वर्षेनी बढ्दै ढोरपाटनमा पर्यटक


आदर्श अनलाइन, बागलुङ

यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन अन्तिमसाता सम्म ९ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरु ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षको तथ्याङकले देखाएको छ ।

नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्यामा वर्षेनी वृद्धि हुँदै आएको छ । ढोरपाटन क्षेत्रमा वर्षेनी पर्यटकहरुको संख्यामा बृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजश्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकहरुको आगमनको तथ्याङ्कलाई व्यवस्थित गराउदै लगेको छ । गत आर्थिक वर्षमा ६ हजार बढीले ढोरपाटनको अवलोकन गरेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ ।

ढोरपाटन शिकार आरक्षको तथ्याङ्कलाई हेर्ने हो भने आरक्ष अवलोकनका लागि आउने पर्यटकहको संख्यामा वृद्धि भएको पाइएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकोमा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकना लागि समेत पर्यटकहरु आउने गरेका छन् ।

विदशी शिकारीहरु शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्नेगरेपनि सडकको पहुँच, होटल सुबिधा तथा प्रचार प्रसार संगै आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नका लागि समेत त्यहाँ पुग्न थालेका छन् । वैधानिक रुपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकहरुले प्रवेश शुल्क बुझाउनुपर्ने आरक्षको नियम अनुसार पछिल्लो समय ढोरपाटन घुम्न आउने पर्यटकहरुको संख्यामा क्रमश उकालो लागेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पंगेनीले बताउनुभयो ।

पंगेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकहरुको मात्रै रेकर्ड राख्दे आएकोमा दुई वर्ष देखि स्वदेशी र विदेशी दुबैको रेकर्ड राख्दै आएको बताउनुभयो । उहाँले विदेशी पर्यटकहरुलाई प्रवेशशुल्क नियम अनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति रु. एक सय रहेको बताउनुभयो । “पछिल्लो समय आन्तरिक र बाह्य दुबै पर्यटकहरुको संख्यामा वृद्धि भएको छ, खासमा आर्थिक वर्ष २०७७/७८ देखि नेपाली पर्यटकहरुको संख्याको समेत रेकर्ड राखिएको छ, उक्त आर्थिक वर्षमा ६ हजार ७०३ स्वदेशी र विदेशी पर्यटकहरु आरक्ष क्षेत्रमा आएका थिए भने चालु आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ९१९ जना पर्यटकहरु शिकार आरक्ष क्षेत्रमा आइसकेका छन्” पंगेनीले भन्नुभयो, “चालु आर्थिक वर्षको अन्तिम तीन महिनामा पर्यटकहरुको संख्यामा वृद्धि भएर यो वर्ष १२ हजारको हाराहारीमा पुग्ने अनुमान गरेका छौं ।”

ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरुले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आर्थिक वर्ष २०७७/०७८ आन्तरिक पर्यटकहरुले समेत रु.१०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकरुको समेत रेकर्ड राख्दै आएको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा, ०७३/०७४ मा १३९ विदेशी पर्यटक, ०७४/०७५मा ११९ विदेशी पर्यटक, ०७५/०७६ मा ४८० विदेशी पर्यटक र २०७६/०७७ मा ३२० विदेशी पर्यटक आएकोमा २०७७/०७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको र चालु आर्थिक वर्षको फागुन अन्तिम साता सम्म ९ हजार ९१९ स्वदेशी तथा विदेशी पर्यटकहरु आरक्षको अवलोकनका लागि आएको ढोरपाटन शिकार आरक्षको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै ढोरपाटन आउने पर्यटकहरुको संख्यामा वृद्धि भएसंगै राजश्वमा समेत उल्लेख्य वृद्धि भएको छ । आरक्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा ४ लाख १० हजार राजश्व पर्यटकहरुबाट संकलन गरिएकोमा चालु आर्थिक वर्षमा आइसक्दा राजश्व रकम्ममा उल्लेख्य वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ६ लाख ६८ हजार राजश्व संकलन गरेको आरक्षले आर्थिक वर्ष २०७७/७८ मा २० लाख २२ हजार राजश्व संकलन गरेको थियो । यस्तै चालु आर्थिक वर्षको फागसन अन्तिम सातासम्म आरक्षले पर्यापर्यटकहरुबाट रु. २२ लाख १९ हजार ८८० राजश्व संकलन गरिसकेको छ ।

शिकार खेल्नका लागि बुझाएको राजश्व भने सिधै बन्यजन्तु विभागमा जम्मा हुने आरक्ष कार्यालयले जनाएको छ । ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।नाउर र झारलको बैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकहरुले लाखौं खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकहरुले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् ।

हरीयाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकहरुलाई नलोभ्याउने कुरै छैन । अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी मात्रमा पुग्ने गरेको छ । तर पुष माघको बाक्लो हिमपात र साउन भदौमा भारी वर्षा हुँदा बाहेक अघि पछि पर्यटकहरुको अभाव भने ढोरपाटनलाई पर्दैन । तर यस पटक भने ढोरपाटनमा हिमपात नहुँदा पर्यटकहरुको आगमनमा अवरोध नखाएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालक राम बहादुर घर्तीमगरले बताउनुभयो । “हिमपात हुँदा त यहाँ पर्यटकहरुको आगमन ठप्प हुन्छ, अहिले हिमपात नभएकाले पर्यटकहरुको आगमन राम्रो छ” घर्तीमगरले भन्नुभयो “ढोरपाटनमा शिकार खेल्न विदेशी पर्यटकहरु आएपनि घुम्नका लागि भने नेपाली पर्यटकहरु धेरै आउने गरेका छन् ।”

उहाँले यस वर्ष ढोरपाटनमा हिमपात नभएको बताउदै हिमपातका कारण रोकिने पर्यटकहरुलाई भने सहज बनाएको बताउनुभयो । २०४४ सालबाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशक यता मात्रै सड सञ्जालको विस्तार संगै आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।

बागलुङ, म्याग्दी र पूर्वी रुकुम सम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी २१ वटा साना ठूला होटल तथा घरबासहरु सञ्चालनमा आएका छन् ।

शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टर मार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष कार्यालय क्षेत्र रहेको उपत्यका घुम्न आउने गरेका छन् । पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा पछिल्लो समय घोडा सफारी र होटल व्यवसाय समेत फष्ठाउदै गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *