‘पुनम’बाट ‘गण्डकी’ बनेकी थापाको गाउँपालिका अध्यक्ष सम्मको यात्रा

सिर्जना पन्त, बागलुङ
१० वटा स्थानीय तह रहेको बागलुङ जिल्लाको एक मात्र एक मात्र महिला पालिका प्रमुख हुन् गण्डकी थापा । थापा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट ७ हजार २७३ मत प्राप्त गर्दै बडिगाड गाउँपालिकाको अध्यक्ष बनेकी छिन् । नवनिर्वाचित गण्डकी थापाको राजनीतिक र व्यक्तिगत जीवन बारे थप जानौं ।

माइतीका हजुरबुवा र घरका ससुराको पदचाप पच्छ्याउँदै नेपाली काँग्रेसको राजनीतिमा जोडिएकी महिला हुन् गण्डकी थापा अधिकारी ।

साविक गुल्मी जिल्लाको ग्वाघा गाविस वडा नम्बर ९ मा ४१ वर्ष पहिले जन्मिएकी गण्डकीको नाम थियो ‘पुनम’ । उनै ‘पुनम’लाई हजुरबुवा कृष्ण बहादुर थापाले ‘गण्डकी’ बनाए । ग्वाघा गाविको १८ वर्ष सम्म प्रधान पञ्च भएर काम गरेका कृष्ण बहादुर थापाकी जेठी नातिनी हुन् गण्डकी ।

बुवा आमाले छोरीको नाम ‘पुनम’ राखेपनि हजुरबुवाले नामको अर्थ र सार्थकता हुनुपर्ने भन्दै फेरेर ‘गण्डकी’ राखिदिए । अहिले गुल्मीको ग्वाघा गाविस चन्द्रकोट गाउँपालिका बनेको छ, गण्डकीका माइती रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा बसाई सरेका छन् ।

हजुरबुवा झोलामा जडिबुटी बोकेर विरामीको उपचार गर्न गाउँ गाउँ जान्थे, अन्न लत्ताकपडा बोकेर दुखी गरिबको घर–घरमा पुग्थे । तेही देखेर हुर्किएकी गण्डकीको मनमा सामाजिक काम गर्नुपर्छ, सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना त्यही बेला पलाएको हो ।

भर्खर एस.एल.सी दिएकी गण्डकीको १८ वर्षको उमेरमा बागलुङको बडिगाड गाउँपालिकाका कमल बहादुर अधिकारीसँग विवाह भयो । संयोगबस गण्डकीका ससुरा कृष्णबहादुर अधिकारी पनि प्रधानपञ्च थिए । श्रीमान र देवर नेपाली काँग्रेसमा आवद्ध थिए ।

ससुराकै बलमा गण्डकीले उत्तरगंगा उच्च माध्यामिक विद्यालयबाट १२ पास गरिन, निसीभुजी जनता क्याम्पसबाट स्नातक र तानसेन बहुमुखी क्याम्पसबाट स्नातकोत्तर उर्तिण गरिन ।

२०४५ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएकी गण्डकी २०६३ सालमा नेपाल महिला संघको जिल्ला उपाध्यक्ष बनिन् । अहिले नेपाली काँग्रेस बागलुङको जिल्ला सचिव छिन् ।

२०५४ सालमा उत्तरगंगा माध्यामिक विद्यालयमा अस्थायी दरबन्दीमा शिक्षकको जागिर सुरु गरेकी गण्डकी २०६३ माघ १९ गते स्थायी भएकी थिइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बडिगाड गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नको लागि ११ वर्षको स्थायी जागिर छोडेको उनको भनाई छ । ‘पार्टीले जिम्मेवारी दियो, सामाजिक काम, राजनीतिक जीवन वा जागिर मध्ये एक चुन्नुपर्ने अवस्था आयो,’ गण्डकीले भनिन् ‘श्रीमानले पनि सोच विचार गर भन्नुभएको थियो तर मैले जागिर छोडेर सामाजिक काम गर्ने निधो गरे ।’

जागिर छोडेर २०७४ सालको स्थानीय तह निर्वाचनमा बडिगाड गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी थापाको पक्षमा परिणाम भने आउन सकेन । उनि नेकपा एमालेका उम्मेदवार मेहरसिंह पाइजासँग पराजीत भइन् ।

लामो संघर्षबाट टिकट प्राप्त गरेपनि आफ्नै पार्टीका साथिहरुबाट असहयोग भएकै कारण त्यो बेला निर्वाचनमा हार्नुपरेको थापाको भनाई छ । ‘महिला हो कसरी जित्छे, जितेपनि काम कसरी गर्छे भन्नुभयो, मतदाताको मनमा पनि महिलाले गर्न सक्दैनन् भन्ने भ्रम पारियो, गण्डकी भन्छिन्, ‘म हारे पनि मेरो विश्वास हारेन, पाँच वर्षमा प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरे पार्टीले पुनः पत्यायो ।’

अहिले पाँच दलिय गडबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसले गण्डकीलाई नै बडिगाड गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । गण्डकीले पनि पछिल्लो पाँच वर्षमा पार्टी र जनताको माझामा आफुलाई प्रमाणित गरेको बताउँछिन् । ‘निर्वाचन हारे पनि निरन्तर लागे, जनता र समाजको कामबाट कहिलै भागिन गण्डकी भन्छिन् पछिल्लो पाँच वर्ष निरन्तर मन जित्नमा लागे तेसैले यसपटक मतले जीते ।’

जिल्लाका १० स्थानीय तहमा एकाघ स्वतन्त्र उम्मेदवार बाहेक राजनीतिक दलको तर्फबाट प्रमुख पदमा एक मात्र महिला उम्मेदवार थिइन् गण्डकी थापा । यसपटकको निर्वाचनमा गठबन्धनको कारणले राजनीतिमा संघर्ष गरिरहेका महिलाका अधिकार कुण्ठीत भएको उनको बुझाई छ । ‘म बागलुङ जिल्लाको लागि चामलको वियाँ जस्तै हुँ थापा भन्छिन् ‘यसपटक मलाई जितको खुसी मात्र छैन्, महिलालाई नेतृत्व दियो भने पुरुषले भन्दा राम्रो गर्न सक्छन् भनेर प्रमाणित गर्नु छ ।’

अबको पाँच वर्ष बडिगाडका जनताको लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ । महिलालाई आत्मनिर्भर बनाउने, युवालाई रोजगारी सँग जोड्ने, राज्यले दिएको सेवा र अधिकार समान तरिकारले जनतासँग पु¥याउने उनको अठोट छ । जनतालाई जनप्रतिनिधीसँग जोड्न ‘जनतासँग गाउँपालिका’ कार्यक्रम सञ्चालन गर्ने गण्डकी बताउँछिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *