एमाले गण्डकीको निष्कर्ष : जनमत हुदाहुदै १० पालिका हा¥यौ


आदर्श अनलाइन, पोखरा

नेकपा एमाले गण्डकी प्रदेश कमिटिले गत स्थानीय निर्वाचनमा पार्टीको राम्रो पकड हुदा हुदै १० वटा पालिकामा पराजित हुन परेको निष्कर्ष निकालेको छ । विगतमा जितेका र पार्टीको प्रभावकारी उपस्थिति हुदा हुदै पनि १० वटा पालिकामा पराजित भएको एमाले गण्डकी प्रदेश कमिटिको हालै सम्पन्न एघारौ वैठकले निष्कर्ष निकाले हो ।

गण्डकी प्रदेशका ८५ पालिका मध्य एमालेले ३५ पालिकामा प्रमुख र ३४ पालिकामा उपप्रमुख जितेर प्रदेशको ठुलो दल बनेको छ । गण्डकी प्रदेशमा रहेका ७५१ वडा मध्ये एमालेले २८५ वडा जित्न सफल भएको छ ।

प्रदेश कमिटिको वैठक पछि पार्टी अध्यक्ष नवराज शर्माले साउन २ गते जारी गरेको परिपत्र–१४ मा कास्की, पर्वत, म्याग्दी, लमजुङ, तनहुँ र स्याङ्जाका १० वटा पालिकामा पार्टीको जनमत राम्रो हुदा हुदै पनि पराजित हुनु परेको उल्लेख गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका र माछापुच्छ्र्रे गाउँपालिका, पर्वतको फलेवास नगरपालिका, लमजुङको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिका, तनहुँको शुक्लागण्डकी गाउँपालिका, म्याग्दीको धौलागिरी गाउँपालिका र स्याङ्जाको पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिकामा जनमत भएर पनि पराजित हुनु परेको एमालेको निष्कर्ष छ ।

पोखरा महानगरपालिकामा एमाले ६०४५ मतले पराजित भएको थियो । गठबन्धनबाट नेकपा एसका प्रमुखका उमेदवारले ५८८९३ ल्याएर विजयी हुदा एमालेका प्रमुखका उमेदवारले ५२८४८ मत पाएका थिए । उपप्रमुखमा एमालेका उमेदवारले ६०५४६ मत ल्याएर विजयी हुदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवारले ५४५४७ मत पाएका थिए । उपप्रमुखमा एमालेले ५९९९ मतको अन्तर पारेर जित निकालेको थियो ।
मादी गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्षका उमेदवारले ६५८४ मत प्राप्त गरेर विजयी हुदा एमालेका अध्यक्षका उमेदवारले ५७५० मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेका उमेदवारले ५८२८ मत प्राप्त गरेर विजयी हुदा गठबन्धनबाट माओवादी केन्द्रका उमेदवारले ५६१६ मत प्राप्त गरे ।

यस्तै माछापच्छ्रे गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्षका उमेदवारले ७०९९ मत प्राप्त गरी विजयी हुदा एमालेका अध्यक्षका उमेदवारले ६६१७ मत प्राप्त गरे । उपाध्यक्षमा पनि गठबन्धनका उमेदवारले ६३७० मत प्राप्त गरी विजयी हुदा एमालेका उमेदवारले ५९५१ मत प्राप्त गरे ।

पर्वतको फलेवास नगरपालिका पनि एमालेको जित्ने सूची मै थियो । जनमत राम्रो हुदा हुदै पनि हार्नु परेको फलेवास नगरपालिकामा एमालेका प्रमुखका उमेदवारले ६३८० मत प्राप्त गर्दा गठबन्धनबाट कांग्रेसका प्रमुखका उमेदवारले ७७०० मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उमेदवारले ६३२७ मत प्राप्त गरी विजयी हुदा एमालेका उमेदवारले ६०५७ मत प्राप्त गरे ।

लमजुङको सुन्दरबजार नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका प्रमुखका उमेदवारले ६६४१ मत प्राप्त गरी विजयी हुदा एमालेका प्रमुखका उमेदवारले ६०३६ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेका उमेदवारले ५०१८ मत प्राप्त गरी विजयी हुदा स्वतन्त्र उमेदवारले ४४७५ मत प्राप्त गरे ।

लमजुङकै मध्यनेपाल नगरपालिकामा गठबन्धनबाट कांग्रेसका प्रमुखका उमेदवारले ६५५१ मत प्राप्त गरी विजयी हुदा एमालेका प्रमुखका उमेदवारले ६२१४ मत प्राप्त गरे । उपप्रमुखमा भने एमालेका उमेदवारले ६४१६ मत प्राप्त गरी विजय भए । गठबन्धनबाट माओवादीका उमेदवारले ५०७४ मत प्राप्त गरे ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उमेदवारले १२२६३ मत प्राप्त गर्दा एमालेका प्रमुखका उमेदवारले ९८४० तथा उपप्रमुखमा गठबन्धनबाट माओवादीका उमेदवारले १०२३२ मत प्राप्त गर्दा एमालेका उमेदवार ९८५७ मत प्राप्त गरे । म्याग्दीको धौलागिरी गाउँपालिकामा एमाले गठबन्धनसंग ७० मतले पराजित भएको थियो । गठबन्धनका अध्यक्षका उमेदवारले २६१८ मत पाउदा एमालेका अध्यक्षका उमेदवारले २५४८ मत पाएका थिए । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उमेदवारले २८१२ मत प्राप्त गरेर विजयी हुदा एमालेका उमेदवारले २६२८ मत प्राप्त गरे ।

यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकामा प्रमुख पदमा गठबन्धनका उमेदवारले १२४९४ मत पाएर विजयी हुदा एमालेका उमेदवारले १००९० मत ल्याए । उपप्रमुखमा गठबन्धनका उमेदवारले ११७४८ मत प्राप्त गरी विजयी हुदा एमालेका उमेदवारले १०७६१ मत प्राप्त गरे ।
स्याङ्जाकै गल्याङ नगरपालिकामा गठबन्धनका प्रमुख पदका उमेदवारले ९६२१ मत प्राप्त गरी विजयी हुदा एमालेका उमेदवारले ८९२२ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका उमेदवारले ९११८ मत प्राप्त गरी विजयी हुदा एमालेका उमेदवारले ९०५५ मत प्राप्त गरे ।

पार्टीको जनमत हुदा हुदै हार्नु पर्नाका कारणहरु बारे छलफल गरी एमाले गण्डकी प्रदेश कमिटिले ७ वटा कमजोरी भएको निष्कर्ष निकालेको छ । नेकपा काल देखि तदर्थ शैलीमा चलेका र जनताबाट उत्रिएका कमिटिहरु, पार्टी अनुशासन र निष्ठामा आएको ह्रास, उमेदवारमा आकांक्षीहरुको ठुलो सख्या र एकआपसमा सहयोगको कमी हुनु, आफ्नै कार्यकर्तालाई अतिरिक्त खर्च दिनु पर्ने अवस्था, सत्ता गठबन्धनलाई कमजोर ठान्नु, जनप्रतिनिधिहरुको शासकीय शैलीलाई एमाले निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुका कारणका रुपमा अर्थाएको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *