ताराखोलाःजहाँ भुस पोल्ने पर्व तीन दिन मनाइन्छ

आदर्श अनलाइन,बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकाको मुख्य पर्वको रुपमा प्रचलित छ भूस पोल्ने पर्व । अर्गली मगर समुदाय ढुंगे युगबाट सामूहिक कृषि खेतीमा प्रवेश गरेको दिनको सम्झनामा मनाइने पर्वलाई यहाँका स्थानीयले हरेक वर्षको कात्तिक अन्तिम साता भूस पोल्ने पर्वको रुपमा मनाउदै आएका छन् ।
१५ औं शताब्दी पछि पाल्पाको अर्गलीबाट बिस्थापित भएर अर्गली मगर समुदाय यहाँको ताराखोलाको अर्गलमा आएर बसाई सरेको इतिहास छ । यहाँ आएपछि सामूहिक रुपमा खेती गर्न शुरु भएको दिनलाई भूस पोल्ने पर्वको रुपमा मनाइदै आएको छ । कात्तिकको २६ गतेलाई बीउँ छर्ने (छापो हाल्ने) दिनको रुपमा मगर समुदायले भव्य रुपमा मनाउँदै आएका छन् ।
दुई वर्ष कोरोनाका कारण परम्पराको निरन्तरताका रुपमा मनाइएकोमा यसवर्ष धूमधाम संग भूस पोल्ने पर्व मनाइएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । तीन दिन सम्म मनाइने भूस पोल्ने पर्व पहिलो दिन भूस पोल्ने, दोस्रो दिन खनजोत गर्ने र तस्रो दिन बीउँ छर्ने काम हुन्छ ।
बीउ छर्ने काम अर्थात् छापो हाल्ने काम प्रत्येक वर्षको कात्तिक २६ गते मनाइने गरेको छ । “ताराखोलामा भूस पोल्ने पर्व, सिस्नो खोस्ने पर्व र असारे मेला भव्य रुपमा मनाइन्छ तर ऐतिहासिक रुपमा हाम्रो मुख्य पर्व भनेको भूस पोल्ने पर्व हो” गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो “चार वर्ष देखि गाउँपालिकाले भूस पोल्ने पर्वको रुपमा कात्तिक २६ गते गाउँपालिकाभर सार्वजनिक बिदा समेत दिँदै आएको छ ।”
पर्वको मूल समारोह शुक्रबार कात्तिक २६ गते गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा छापो हाल्ने कार्य गरिएको थियो । मन्त्री बरालले ताराखोला पर्वहरुको उद्गम स्थल रहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री बरालको उद्घाटन संगै अर्गलको संखुगरोमा अविवाहित युवायुवतीले छापो हालेर जौ छरेर पर्व मनाएका थिए । अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाइसा थरका घर्ती मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा रहेको भूस पोल्ने पर्व मनाउदै आएको स्थानीय बताउँछन् । अधिकांश मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भूस पोल्ने मेलाको छुट्टै विशेषता छ । पर्वका अवसरमा आफ्ना समुदायका मानिसहरुको मृत्यु र जन्म संस्कारसंग सम्वन्धित गोपिचन गीत गाउने र नाँच्ने समेत गर्दछन् । पर्वको मुख्य दिन कात्तिक २६ गते मगर समुदाय भित्र एक वर्ष भरी मृत्यु भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने चलन भए पनि यस्तो चलन भने बिस्तारै हराउदै गएको स्थानीय सूर्य बहादुर घर्ती मगरले बताउनुभयो ।
“भूस पोल्ने पर्व पछि बल्ल यहाँका स्थानीयले यो वर्षको खेती लगाउने चलन छ, पहिला मृत्यु संस्कार पुरा गर्न नसक्ने अवस्थामा पर्वकै दिन बरखी फाल्ने चलन थियो, अहिले मृत्यु संस्कार सोही समयमै गर्ने गरेका छन्” घर्ती मगरले भन्नुभयो “भूस पोल्ने पर्व भनेको कृषि युगको शुरु भएको खुशियालीमा मनाइने पर्व हो, जसका लागि अविवाहित युवायुवतीले बारी खनजोत गरेर बीउ छर्ने चलन रही आएको छ ।”
सोही दिन पुर्खाहरुले सामूहिक खेती शुरु गरेको सम्झनामा शंखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेती सुरु गरिन्छ । दिउँसो ४ बजेको समयमा शंखुघरमा पूजा गरि शंखुबारीमा छापे खन्ने र गहुँ, जौ छर्ने गरिन्छ । अविवाहित युवा युवतिले बारी नसकुन्जेल सम्म नरोकी खन्ने गर्दछन भने विवाहितहरुले बिऊ छर्ने गर्दछन । पन्द्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलको प्रमुख उत्सव रुपमा मनाइदै आइएको छ ।
शंखुबारीको बीचमा रहेको ढुङ्गालाई माटोले पुजेर बीउँ छर्ने प्रचलन रहेको र यसलाई अहिलेको पुस्ताले समेत जोगाइराखेको स्थानीय संगम घर्ती मगरले जानकारी दिनुभयो । उक्त पर्व १५ औं शताब्दी देखि अनवरत रुपमा निरन्तरता पाउदै आएको छ । यस पर्वलाई ताराखोला गाउँपालिकाले समेत महत्वपूर्ण पर्व भएको भन्दै सर्वाजनिक बिदा समेत दिने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *