एमाले गण्डकीका २८ विभागमा बागलुङका २ प्रमुख, १ उपप्रमुख सहित ११ जनालाई जिम्मेवारी


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले गण्डकी प्रदेश कमिटिले २८ वटा विभाग गठन गरेको छ । विभागमा २८ जना प्रमुख, १६ जना उपप्रमुख सहित १ सय ८३ जनालाई विभागीय जिम्मवारी दिइएको छ । प्रदेश कमिटिले गठन गरेको २८ विभाग मध्ये बागलुङबाट प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने २ जनाले प्रमुख, १ जनाले उपप्रमुख र ८ जनाले सदस्यको जिम्मेवारी पाएका छन् ।

विज्ञान तथा प्रविधि विभागको प्रमुखमा बागलुङका कृष्ण पाठक र श्रम तथा रोजगारी विभागको प्रमुख बाबुराम नेपालीलाई मनोनयन गरिएको छ । प्रदेश सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा राम बहादुर जिसीले जिम्मेवारी पाउनु भएको छ । प्रदेशका विभाग मध्ये संगठन विभागको सदस्यमा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी रहनु भएको छ । १५ सदस्यीय संगठन विभागमा ११ वटै जिल्लाका अध्यक्षहरु सदस्य रहनु भएको छ ।


प्रदेश विभाग अन्तरगत बागलुङबाट सामाजिक सेवा विभागको सदस्यमा नर बहादुर थापा, कानुन विभाग सदस्यमा राम शर्मा, निर्वाचन विभागमा कुल बहादुर विक, भूमि व्यवस्था विभागमा शिव सापकोटा, शिक्षा तथा मानव स्रोत विभागमा डिल्लीराज गौतम र टिकाराम सापकोटा, शहरी विकास विभागमा विष्णु प्रसाद भुषाल रहुनु भएको छ ।

विभागको जिम्मेवारी पाउनेमा सबै भन्दा बढी कास्कीका रहेका छन् । कास्कीबाट ९ जनाले प्रमुख, ९ जनाले उपप्रमुख र ७४ जनाले सदस्यको जिम्मेवारी पाएका छन् । लमजुङका ५ जना प्रमुख, १ जना उपप्रमुख र १६ जना सदस्य, पर्वतका ४ जना प्रमुख र ४ जना सदस्य, स्याङजाका ४ जना प्रमुख, २ जना उपप्रमुख र ९ जना सदस्य, नवलपुरका ३ जना प्रमुख र ९ जनाले सदस्यको जिम्मेवारी पाएका छन् ।

म्यादीका १ जनाले प्रमुख र ३ जनाले सदस्य, गोरखाका २ जनाले उपप्रमुख र ४ जनाले सदस्य, तनहुँका १ जना उपप्रमुख र ६ जनाले सदस्य, मुस्ताङका ४ जनाले सदस्य र मनाङका २ जनाले सदस्यको जिम्मेवारी पाएका छन् । पार्टी विधानको व्यवस्था अनुसार प्रदेश स्तरमा विभागहरु गठन गरिएको प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । एमालेले प्रदेश स्तरीय विभागमा बढीमा १७ सदस्य सम्म रहने व्यवस्था रहेको छ । आवश्यकताका आधारमा सदस्यहरु थप गरिने अध्यक्ष शर्माको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *