साधना पन्त, पोखरा
सबल, सक्षम र सफल बन्न निरन्तरता, लगनशिलता र सिर्जनशिलता अपरिहार्य हुन्छ । सफलता प्राप्त गर्नका लागि सबैले संघर्ष गर्ने पर्छ । समाजले भन्ने गरे जस्तै दायित्व, जिम्मेवारी र कर्तव्यपालनको कसीमा आफुलाई अब्बल सावित गर्न हर कोहीले चुनौतिका पहाड चढ्नै पर्ने हुन्छ । तीनै पहाड चढेर आफुलाई अब्बल, सफल, सक्षम, सामाजिक र सहकारी अभियन्ताको मार्गमा हिडाईरहेका व्यक्ति मध्येका एक हुनुहुन्छ पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था पोखराका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ ।
२०३० सालमा तनहुँ जिल्लाको फिरफिरेमा जन्मेका गुरुङले संघर्षको पहिलो सिंढी बाल्यकाल हुँदै किशोरावस्थामा पुग्दानपुग्दै चढेको बताउनु हुन्छ । घर परिवारमा मात्रै होइन समाजमा पनि निकै कम संख्यामा पढे लेखेका मानिस भएको जगबाट उभिएका उहाँले रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौबाट स्नातक मात्रै होइन, पृथ्वीनारायण क्याम्पस पोखराबाट मानविकी र मनिपाल युनिभर्सिटी भारतबाट व्यवस्थापन संकायमा स्नात्तकोत्तर गर्नुभएको छ । माविमा पढ्दै गर्दा क्याम्पस कस्तो हुन्छ होला, क्याम्पस पढ्न पाएहुन्थ्यो भन्ने सोच्ने गरेका गुरुङले एस एल सी उत्तिर्ण भएपछि मुस्किलले क्याम्पस भर्ना भएपछि मात्रै आफ्नो शैक्षिक यात्रा सुरु भएको बताउनुहुन्छ ।
मालिक बन्ने हुटहुटी…
जागिरे जीवनको सुरुवातमा ५ वर्ष तारे होटल (क्यासिनो) मा काम गरेका गुरुङ्गले त्यति बेला नै राम्रो आम्दानी गर्नुहुन्थ्यो । त्यो समयमा मासिक ८÷१० हजार तलब, यो सामान्य कुरा थिएन तर स्वाभिमानी र मालिक बन्ने हुटहुटीले आवश्यकता भन्दा रहर ठुलो देखेको उहाँको अनुभव छ । २०५५ सालमा साथिभाई मिलेर रोयल सहकारी स्थापना गरेपछि उहाँले जागिर छोडेर सहकारी अभियानमा लाग्नुभयो । विदेशीले व्यवस्थापन गरेको क्यासिनोमा समुह र सहकार्य बञ्चित जस्तै थियो । उहाँहरु युनियन बनाउँन चाहनुहुन्थ्यो तर व्यवस्थापनले अनुमती दिएन । तैपनि उहाँहरुले क्वालिटि सर्कल नाम गरेको समुह बनाउँनु भयो । पछि त्यही समुहको छलफल र निश्कर्षले सहकारी स्थापना गरि आफु उपाध्यक्ष भएको उहाँको अनुभव छ । देशको बदलिदो परिस्थिति, क्यासिनो व्यवस्थापनको दबाव र युवाहरुमा सहकार्य गर्ने जोश जाँगर नै सहकारी क्षेत्रमा प्रवेश गर्ने माध्यम बनेको उहाँ बताउनुहुन्छ ।
सहकारीमा लाग्न महिलाको साथ…
उहाँको परिवारमा अहिले बाबा, श्रीमती र दुइवटी छोरी हुनुहुन्छ । जीवनको यात्रा सहज हुनुमा परिवारको ठुलो साथ र सहयोग रहेको उहाँको भनाई छ । ४ दिदी र १ जना बहिनीका एक मात्र दाजुभाई गुरुङलाई एसएलसी पछि सेनामा भर्ति हुनु पर्ने परिवारको दबाब थियो । ‘भर्खर बहुदल आएको थियो, गाउँघरमा पढनु पर्छ, पढाउनु पर्छ भन्ने भाषण सुनिन्थ्यो, त्यही भाषण सुनेरै भर्ति हुनुभन्दा पढनुपर्छ भन्ने सोच पलायो,’ गुरुङ भन्नुहुन्छ, ‘बाबाले क्याम्पस भर्ना हुने पैसा जुटाउन नसकेपछि लाहुरबाट छुट्टीमा आएका गाउँकै दाईले क्याम्पस भर्ना गर्दिएको र ठूली दिदीको घरमा बसेर प्रमाणपत्र तहको अध्ययन पुरा गरेको हुँ ।’ त्यसपछि काठमाडौमा जागिर गर्र्दै स्नातक तह सक्नु भयो । स्नातकोत्तर भने पोखराबाट पास गरेको उहाँको भनाई छ । ‘सानोमा बा आमाले दुःख गरेर हुर्काउने पढाउने गर्नुभयो अहिले श्रीमतीको पुरै साथ सहयोग छ । बाबाको मात्र होइन जीवनका दुई महिला आमा र श्रीमतीको सहयोगले नै यहाँ सम्म आइपुगेको हुँ, त्यसैले आज मेरो पुरै जीवन सहकारी सँग जोडिएको छ ।’
सहकारीमा भीमको अनुभव…
प्रारम्भिक संस्था रोयल बचत तथा ऋण सहकारी संस्थाको संस्थापक उपाध्यक्ष बाहेक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षको रुपमा ९ वर्ष र नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को सञ्चालकको रुपमा ३ वर्ष काम गरेको मेरो अनुभव छ । सदस्यको साथ र विश्वास भएमा सहकारी क्षेत्रमा धेरै काम गर्न सकिने उहाँले बताउनुहुन्छ । स–सानो पूँजि जम्मा गरेर अर्बाैको कारोबार गर्न सकिने अनुभव सहकारीले गुरुङलाई दिएको छ । त्यति मात्रै होइन, सहकारीले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान र असल सहकारीकर्मीको परिचय दिएको उहाँको भनाई छ । संस्थालाई सुशासनमा चलाउनु पर्ने भन्दै नीतिगत अस्पष्टता हटाउँदै संघ र प्रदेशसँग बाझिएका ऐनहरु परिमार्जन गर्न जरुरी रहेको उहाँको भनाई छ । संस्थाको वर्गीकरण र स्तरीकण गर्ने, अनुगमन र निरीक्षण प्रवद्र्धनका कामलाई व्यापक बनाउने र व्यवसाय सञ्चालन गर्न कानुनी व्यवस्था गरे सहकारी क्षेत्रबाटै समृद्धि सम्भव रहेको उहाँको भनाई छ ।
सहकारीका सवल पक्ष…
सहकारी सबै क्षेत्रमा जान सक्नु सबैभन्दा बलियो पक्ष रहेको गुरुङको भनाइ छ । सदस्य केन्द्रीत व्यवसाय भएकोले सदस्य सबैभन्दा ठूलो सम्पत्ति रहेको उहाँको बुझाई छ । सहकारी संस्था जनताको मौलिक कार्यक्रम बनेको उहाँ बताउनुहुन्छ । गरिबी न्यूनीकरण र रोजगारी प्रवद्र्धनमा सहकारीको ठूलो योगदान रहेको गुरुङको भनाइ छ । सहकारी सिद्धान्त, मूल्य मान्यता, संविधानमा समेटिनु, ७५३ पालिका, ७ प्रदेश र संघीय रुपमा कानून बन्नु एउटा ठूलो सवल पक्ष रहेको उहाँले बताउनुभयो । थप प्रवद्र्धनको लागि राज्य र सहकारी अभियान मिलेर जानुको विकल्प नरहेको उहाँ बताउनु हुन्छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासमा फरक…
सहकारीका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासमा धेरै फरक रहेको उहाँ बताउनुहुन्छ । संस्था दर्ता देखि सञ्चालनमै फरक रहेका छन् । नेपालमा बचत तथा ऋण बढी अन्य देशमा उत्पादनमूलक संस्था बढी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय सहकारीहरु कहिँ कम्पनी र कहि बैकिङ्ग रहेका छन् । एउटै सहकारीले हजारौंलाई रोजगारी दिएका र सहकारी मार्फत बहुराष्ट्रिय कम्पनीले भन्दा बढी रोजगारी सिर्जना गरेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय सहकारीहरुले सहकारीको सिद्धान्तलाई मूल मर्मको रुपमा मानेर ठूला परियोजनाहरु सञ्चालन गरे पनि हाम्रोमा स–साना विषयमा उल्झन देखिएको उहाँको भनाई छ ।
संघको नेतृत्व छोडेर संस्थाको कार्यकारी…
सहकारी ऐनमा सहकारीको सञ्चालक कार्यकारी हुन नपाउने निर्णय गरेसँगै आफुले सुशासनको पालना गर्दै कार्यकारीको जिम्मेवारीमा मात्र रहेको उहाँको भनाई छ । ‘यो ऐन आएपछि सम्भवत सबैभन्दा पहिले मैले नै शुरुवात गरेको हुनसक्छ’ गुरु«ङ्गले भन्नुभयो ‘मेरो निर्णयले सहकारी अभियानमा राम्रो छाप परेको छ ।’ तर कतिपयले भने अहिले भने दुुईटा डुंगामा खुट्टा हालेर बसेका छन्, नेपालको नियम र अभियन्ताहरुको चाल देखेर उदेक लाग्छ, गुरुङको गुनासो छ ।
अभियानलाई प्रभावकारी बनाउन सहकारीको नाममा हुने राजनीति बन्द गर्नुपर्छ…
पदिय मर्यादामा रहेर सबैले आ–आफ्नो दायित्व पुरा गर्नुपर्ने उहाँको भनाई छ । ‘सबैभन्दा पहिले सहकारीको नाममा हुने राजनीति बन्द गर्नुपर्छ,’ गुरुङ भन्नुहुन्छ ‘संस्थै नभएको व्यक्ति सहकारीको नेता हुने परम्परा तोड्नु पर्छ ।’ यसको लागि सहकारीका सदस्यले मात्र होइन सबैले आवाज बुलन्द गर्नुपर्ने उहाँको भनाई छ । ‘गुरुङ भन्नुहुन्छ, सहकारी क्षेत्र र अभियानलाई व्यवस्थित गराउनका लागि व्यवसायीक बन्ने हो भने धेरै विकृतीहरु आफै हटेर जन्छन् ।’
सहकारी सम्भावना र चुनौतीको महासागर भएको भन्दै यसमा भविष्य खोज्नेहरु आफै लाग्नुपर्ने उहाँको सुझाव छ । सहकारीमा प्रवेश गर्नेहरुले सहकारी भनेको के हो भनेर सबैभन्दा पहिले बुझ्नु पर्नेमा सबै स्पष्ट हुनुपर्नेमा गुरुङले जोड दिनुहुन्छ । क्षणिक लाभको लागि सहकारीमा आउनु बेकार रहेको उहाँको भनाई छ ।
कर्मचारी वा अभियन्ता जुन भूमिकामा रहने गरि सहकारीमा आए पनि सामुहिक भावना र दिगो संस्था निर्माण गर्ने उद्देश्यले आउन जरुरी रहेको उहाँले बताउनुभयो ।
एकीकरणको अभियान तीव्र बनाउनुपर्छ…
सहकारी क्षेत्रबाट मेगा परियोजनाहरु सञ्चालन गर्ने र धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्नको लागि सहकारीमा भिजन भएको नेतृत्व र सीप भएका जनशक्तिको आवश्यकता रहेको भन्दै उहाँले सहकारी क्षेत्रका जनशक्तिलाई मात्र होइन सञ्चालक र अभियन्तालाई पनि क्षमतावान बनाउनु पर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सहकारीलाई विशुद्ध व्यवसायीकिरण र गैह्र राजनीतिकरण बनाउन खबरदारी गर्नुपर्छ । बाझिएका कानुन सच्याउन पहल गर्नुपर्छ, जो जहाँ छौ त्यो संस्थालाई ब्राण्डेड बनाउन लाग्नुपर्छ ।’ एक पालिका एक नमूूना मोडल सहकारी उद्योग स्थापनामा अध्ययन गर्नु र स्थापना गर्नु आजको आवश्यकता रहेको उहाँको भनाई छ । छरिएको पूँजी एकीकृत गरेजस्तै सहकारी एकीकृत गरेर एकीकरण अभियानलाई तिब्र बनाउनु पर्नेमा गुरुङको जोड छ ।
र,अन्त्यमा योजना…
समृद्ध सदस्य र दीगो सहकारी निर्माणमा ध्यान दिने । नयाँ प्रविधीहरुसंग आत्मसात गर्दै जाने । कर्मचारी तथा सञ्चालकहरुमा प्रतिस्पर्धी क्षमता विकास गराउने । सदस्यहरुको समूह मार्फत थप व्यवसायिक गतिविधीहरु सञ्चालन गर्ने । रोयल सहकारीलाई रोल मोडलको रुपमा विकास गर्ने नै मेरो मुख्य योजना हो ।