जैमिनीका केदारले सुन्तलाका विरुवा बेचेर चार लाख कमाए

साधना पन्त, बागलुङ
बहुआयामीक कृषकको रुपमा परिचय बनाउँदै गएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीका केदार आचार्यले यस बर्षबाट नर्सरीबाट राम्रो आम्दानी गर्नुभएको छ ।

२०७३ सालबाट व्यवसायीक कृषि सुरु गर्नुभएका आचार्यले २०७७ सालमा नर्सरी सुरु गर्नुभएको थियो । अघिल्लो वर्ष ५ हजार अलैचीका विरुवा बेचेर २५ हजार आम्दानी गर्नुभएका आचार्यले यस वर्ष सुन्तलाका विरुवा बेचेर ४ लाख २० हजार आम्दानी गर्नुभएको हो ।

आचार्यले यस वर्ष बेच्न मिल्ने गरि १५ हजार सुन्तलाका विरुवा तयार गर्नुभएको थियो । जैमिनी नगरपालिकाको स्थानीय प्रजातिका सुन्तलाका १५ हजार विरुवा उत्पादन गर्दा आचार्यको प्रति विरुवा १८ रुपैयाँ लागत लागेको छ । १५ हजार विरुवा उत्पादन गर्दा २ लाख ७० हजार रुपैयाँ लगानी भएको आचार्य बताउनुहुन्छ ।

सरकारी दर रेट अनुसार प्रति गोटा संस्थालाई २५ रुपैयाँ र व्यक्तिलाई ५० रुपैयाँमा बेच्न मिल्ने भएपनि सोही दररेट अनुसार विक्रि गर्न नसिकएको आचार्यले बताउँनुभयो । उहाँले १० हजार विरुवा २७ रुपैयाँ र अन्य ३ हजार विरुवा गुणस्तर हेरेर ३५, ४५ र ५० रुपैयाँका दरले विक्रि गर्नुभएको छ ।

जैमिनी नगरपालिका–१० किटेनीका यामप्रसाद थापा केदारको आचार्य आचार्य जैविक नमुना कृषि फर्मबाट खरिद गरेका सुन्तलाका विरुवा सहित तस्बिर खिचाउँदै ।

आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनी कै भगवती अलैची पकेट समुहले ५÷५ हजार विरुवा खरिद खरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले २५ सय विरुवा खरिद गरेको आचार्यले बताउनुभयो । उहाँको नर्सरीमा अझै २ हजार विक्रि गर्न मिल्ने विरुवा रहेका छन् ।

अन्य ५ सय विरुवा व्यक्तिले खरिद गरेको आचार्यको भनाई छ । आचार्य जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थाल्नुभएको हो । उहाँको नर्सरीमा हिउदमा बेच्नको लागि ५ सय ओखर (विजु) र १ हजार किवीका कलमी गरेका विरुवा तयार भएका छन् ।

आगामी वर्षको लागि पर्वतको वासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार विरुवा तयार हुदै गरेको आचार्यको भनाई छ । उहाँको नर्सरीमा आगामी वर्षको लागि सुन्तलाका १५ सय कलमी र ५ सय कागतीका विरुवा समेत बेच्नको लागि तयार हुने छन् ।

लगाएको छोटो सयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी विरुवाको माग बढ्दै गएको बताउँदै आचार्यले विस्तारै विजु विरुवा कम गरेर कलमीमा जोड दिने बताउनुहुन्छ । विजु विरुवाले लगाएको ३ वर्षमा उत्पादन दिन सुरु गर्ने र ७ देखि १० वर्षमा परिपक्क हुने भएपनि कलमी विरुवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र ३ वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कली विरुवा पर्न थालेको आचार्यले बताउनुभयो ।

करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र ५० लाख रुपैयाँ लगानी गर्नुभएको छ । जडिवुटी संकलनको काम गर्न थालेका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्ध जस्ता जडिवुटीको समेत नर्सरी सुरु गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *