काठेखोलामा एमालेका ८ वडा ८ पहिचान सहितको प्रतिवद्धता पत्र सार्वजनिक

आदर्श अनलाइन, बागलुङ

आगामी स्थानीय निर्वाचनका लागि नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिले ८ वडा ८ पहिचान सहितको प्रतिवद्धता सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुक्रवार अक्षेतेमा आयोजित जेष्ठ नागरिक सम्मान तथा प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा एमालेको प्रतिवद्धता सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका ८ वटा वडामा ८ वटा मुख्य पहिचान बनाउने योजनाका साथ निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।

८ वटा वडामा ८ विशेष पहिचान सहित समग्र काठेखोलाको विकासका लागि एमालेको योजनाका रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको नेकपा एमाले गण्डकी प्रदेशका सदस्य तथा प्रतिवद्धता पत्र निर्माणका लागि गठित कार्यदलका सदस्य राम बहादुर जिसीले जानकारी दिनुभयो ।

एमालेले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको आधार ः समृद्ध काठेखोला निर्माणका लागि एमाले नेतृत्वको स्थानीय सरकार भन्ने नाराका साथ आफ्ना प्रतिवद्धता सार्वजनिक गरेको हो ।
एमालेले ८ वडाका ८ पहिचानमा वडा नं. १ लाई कृषि उपज, सहकारी खेती विस्तार विशेष क्षेत्र, वडा नं. २ लाई पशुपालन र तरकारीको विशेष क्षेत्र, वडा नं. ३ लाई आलु पकेट क्षेत्र तथा पर्यटन प्रवद्र्धनको मुख्य क्षेत्र बनाउने उल्लेख गरेको छ ।

वडा नं. ४ लाई जनजाती संग्राहलय तथा पशुपालन विशेष क्षेत्र, वडा नंं ५ लाई पर्यटन र धार्मिक सास्कृतिक विशेष क्षेत्र, वडा नं. ६ लाई प्राविधिक शिक्षा र कृषि बागबानीको विशेष क्षेत्र, वडा नं. ७ लाई चिया खेती र खेलकूदको मुख्य क्षेत्र तथा वडा नं. ८ लाई हाते कागज र जुडिबुटीको विशेष क्षेत्र बनाउने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

काठेखोला गाउँपालिकाको समग्र विकासका लागि एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पशुपालन र फलफूल खेती, पर्यटन, जलस्रोत सिंचाई, खेलकूद, सामाजिक सांस्कृतिक विकास, वन वातावरण, शान्ति सुरक्षा, खानीहरु, श्रम र रोजगार लगायतका विषयमा आफ्ना प्रतिवद्धता उल्लेख गरेको छ ।

एमाले नेतृत्वको स्थानीय सरकारले काठेखोलाको विकासका लागि गरेका कामहरुको विवरण सहित एमालेले आगामी दिनमा गर्ने कार्यहरुको बारेमा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

एमालेले निर्वाचनबाट विजयी भएपछि आगामी ५ वर्षका लागि ५ विशेष योजना निर्माण गरी अगाडि बढ्ने योजना बनाएको कार्कीले बताउनुभयो ।

कार्यक्रममा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको थियो । जेष्ठ कम्युनिष्ट तथा नेकपा एमालेका तर्फबाट तत्कालिन रेश गाविसका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कविराज थापा, रेश जिरेदीका जेष्ठ सदस्य गुमा कार्की, वडा नं. १ का दुर्गा बहादुर भण्डारी, वडा नं. २ का खड्क बहादुर थापा, वडा नं. ३ का जय बहादुर खड्का, वडा नं. ४ का भद्रकुमारी भण्डारी, वडा नंं ५ का मुक्तिराज विक, वडा नंं ६ का गुमादेवी कंडेल र वडा नं. ८ का रण बहादुर पुनलाई सो अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज डा.सूर्य पाठक र जिल्ला अध्यक्ष हिरा बहादुर केसीले आगामी स्थानीय निर्वाचनमा एमालेका उमेदवारलाई विजयी बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई सक्रियताका साथ लाग्न निर्देशन दिनुभएको थियो । उहाँहरुले अबको २० दिन पार्टी कामका लागि समय व्यवस्थापन गर्न, नेकपा एमालेको नेतृत्वमा रहेका केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुका साथै आगामी दिनमा एमालेका प्रतिवद्धतासहित मतदाताको घरघरमा जान सुझाव दिनुभयो ।
कार्यक्रम एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, सचिव विद्यापती शर्माको सञ्चालन र उपसचिव तिलक खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

एमालेले बैशाख १२ गते काठेखोलामा उमेदवारी दर्ता गर्ने कार्यक्रम राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *