–खेमराज गौतम
निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोवाइलमा पोखराको सिम रहेको नम्बरबाट फोन गयो । सुनिल खत्रीले हेलो भन्न नपाउदै ‘सुनिल जि, काठेखोला स्थित बिहुँ देखि तंग्राम हुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ ?’
खत्रीको जवाफ आयो–‘को बोल्नुभयो हजुर ?’ मन्त्रीको जवाफ थियो–‘म रामजी प्रसाद बराल बोलेको हो, तपाइले ठडाउनुभएको पुलको पिल्लर माथि उभिएर तपाईलाई फोन गरेको छु, भन्नुहोस् ठ्याक्कै कहिले काममा आउनुहुन्छ, मलाई परिणाम चाहिन्छ, काममा ढिलासुस्ती भयो ।’
एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि खत्रीले मंसिरबाट काममा आउने प्रतिवद्धता व्यक्त गरेर फोन राख्नुभयो । निर्माण व्यवसायी खत्रीलाई गत जेठ देखि ठप्प रहेको काठेखोलाको लामाबगरबाट फोन हान्ने पात्र गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल हुनुहुन्थ्यो ।
लामाबगर स्थित डुडियाखोला मोटरेबल पुलको २०७६ फागुन ६ गते गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको थियो । १८ महिनामा सक्नु पर्ने पुल जम्मा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको गुनासो पछि मन्त्री बराल आयोजना स्थलमै पुगेर ठेकेदारलाई ताकेता गर्नुभएको हो । “आफै फिल्डमा पुगेर ताकेता गर्दा सकरात्मक प्रभाव पर्ला भन्ने छ, कार्यालय प्रमुखलाई त ठेकेदारले लल..मात्रै भन्छन्” मन्त्री बरालले भन्नुभयो “ठेकेदारले काम नगर्ने परिपाटीलाई अन्त्य गर्न आवश्यक छ, म गण्डकी प्रदेशभरका जिल्ला जिल्लामा स्थलगत निरीक्षण पछि निर्माणलाई गति दिने गरि अगाडि बढ्छु ।”
८ मिटर चौडाई र ३० मिटर लम्बाइरहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गते भित्र निर्माण सम्पन्न गर्ने गरि २०७६ साल साउन २५ गते एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनी ललितपुरले निर्माणको जिम्मा लिएको थियो । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल रु. तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गर्ने जिम्मा लिएको थियो ।
शिलान्यसको समयमा सम्झौता मिति भन्दा अगावै पुल निर्माण सक्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीले विभिन्न बाहना देखाउदै निर्माणमा ढिलाई गरेको छ । मन्त्री बरालले बागलुङ बसाईका क्रममा दुई मोटरेबल पुल र दूई सडकको स्थलगत अनुगमनका लागि पूर्वाधार कार्यालय बागलुङको प्राविधिक सहित आयोजना स्थलमै पुग्नुभएको थियो ।
पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीका अनुसार लामाबगर पुल निर्माणका लागि २०७८ चैत्र सम्म ठेक्का म्याद थपेर निर्माण व्यवसायीलाई काममा फर्कन आग्रह गरेको बत(ाउनुभयो । सुवेदीका अनुसार पुलका दुई पिल्लर ठडाएको र अब पुल ढलानका लागि आवश्यक कच्चा समाग्रीको समेत जोहो भइसकेको बताउनुभयो ।
मन्त्री बरालले काठेखोलाको पुल सहित बागलुङको गलकोट नगरपालिका स्थित नरेठाँटी खोलामा निर्माणधीन मोटरेबल पुल, हरिचौर ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने एक निर्वाचन क्षेत्र एक सडक र रिजालचोक देखि ताराखोला जोड्ने शहिद मार्गको स्थलगत निरीक्षण गर्नुभएको थियो ।