अमृत बास्कुने, म्याग्दी
सदरमुकाम देखि १२ किलोमिटर पर तातोपानी छ । बेनी नगरपालिका–४ मा पर्ने तातोपानीमा ३३ वर्ष पहिले खुलेको एउटा पसल आजभोली कहिलेकाँही मात्र खुल्छ ।
५९ वर्षीय छविलाल थापाले युवा अवस्थामा सुरु गरेको त्यो पसललाई पनि आजभोली बुढ्यौली लागेजस्तै भएको छ ।
थापाको पसलमा घडी, रेडियो र चार्जर लाइटहरु छन् । तर, ग्रहाक भने छैनन् । ग्रहाक नै नआएपछि पसल खोलेर मात्र भएन् । त्यसैले कहिलेकाँही मात्र पसल खोल्न गरेको उहाँको भनाई छ ।
नयाँ, घडी, रेडियो र लाइट किन्ने मानिस त आउँदै आउँदैनन्, कहिलेकाँही मर्मत गर्नेहरु आउँछन्, छविलाल भन्नुहुन्छ पसल खोल्नुप¥यो भनेर बोलाए मात्र खोल्ने हो, आजभोली व्यवसायमा भन्दा खेतबारीमा समय वित्न थालेको छ ।’
२०४६ सालमा तत्कालिन सिंगा गाउँ विकास समिति–४ तातोपानीमा घडी रेडियो मर्मत तथा बिक्री केन्द्र सुरु गर्नुभएका थापाले भारत पुगेर तालिम लिनुभएको थियो । पहिले पहिले दैनिक १० वटा भन्दा बढी घडी र रेडियो विक्रि हुन्थ्यो । तर, पछिल्लो समय उहाँलाई रेडियो घडी कहिले बेचे भन्ने याद छैन ।
थापालाई उहाँका छोराले समेत व्यवसायमा साथ दिनुभएको थियो । तर, खस्कदो व्यापार व्यसायका कारण पछिल्लो समय पोर्चुगल पुगेर मोबाइल पसल सञ्चालन गरेर बस्नुभएको छ ।
‘छोराले मोवाईल मर्मत गर्न सिकेको थियो, उँ रहुन्जेल पसलमा मोवाइल मर्मत हुन्थ्यो, पसल चलेको थियो’, छविलाल भन्नुहुन्छ ‘यहाँ मोवाइल मर्मत गरेर बसेर पुगेन बुबा विदेश जान्छु भन्यो रोक्न सकिन, अहिले पोर्चुगलमा गुराँस मोवाइल सञ्चालन गरेको छ ।’ आजभोली उहाँको व्यवसाय करिब बन्द, बन्द छ ।
स्याङ्जाको पुतलीबजार घर भएका बिन्दुराज गुभावुले २०५२ सालदेखि म्याग्दीको बेनी बजारमा टाइम वाच सेन्टर सञ्चालनमा ल्याउँनुभएको थियो । उहाँको पसलमा अहिले पनि लहरै मिलाएर राखेका घडी, घडीका चेन टनक्कै छन् ।
‘पुरानो व्यवसाय, जति सम्झियो त्यती माया लाग्छ,’ बिन्दुराज भन्नुहुन्छ तर, ‘व्यापार छैन यसरी कहिले सम्म व्यवासाय धान्न सकिन्छ ।’
दिनमा एउटा घडी विक्दैन, सबैको हातमा मोवाइल छ, मोवाइलमै घडी, मोवाइलमै रेडियो अनि दोहोरो खर्च, दोहोरो झन्झट किन गर्छ मान्छे । तर, व्यापार नहुँदा व्यापारीलाई पीडा त हुनेनै भयो ।
‘बेनी बजारमा घडी मर्मत गर्ने एकजना म मात्रै हो’ गुभाजु दावि गर्नुहुन्छ ‘तर पनि दिनमा मुस्कीलले एक÷दुई वटा पुराना मर्मत आउलान् कहिले काँही त आउँदै आउँदैनन् ।
छविलाल र बिन्दुराजको जस्तै अमिर दिन मियाको पीडा पनि उस्तै छ । २०५६ सालमा स्याङ्जाको पुतलीबजारबाट बेनी आएर क्याम्पसचोकमा न्यू सुपर वाच सेन्टर सुरु गरेका मियाको पसलमा घडी भन्दा बढी मोवाइल छन् ।
घडी मर्मतमा सिमित रहेको सिप मियाले समयसँगै बढाउनु भएको छ । आजभोली उहाँ मोवाइल मर्मत गर्नुहुन्छ । पुराना घडी विस्थापित गरेर आजभोली उहाँको पसलमा मोबाइल, लाइट तथा मोबाइलमा प्रयोग हुने ब्लुतुथ स्पिकर, लिड बल्प, चार्जलाइट भरिएका छन् ।
‘पहिले समय हेर्न घडी लगाइन्थ्यो,’ अमिर भन्नुहुन्छ, ‘आजभोली फेसनको रुपमा घडी लगाउँन थालिएको छ, पुरुषका भन्दा लेडिज घडी विक्री हुन्छन् ।’
म्याग्दीकै पुरानो संगम घडी साज भनेर चिनिने कृष्णप्रसाद श्रेष्ठले व्यवसायनै छोड्नुभयो । ‘जिल्लामै चार÷पाँच जनामात्र मोवाइल मर्मत व्यक्ति थियौ तर, आजभोली घडीको व्यापार कम छ,’ श्रेष्ठ भन्नुहुन्छ ‘मैले व्यवसाय छोडे छोराले मोबाइल र टिभिको व्यावसाय गर्छन् ।’
बढ्दो प्रविधिको प्रयोगसँगै पुराना व्यापार व्यवासाय लोप हुन लागेका छन् म्याग्दी उद्योग वाणिन्य संघका अध्यक्ष बेलबहादुर कटुवाल भन्नुहुन्छ समय अनुसार व्यवसायी पनि चल्न सक्नुपर्छ ।