बागलुङको पर्यटन पर्बद्धनमा सहयोगी बन्दै नवौं राष्ट्रिय खेलकुद


आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारको बाङ्गेचौर खेलमैदान स्थित तेक्वान्दो कर्वडहल देखि सय मिटरको दुरीमा छ नेपालकै लामो झोलुङ्गे पुल । कर्वडहल क्षेत्रमै छ गण्डकी प्रदेशको चर्चित धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहाँ प्रतिस्प्रधाका लागि आएका २५० खेलाडी र सय बढी पाहुनाहरुले फर्सदको समयमा पर्यटकीय क्षेत्रको भ्रमण र अवलोकन समेत गर्न भ्याएका छन् ।

शनिबारदेखि बाङ्गेचौर खेलमैदान स्थित तेक्वान्दो कर्वडहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरबाट आइटिएफ तेक्वान्दोका खेलाडीहरु प्रतिस्प्रधाका लागि आउदा बागलुङ बजार गुल्जार बनेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तर्फको खेल बागलुङमा आयोजना हुँदा बागलुङको पर्यटकीय प्रर्बद्धनमा सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

एक साथ ३५० भन्दा बढी खेलाडी र एक सय पाहुनालाई यहाँका १४ ठूला तथा स्तरीय होटलमा व्यवस्थापन गरिएको बागलुङका सफल पर्यटन व्यवसायी तथा होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो ।

“पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा र त्यस आसपासका जिल्लामा सञ्चालित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पर्यटन व्यवसायलाई प्रर्बद्धनमा टेवा पु¥याउने निश्चित छ, बागलुङमा खेलमैदान नजिकै चर्चित पर्यटकीय गन्तव्यहरु रहेका छन्” चोखालले भन्नुभयो “बागलुङमा अब एक साथ ४०० भन्दा बढी पाहुना राख्नका लागि होटलहरुको क्षमता रहेछ भन्ने पुष्टी भइसकेको छ, खेलाडीहरु फुर्सदको समयमा खेलमैदान नजिकै रहेको लामो झोलुङ्गे पुल र कालिका मन्दिर दर्शनका लागि पुगेको देखियो ।”

खेलमैदानको पाँच देखि ७ किमि भित्र पर्यटकीय स्थल पञ्चकोट र शालग्राम संग्रहालय समेत रहेकाले नवौं राष्ट्रिय खेलका लागि देशभरबाट आएका खेलाडीहरुले बागलुङ चिन्ने अबसर पाउनुभएको चोखालको भनाई छ । बागलुङ जिल्लामा पहुनाको आतिथ्यता र व्यवस्थापन संगै पर्यटकीय स्थलको भ्रमण गर्न पाएकोमा आफु खुसी भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताउनुभयो ।

“प्रशिक्षक सहित खेलाडीहरु बागलुङको व्यवस्थापनप्रति खुसी छौं, छोटो समयमै गरिएको यो व्यवस्थापन निकै सह्रायिन छ,” प्रशिक्षक रावतले भन्नुभयो “मिडियामा सुनेको चर्चित लामो झोलुङ्गे पुल बाट पवित्र कालिगण्डकी नदी दर्शन गर्न पाइयो, खेलाडीहरुले फुर्सदको समयमा कालिका मन्दिर, लामो पुल तथा शहिद पार्कको अवलोकन गरेका छन् ।”

राष्ट्रिय खेलकूद परिषदले बागलुङका होटलहरुमा खेलाडी व्यवस्थापनका लागि एकमुष्ठ सम्झौता गरेको छ । ३५० भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गते सम्म बागलुङमा रहने भएकाले बागलुङको पर्यटन व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेको प्रतियोगिताको स्थानीय व्यवस्थापन बागलुङ नगरपालिकाले जनाएको छ ।

खेलाडीहरुले खाली समयको सदुपयोग बागलुङ बजार र त्यस आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गरेर बागलुङ यस्तो रहेछ भन्ने शन्देस देशभर फैलाउन सहयोग गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

देशभरका खेलाडीहरुले उद्घाटन समारोहमा सिसाखानीको सतिघाटु नाँच, नेवारी समुदायको घोडा र लाखे नाँच लगायतका विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रहरुको समेत अवलोनको व्यवस्था बागलुङ नगरपालिकाले मिलाएको थियो ।

बागलुङमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्प्रधा भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *