आमा सूमहका आमालाई नेतृत्व विकास तालिम

आदर्श अनलाइन, म्याग्दी

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका आमाहरुको अगुवाइमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम भएको छ ।

स्थानीय सिर्जनशील आमा समूहको आयोजना र अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित तालिमबाट सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा सबैले व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिमले महिलाहरुको नेतृत्व तथा क्षमता विकासमा सहयोग पुगेको बताउँदै पुनले आउँदा दिनमा रचनात्मक कार्यमा गाउँपालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

तालिमले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकासमा तालिमले सहयोगी भूमिका खेल्ने अपेक्षा गरेको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टकबहादुर पुनले बताउनुभयो । सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया पूर्जा पुन गुरुङले गाउँका महिलाहरुमा नेतृत्व तथा क्षमताको विकास गराउनका लागि वडा कार्यालयको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

तीन दिनसम्म चलेको तालिममा नारच्याङको आमा समूह, युवा क्लब तथा स्वास्थ्यचौकीबाट सहभागिता जनाएका थिए । तालिमका प्रशिक्षक तथा पत्रकारहरु सुष्मा पौडेल, स्मिता अधिकारी र प्रताप बानियाँले नेतृत्व विकास, उद्घोषणकला, सकारात्मक सोच, वैठक सञ्चालन, माइन्युट उठाउने र उत्प्रेरणालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम आमा समूहका अध्यक्ष गुरुङको अध्यक्षता, सदस्यद्वय तारादेवी रन्तिजाको सञ्चालनमा सम्पन्न भएको थियो भने सहभागी यामकुमारी पूर्जा, झरना शाही र चिना थजालीले अनुभव सुनाउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *