उद्यमी सदस्यसँग आदर्श संवाद : चर्चित कृषी गाउँकी ‘गुमनाम लक्ष्मी’

सिर्जना पन्त, बागलुङ
बागलुङ बजार नजिकैको चर्चित ‘कृषी गाउँ’ । ‘विजुली पावरहाउस’ नामलाई बदलेर ‘कृषी गाउँ’ बनाउन लोकसेवा लड्ने र सरकारी जागिर खाने सपनालाई बाकसमा बन्द गर्ने व्यक्ति हुन् त्यही गाउँकी लक्ष्मी पुन थापा ।


स्नातक तह उत्र्तिण गरेकी लक्ष्मीको बाकसमा अहिले पनि शिक्षक सेवा आयोगबाट प्राप्त गरेको निमावी तहको अध्यापन अनुमतिपत्र छ ।

२०४० सालमा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा विहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सपल रहेका पैयुँथन्थापका गंगाबहादुर थापासँग विहे हुँदा लक्ष्मीको सर्त थियो एस.एल.सी.सम्म माइतै बसेर पढ्ने । गंगाबहादुर र उहाँको परिवारले सर्त मञ्जुर गर्नुभयो र पालना पनि ।

लक्ष्मी र गंगाबहादुरको विहे भएको केही समयमै देशमा शसत्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका श्रीमान गंगाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाल्नुभएको थियो ।

एस.एल.सीको परिक्षा दिएर श्रीमानको घर गएकी लक्ष्मी हरेक विहान नतिजा प्रकाशन भएको समाचार सुन्न ७ बजे रेडियो खोल्नुहुन्थ्यो । लक्ष्मीले रेडियोबाट एस.एल.सीको नतिजा प्रकाशन भएको समाचार सुन्नुभयो तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमानले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो ।

लक्ष्मीका श्रीमानले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नको लागि तयार भएर बस्नु भनेर लेख्नुभएको थियो ।

त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन्, तर पास भने आफु र आफ्ना देवरमात्र भएको सम्झना छ । केही दिनपछि लक्ष्मी र उहाँका देवरलाई लिन गंगाबहादुर घर पुग्नुभयो । प्लस टु पढन लक्ष्मी श्रीमानसँग कुश्मिसेरा आउनुभयो । त्यो समयमा लक्ष्मीका श्रीमानले ४० हजार रुपैयाँ लगानी गरेर कुखुरा पाल्न सुरु गर्नुभएको थियो ।

प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्मदिनुभयो । हुर्केका कुखुरा, बारीमा फलेको तरकारी द्वन्द्वको समय, सानो ठाउँ विक्रि भएन् । त्यसपछि लक्ष्मी ९ महिनाको छोरा काखमा च्यापेर श्रीमान सहित बागलुङ बजार आउनुभयो । परिवार सहित सदरमुकाम आएपछि लक्ष्मी र गंगाले बागलुङ नगरपालिका–३ स्थित विजुली पावरहाउस नजिकै ८ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गर्नुभयो ।

श्रीमानले रोजेको कृषि कर्ममा सहयोग गर्दै, छोराको हेरचाहा गर्दै लक्ष्मीले स्नातक तह पनि उत्र्तिण गर्नुभयो । कृषक परिवारबाट हुर्किएका गंगाबहादुरको लगाव माटोमै बढ्दै गयो । परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरुलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो ।

आफु सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमानले लिएको लक्ष्य प्राप्त गर्न कठिनाई हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनि माटोसँगै लड्न थाल्नुभयो ।

देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान गंगाबहादुर नेपालकै पहिलो पटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकोमा लक्ष्मीलाई सबैभन्दा ठुलो खुसी छ ।
श्रीमानलाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङ मात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्नुहुन्छ । ‘डोकामा च्याउका पोका पारेर पर्वत पुगे, म्याग्दीको बेनी पुगे, बागलुङ बजारमै ठेलामा डुलाई डुलाई बेचें,’ लक्ष्मी भन्नुहुन्छ ‘परिवारको खुसी नै सबैभन्दा ठुलो सन्तुष्टी हो ।’

छोराको नामबाट राहुल कृषि फर्म दर्ता गरेर लक्ष्मी र गंगाबहादुरले च्याउ खेती, तरकारीका विरुवा, फलफुलका विरुवा समेत उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय गंगाबहादुर गाउँ गाउँमा कृषकलाई कृषी तालीम प्रदान गर्न हिड्नुहुन्छ । फर्ममा लक्ष्मीका देवर देउरानी हुनुहन्छ । लक्ष्मी भने आफ्नो फर्ममा मात्र होइन जिल्लाका अन्य कृषकहरुले उत्पादन गरेका फलफुल तरकारी बेच्न किसान मार्ट सञ्चालन गरेर बस्नुभएको छ ।

कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोली सपना मात्र फेरिएको छैन, फेरिएको सपना पुरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ ।

म्याग्दीको भकिम्लीमा लक्ष्मीको किवी फर्म छ । उहाँको नर्सरीमा तरकारीका मात्र होइन, किवी, ड्रागन फ्रुष्टका विरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फुलका विरुवा उत्पादन गर्ने योजना छ ।

लक्ष्मी र गंगाबहादुरले विजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यसक्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरुमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषी गाउँ बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *