जागरणका १७ वर्षः समाज, सुशासन र समृद्धिको सारथि

प्रकाशकीय:
जागरण बिना न त समाज बन्छ, न देश । जागरण बिना न परिवर्तन सम्भव छ, न यसको दिगो व्यवस्थापन । जनजागरण, शिक्षा, चेतना, विवेक सहितको समाज बल्ल सभ्य बन्छ । यो समाज र देशको आवश्यकता हो । यही आवश्यकतालाई बोध गरेर नेपाली पत्रकारिता मार्फत समाजलाई जागरुक बनाउने अभिप्रायले जन्मिएको हो धौलागिरी जागरण । समाज र समयको एक अपरिहार्य आवाजका रुपमा जन्मिएको जागरण अरु पत्रिका भन्दा केही भिन्न सोच सहित जन्मिएको हो । जसको दीर्घायुका लागि कुनै व्यक्ति विशेष भन्दा माथि उठेर सञ्चार सहकारीको नयाँ अवधारणा ल्याइयो । जुन धौलागिरीमै पहिलो सोच र अभ्यास थियो ।

समाजमा गतिशील समयसँगै अघि बढ्न पत्रकारिताको जरुर आवश्यकता र भूमिका थियो । यसले साढे एक दशक बढीको आफ्नो अनवरत यात्रामा एक सूचना वाहकको भूमिका मात्र निर्वाह गरेको छैन, समाजको सच्चा पहरेदारको रुपमा खराब पात्र र प्रवृत्तिका विरुद्ध निरन्तर रखबारी गर्ने काम गरिरहेको छ । धौलागिरी हिमालको काख र आँगनमा रहेका ठाउँहरु हुन् या पहाडका फेद र सम्मुखमा रहेका दुरदराजका गाउँहरु हुन् । दुरसम्मको आवाज आम सञ्चार माध्यममा ल्याउन अनवरत प्रयास जारी राख्यो र राखिराख्नेछ । जहाँ सञ्चार माध्यमको सबलीकरणको अभावमा व्यक्ति विशेषले मिडिया सञ्चालन गर्ने र कुनै मिसन पुरा गरे पछि बन्द हुने बिडम्बनापूर्ण अवस्था बिद्यमान भएका बेला धौलागिरी जागरण दैनिक आदर्श सञ्चार सहकारी संस्था मार्फत् प्रकाशित हुन थाल्यो । २०६३ फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको धौलागिरी जागरण २०६५ जेठ १ गते यता निरन्तर दैनिक पत्रिकाका रुपमा प्रकाशित छ । यो प्रकाशन गर्दाका आदर्शका मुख्यतः दुई वटा सुरुवाति सञ्चार आयाम र अभ्यास थिए । एक त पत्रिका मार्फत भिन्न शैली र स्वादमा समाचार दिने । अर्को महत्वपूर्ण विषय कुनै व्यक्ति विशेषमा मात्र निहित नभई संस्थागत रुपमा निःसन्देह सूचना समाचार प्रवाह गर्ने । सुरुवातमा ‘आजको समाचार आजै’ भन्ने उद्घोष सहित प्रकाशित धौलागिरी जागरण डिजिटल पत्रकारिताको अभ्यास आरम्भ संगै बदलिएका पाठकका चाहना, भावना र आवश्यकता अनुसार दैनिक फरक स्वाद र शैलीमा आफ्नो भूमिकालाई समय सापेक्ष बदल्दै आएको छ । सीमित स्रोत साधनका बाबजुद पनि यस पत्रिकाले धौलागिरी क्षेत्रमा सन्तुलित र सशक्त आवाज उठाएकै कारण प्रेस काउन्सिलमा ‘क’ वर्गमा स्थापित छ । सुरुवातमा संस्थागत रुपमा प्रकाशन आरम्भ गर्दा नै यसको निरन्तरतामा प्रश्न र संशयपूर्ण अवस्थाको सामना गरेको विगतलाई आशा, विश्वास र भरोसामा बदलेर आजको गर्विलो क्षणमा आइपुगेका हौ । जागरण यात्रा १६ वर्ष पुरा गरेर १७ औं वर्षमा प्रवेश गर्दै गर्दा त्यो सुरुवाती र लामो समयको संशयलाई आदर्श सञ्चार, जागरणकर्मीको कर्मले गलत सावित मात्रै गरेको छैन, भोलीको भविष्य समेत भरोसा योग्य बनाउने प्रशस्त आधार खडा गरेको छ ।

इतिहासका कठिन दिनहरुमा पनि धौलागिरी जागरण दैनिक आफ्नो समय सापेक्ष भूमिकाबाट कत्ति बिचलित भएन । आफ्ना पाठकलाई सही समयमा सही सूचना र नागरिकको हक अधिकारका लागि पत्रकारिता मार्फत अविछिन्न समर्पित रहिरह्यो, रहिरहनेछ । यसक्रममा आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक मात्रै होइन, सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, समन्वयी सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजन र डिजिटल सञ्चार माध्यमका रुपमा पछिल्लो समय लोकप्रियता हासिल गरिरहेको अनलाइनमा आदर्श सञ्चार डट कम सञ्चालित छ । आजको दिनसम्म आइपुग्न धौलागिरी जागरण दैनिकले कैयन अप्ठ्यारा जंघार पार गर्नु परेको छ । सत्य पस्कदा कैयन धाकधम्की, रवाफहरुको सामना गर्नुपरेको छ । तर, हामी हाम्रा प्रिय पाठक र आम नागरिक प्रतिको सामाजिक उत्तरदायित्व बहन गर्ने भूमिकाबाट बिचलित नहुँदा प्राप्त प्रेम, सद्भाव र विश्वास अभूतपूर्व छ ।

अनेकन विवाद, आरोप प्रत्यारोपका घटना र विषयमा पनि पत्रकारिताको सत्य, तथ्य, सन्तुलित भावनाको मर्म र मूल्य मान्यतालाई कहिल्यै मर्न दिएनौ र भोलिका दिनमा पनि दिने छैनौ । नागरिक र समाजको एक असल र सशक्त सञ्चारको सारथीको रुपमा धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार रहिरहनेछ । १६ वर्ष सम्म अनवरत साथ, सहयोग, मार्गदर्शन, सल्लाह, सुझाव दिनु हुने प्रिय पाठक, आदर्श सञ्चार सहकारीका सञ्चालक, कर्मचारी, आवद्ध शेयर सदस्य, कर्मचारी, समाचार शाखामा कार्यरत पत्रकार सञ्चारकर्मी, विज्ञापनदाता, शुभेच्छुकको भूमिका स्मरणीय छ । यसप्रति धौलागिरी जागरण दैनिक परिवार कृतज्ञ छ । जागरणको गर्विलो विगतका जगमा आगामी दिनमा समेत समाज र समृद्धिका लागि सवल र सक्षम सञ्चार गृहका रुपमा आदर्श सञ्चारलाई स्थापित गराउँदै धौलागिरी जागरण दैनिक र यस सम्बद्ध मिडियालाई समाजमा रुपान्तरणको एक असली हिस्सेदार बन्ने बनाउने मूल लक्ष्यमा हामी निरन्तर प्रतिवद्ध रहि रहनेछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *