठ्यो मुस्ताङको जलवायु परिवर्तनको मुद्दा

कोप- २६ का अध्यक्ष आलोक शर्मा सम्बोधन गर्दै।

आदर्श अनलाइन,काठमाण्डौं

संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (युएनएफसीसीआई) कोपको-२६ औं संस्करणका अध्यक्ष आलोक शर्माले नेपालका मुद्धा उठाउनु भएको छ ।

सम्मेलनको औपचारिक रुपमा कोप उद्घाटन गर्दै उहाँले संसारभरका प्रतिनिधिमाझ जोमसोमको घटना सुनाएर सबैको ध्यान नेपालतिर तान्नुभएको हो। जोमसोममा जलवायु परिवर्तनले पारेको प्रभाव आफैले देखेको उहाँले बताउनुभयो। सो विषय कोपका अध्यक्षले उठाइदिए पछि नेपाललाई थप सहयोग पुगेको विज्ञहरुले बताएका छन् ।

कोप सम्मेलनमा सहभागी हुन ग्लास्गो पुगेका जलवायु विश्लेषक मन्जित ढकालका अनुसार शर्माको कोप २६ को औपचारिकरुपमा अध्यक्षता ग्रहण गरेपछिको यो पहिलो भाषण हो । अघिल्लो कोपको अध्यक्षता चिलीले गरेको थियो । महत्वपूर्ण फोरममा पहिलो भाषणमै नेपालको कुरा उठाउनु नेपालका लागि महत्वपूर्ण कुरा हो।

सम्बोधनका क्रममा उहाँले आफूले विश्व भ्रमण गरेको प्रसंग पनि सुनाउनुभएको थियो । त्यसै क्रममा उहाँले मुस्ताङका स्थानीयले जलवायुको जोखिम भोगिरहेको अवस्थाबारे बुझ्ने मौका पाउनुभएको थियो। ढकालले भन्नुभयो, ‘नेपालले उठाउनुपर्ने विषय उनी आफैले उठाइदिए। यसले प्रधानमन्त्रीको सम्बोधनका लागि पनि राम्रो वातावरण तय गरिदियो ।’

नेपालको विषय उठान गर्नु महत्वपूर्ण भएपनि त्यसलाई नेपालले कसरी पछयाउँछ भन्ने विषय अर्थपूर्ण रहेको ढकालले बताउनुभयो । आगामी दिनमा छलफल गर्न सजिलो बनाइदिए पनि नेपालको टिमले कतिको पछ्याउन सक्छ । त्यसले ठूलो महत्व राख्ने उहाँले बताउनुभयो ।

प्रधामन्त्री देउवालगायत विभिन्न देशका राष्ट्र प्रमुखहरुले सोमबार र मंगलबार सम्बोधन गर्नुभएको छ । जसलाई ‘लिडर समीट’ भनिएको छ। त्यसबाहेक द्धिपक्षीय तथा अन्य खालका साइड बैठकहरु चलिरहेका छन् । नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिवद्धता प्रस्तुत गरिसकेको छ। त्यसैगरी संसारका सयभन्दा धेरै मुलुकले बन विनास रोक्ने र बनलाई पुरानो अवस्थामा फर्काउने, सन् २०३० सम्ममा विश्वभरी ४६ प्रतिशत मिथेन ग्यास न्युनिकरण गर्ने र ७० प्रतिशत अर्थतन्त्र बढाउनेलगायतका निर्णय भइसकेका छन् ।

कोप सम्मेलनमा ग्लास्गो पुगेका अर्का जलवायुविज्ञ विमल रेग्मीका अनुसार अध्यक्ष शर्माले नेपाल आएको बेला जोमसोमका स्थानीयसँग जलवायु परिवर्तनले निम्त्याएको जोखिमको बारेमा छलफल गरेका थिए ।

उहाँ जलवायुजन्य प्रभाव अध्ययनका क्रममा गत फेब्रुवरीमा नेपाल आउनुभएको थियो । शर्मासँग स्थानीयले पानीको संकट अत्यधिक भोगेको, पहिलाको तुलनामा छोटो समयमा ठूलो र अत्यधिक पानी पर्न थालेको, आकस्मिक बाढी ९फ्लास फ्लड० भोग्नु परेको, सुख्खा खडेरी बढेको अनुभव सुनाउनुभएको थियो ।

त्यसैगरी पानी अभावमा गाउँ नै बसाइ सर्नुपरेको गुनासो उनीहरुले गरेका थिए । रेग्मीका अनुसार शर्माले जलवायुबाट मान्छेहरु कसरी प्रभावित भइरहेका छन् भन्ने विषयमा नेपाललाई ‘हाइलाइट‘ गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘गरिब देशका गरिब जनतालाई जलवायुले धेरै प्रभाव गरेको छ । नेपाल जोखियुक्त छ भनेर अरुको ध्यान केन्द्रित गरे ।’

शर्माले नेपालको विषय उठाएपछि अन्य मुलुकका प्रतिनिधिहरुले चासोका साथ लिएको अनुभव रेग्मीले बताउनुभयो। भ्रमणको समयमा शर्माले नेपालका आवाज सम्बन्धित ठाउँमा उठाउने बचन दिनुभएको थियो।

हिमाली क्षेत्रमा अत्यन्त जोखिम देखेको र हिमालहरु पग्लदै जाँदा हिन्दुकुश हिमालयन क्षेत्रका स्थानीयका लागि चुनौती थपिएको उहाँले बताउनुभयो । विशेषगरी महिलाहरु जलवायुको जोखिममा परेको र नेपालका महिला अझै धेरै असमानुपातिक ढंगले विभिन्न प्रकारका जोखिममा रहेको शर्माले बताउनुभयो । उहाँले यहाँका महिलाका आवाज उठाउने र सहयोग गर्ने बचन दिनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *