पारिश्रमिक नपाएको भन्दै स्वास्थ्यकर्मीद्वारा भिडियो एक्सरे सेवा बन्द

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी अस्पतालका मेडिकल अधिकृतले पारिश्रमिक नपाएको भन्दै भिडियो एक्सरे सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

तोके भन्दा बढी काम लगाएर पनि पारिश्रमिक नदिएको भन्दै मेडिकल अधिकृतहरुले भिडियो एक्सरे सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

पटक पटक मौखिक तथा लिखित रूपमै पनि जानकारी गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभए पछि सेवा बन्द गरिएको डाक्टरहरूको भनाई छ । युएसजी गर्ने कोठाको ढोका खुल्ला छ, मेसीन तयारी अवस्थामा छ र डिस्प्ले हुने मोनीटर पनि खुल्ला भए पनि सेवा दिने अफिसर भने छैनन् । भिडियो एक्सरे कोठा कार्यालय सहयोगीले कुरेर बसेका छन् । बिरामी आए एक्सरे हुँदैन भनेर फर्काउने गरेका छन् ।

अस्पतालको एक्सरे सेवा बन्द हुँदा आफ्नी १६ महिने भतिजीको उपचार प्रभावित भएको म्याग्दीको मुनाकी गंगाले बताउनुभयो । ‘डाक्टरले एक्सरे गर्नुस भन्छन्, एक्सरे गर्ने ठाउँमा कोही छैनन्, गंगाले भन्नुभयो बिल पनि काटिदिएनन् ।’

उहाँ जस्तै अघिल्लो दिन देखि नै भिडियो एक्सरेका लागि पर्खिएका विरामीहरुले पनि एक्सरे गर्न पाएका छैनन् । स्वास्थ्यकर्मीलाई मनाउने र विरामीको उपचार सहज बनाउन तर्फ अस्पताल व्यवस्थापन समिति र प्रशासन सवेदनशिल नभएको विरामीको गुनासो छ ।

बेनी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूले आफूहरूले नियम अनुसार महिनामा १ सय ६० घण्टा ड्युटी गर्नु पर्ने भए पनि ३ सय घण्टा भन्दा बढी समय ड्युटी गर्दा पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । मेडिकल अधिकृतहरुले पटक पटक जानकारी गराउँदा पनि ड्युटी लगाउने पारिश्रमिक नदिए पछि बाध्य भएर भिडियो एक्सरे सेवा बन्द गरेको बताएका छन् ।

बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट शंकर राज लामिछानेले पारिश्रमिक पाएको बताउनुभयो । ‘उहाँहरु पारिश्रमिक भन्दा बढीको अपेक्षा गर्नुभएको छ,’ लामिछानेले भन्नुभयो, ‘हामी छलफल गरेर चाँडै सेवा सुरू गर्ने तयारीमा छौं ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालमा सेवा अवरूद्धका बिषयमा आफूलाई जानकारी नआएको र आफू अस्पताल पुगेर त्यसबारेमा बुझ्ने बताउनुभयो ।

बेनी अस्पतालमा दैनिक ३० भन्दा बढी बिरामीहरूले भिडियो एक्सरे सेवा लिने गरेको अस्पतालको तथ्याङ्कले देखाउँछ । आइतबारको दिनमा ६० भन्दा माथि पुग्ने भए पनि अन्य दिनमा ३० देखि ४० जनाले यो सुविधा लिने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *