काँग्रेसको बैशाखी टेकेर समाजवादको वैतरणी तर्ने माओवादीको भविश्य छैनः उप–महासचिव सुब्बा

माओवादी केन्द्र बागलुङ नगर अध्यक्ष एमाले प्रवेश

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङले स्थानीय तह निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती दुई विचारहरुको बीचमा हुन लागेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी बागलुङले बुधवार आयोजना गरेको एमालेमा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली काँग्रेसको बैशाखी टेकेर समाजवादको वैतर्णी तर्ने सपना देखेको माओवादीको कुनै भविश्य छैन, राष्ट्रवादको पहरेदार एमाले हो, गठबन्धनका नाममा सत्ता र राष्ट्रियतालाई धराप पार्नेहरुलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने उहाँको भनाइ थियो । नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र विचारले नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय भएको दावी गर्दै उप–महासचिव गुरुङले एमालेको लोकप्रियतामा टेकेर माओवादी र माधव नेपाल जस्ता राष्ट्रघाती नेताले नेपाली जनताको सपना माथी तुषारापात गरिरहेको बताउनुभयो ।

उहाँले भोका, नाङ्गा र खाली खुट्टा हिडेर परिर्वतनको आन्दोलन गरेका कार्यकर्ताको सपनाको जगमा प्रचण्ड जस्ता नेताहरु अरबपती भएको आरोप लगाउनुभयो ।

नक्सामा भू–भाग ल्याएर राष्ट्रवादी भइन्छ ? भन्दै नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघाती भन्नेहरुले एमाले सरकारले चुच्चे नक्सामा समेटेको भू–भाग फिर्ता ल्याएर देखाउँन चुनौती दिनुभयो । विभिन्न साध र सिमानामा मिचिएको भू–भाग फिर्ता ल्याउन एमालेकै सरकार आउनुपर्ने उहाँको भनाई थियो ।

नेपाली काँग्रेस भारतको दलाल भएको र त्यही दलाल पार्टीको दौराको फेरो समाएर क्रान्तिको अलाप जप्ने प्रचण्ड र माधव नेपाल नेपाली काँग्रेस भन्दा ठुलो दलाल भएको भन्दै उहाँले गठबन्धनको सरकारले जनताको सपनामाथी लात हानेको आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य लिला बहादुर थापा मगरले मुलुक अब दुई ध्रुवमा बाडिएको भन्दै क्रान्तिकारी ध्रुवको नेतृत्व नेकपा एमाले र दलाल पूँजिपति वर्गको नेतृत्व नेपाली कांग्रेस सहितको गठबन्धनले गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी बागलुङ नगर कमिटीका अध्यक्ष इन्द्र केसी (पारस), काठेखोला गाउँपालिका कमिटिका उपाध्यक्ष विष्णु खड्का, बानपा ७ का उपाध्यक्ष बाबुराम गैरे, बानपा–३ का सचिव सन्तोष केसी लगाएत ४६ जना एमालेमा समाहित हुनुभएको थियो । नवप्रवेशीहरुलाई एमाले उपमहासचिव गुरुङ सहितका नेताहरुलाई स्वागत गर्नु भएको थियो ।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका इन्द्र केसीले राष्ट्रियताका सवालमा माओवादी केन्द्रले जनताप्रति गद्दारी गरेका कारण आफु लगायत नेता कार्यकर्ताले माओवादी केन्द्र छोडेको बताउनुभयो । उहाँले हिजोदेखि कांग्रेसका विरुद्ध जनता उचालेर त्यही कांग्रेससंग अपवित्र गठबन्धन गरी निर्वाचनमा जाने कुरा आफुहरुलाई मान्य नभएको भन्दै यही कारण माओवादीका धेरै नेता कार्यकर्ताहरु नेपालको कम्युनिष्ट पार्टीको नेता पार्टी एमालेमा समाहित भएको बताउनुभयो ।
कार्यक्रम एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, सचिव विष्णु भुषालको सञ्चालन र उपसचिव गणेश थापाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *