एमाले र राप्रपाको संयुक्त घरदैलो र चुनावी सभा, सुरु हुन सकेन गठबन्धनको चुनाव प्रचार

आदर्श अनलाइन, बागलुङ
स्थानीय तह निर्वाचनको मिति नजिकिदै छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक गरिसक्यो । तर, बागलुङ नगरपालिकामा चुनावी रौनकता अझै देखिएको छैन ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी, जनता समाजवादीले भागबन्डाको आधारमा आ–आफ्ना उम्मेदवार उठाएका छन्, भने नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि तालमेलको आधारमा उम्मेदवार उठाएका छन् । विवेकशिल साझा, नेपाल दलित पार्टी र स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नै तरिकाले उम्मेदवार उठाएका छन् ।

उम्मेदवारको अन्तिम नामावली आइसक्दा समेत बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनको चुनावी प्रचार प्रसार सुरु हुन सकेको छैन । निर्वाचन आयोगले तोकेको मनोनयन फिर्ता लिने अन्तिम दिन हिजो १६ गते मात्रै मिलेर निर्वाचनमा जाने तयारी गरेको नेकपा एमाले र राप्रपाले छुट्टा छुट्टै चुनावी प्रचारमा हिडेको भएपनि सहमती पछि आजबाट संयुक्त रुपमा प्रचार प्रसारमा जुटेका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा नेपका एमालेका तर्फबाट बागलुङ मेयरका उम्मेदवार जनकराज पौडेल र नेपाली काँग्रेसको तर्फबाट मयेरका उम्मेदवार बसन्तकुमार श्रेष्ठ पुनः एकपटक आमने सामने भएका छन् । यसपटक श्रेष्ठ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् भने पौडेल पुन एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।

यसपटक बागलुङ नगरपालिकाको मयेरमा एमाले र राप्रपाको तर्फबाट जनकराज पौडेल, गठबन्धनका तर्फबाट बसन्त कुमार श्रेष्ठ, सँगै नेपाली काँग्रेस (बी.पी)को तर्फबाट धना आचार्य, नेपाल परिवार दलका तर्फबाट निलप्रसाद आचार्य, नेपाल दलित पार्टीका भक्तबहादुर वि.क, नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी लेनिनवादी)को तर्फबाट मञ्जु माया क्षेत्री र विवेकशिल साझा पार्टीबाट सुरज खड्का उम्मेदवार रहेका छन् । मेयरमा ७ जनाको उम्मेदवारी रहेपनि चर्चामा रहेका गठबन्धनका उम्मेदवार बसन्तकुमार श्रेष्ठ र एमाले राप्रपाका उम्मेदवार जनकराज पौडेल विच मुख्य प्रतिशप्रर्धा हुने देखिएको छ ।

एमालेका उम्मेदवार जनकराज पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गरि बागलुङ नगरपालिकाको मयेरमा विजयी हुँदा प्रत्यासी श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा ३४ हजार ५ सय २८ मतदाता रहेको बागलुङ नगरपालिकामा २४ हजार ६ सय ५१ मत खसेको थियो । यसपटक बागलुङ नगरपालिकामा ४० हजार ४ सय १८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताए ।

निर्वाचनको सबै तयारी सकिएपनि उम्मेदवारहरु भने अझै अलमलमा रहेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका बसन्तकुमार श्रेष्ठले गठबन्धनको तर्फबाट संयुक्त चुनावी प्रचार प्रसारको योजना र तालिका बनाउने बताए । गठबन्धकै तर्फबाट उपमेयरको उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का राजु खड्काले मनोनयन दर्ता पछाडी अहिले सम्म गठबन्धनका मेयरका उम्मेदवार सँग भेटघाट नभएको बताए ।

‘हिजोसम्म गठबन्धनको विरुद्धमा उम्मेदवारी दिएकालाई सम्झाई बुझाई गर्न लागियो, अब योजना बनाएर प्रचारमा जानेछौं’ खड्काले भने ‘अहिले व्यक्तिगत रुपमा छर छिमेकमा भेटघाट गरिरहेको छु, गठबन्धन र पार्टी दुवैको तर्फबाट औपचारिक प्रचार सुरु गरिएको छैन ।’

नेकपा एमालेले मनोनय दर्ता पछि वडा वडामा घरदैलो कार्यक्रम गरिरहेको र १६ गतेको राप्रपा सँगको सहमती पछि आजबाटै संयुक्त रुपमा प्रचार प्रसारमा हिडेको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्मा ‘गणेश’ले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *