सदस्यको बचत लगानीमा छ, ढुक्क हुनु व्यक्तिगत सम्पत्ति बिक्री गरेर भए पनि फिर्ता गर्छु : देव कुमार नेपाली

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द गरेको छ । तरलताको अभावमा सहकारी बन्दभएपछि बचतकर्ताहरुले बचत डुब्ने आशंका गरेका छन् । सहकारीका कार्यवाहक अध्यक्ष डोर बहादुर परियारद्वारा हस्ताक्षरित सूचनामा बैशाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विद्यमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सूचना मार्फत जानकारी दिएपछि बचत कर्ताहरु सशंकित भएका छन् ।

तर सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले सहकारीमा ५० प्रतिशत रकम तरलता राख्दा समेत धान्न गाह्रो भएको बताउनुभयो । “एकै पटक शेयर सदस्य रकम फिर्ता गर्न आएका कारण समस्या भएको हो, यसरी एकैचोटी बचत फिर्ता लिन आउदा कुनै वित्तीय संस्थाले दिन सक्दैन, सदस्यको रकम सहकारीमा राख्ने कुरा हैन, सदस्यहरुमा ऋण लगानी गर्ने हो, अहिले लगानी उठ्ने वातावरण छैन, तर सदस्यहरुले फिर्ता माग्न आएपछि नदिने भन्ने हुदैन” नेपालीले भन्नुभयो “मैले जन्माएको संस्थाको पुरै जिम्मा मैले लिन्छु, मेरो व्यक्तिगत सम्पती बिक्री गरेर भएपनि बचत कर्ताले आफ्नो रकम पाउनुहुन्छ ।”

जनताले सहकारीमा विश्वास गरेर राखेको रकम केही सहकारी डुबेको हवला दिदै सबैले फिर्ता माग्न आउदा समस्या भएको नेपालीको भनाई छ । “सबै बचत कर्ता एकै पटक लाइन बस्दा त दिन सकिदैन, उहाँहरुको रकम लगानीमा छ, लगानी नउठ्दै उहाँहरुलाई आवश्यक हो भने संस्थाको चल–अचल सम्पती र नपुगे मेरो व्यक्तिगत सम्पती बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्छु” नेपालीले आदर्श अनलाइनसंग कुरा गर्दै भन्नुभयो “सहकारी क्षेत्रलाई धरासायी बनाउन गिरोह लागेको छ, हाल सम्म खुद नाफा कमाउदै आएको सहकारी कसरी डुब्छ, बचतकर्ताले धैर्य गर्न आवश्यक छ, सबैको बचत फिर्ता हुन्छ ।”

शेयर सदस्य वचतकर्ताहरुले हामीलाई विश्वास गरेर रकम वचत गर्नु भएको हो, यहाँहरुको विश्वासमा केही समस्या आएको साचो हो, तर हामीले यहाँहरुको विश्वास डगमगाउन दिदैनौ, ढुक्क हुनुस, हजुरहरुको वचत डुब्दैन, जसरी पनि फिर्ता गर्छौ, नेपालीले वचतकर्ताहरुलाई अनुरोध गर्नु भएको छ ।

लामो समय सहकारी संस्थाको अध्यक्ष रहनुभएको नेपालीले ढोरपाटन नगरपालिकाको नगर प्रमुख भइरहदा आफूले समय व्यवस्थापन गर्न समस्या भएपछि कार्यवाहक अध्यक्षलाई सहकारीको जिम्मा दिएको बताउनुभयो ।

सहकारीले यो साता मात्रै सात करोड रुपैयाँ एकैपटक सहकारीबाट बचत फिर्ता भएकाले तरलता अभाव भएको स्वीकार गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४५ लाख खुद मुनाफा गरेको सहकारीको रु.१ अर्ब १४ करोड ५८ लाख ६२ हजार रुपैयाँको कुल सम्पत्ती रहेको छ । सहकारीले सदस्यको बचत सदस्यमै लगानी भएकाले बचत कर्तालाई ढुक्क हुन आग्रह गरेको छ ।

यसैबीच संस्थाको सञ्चालक समितिका तर्फबाट एक प्रतिवद्धता जारी गर्दै शेयर सदस्य वचतकर्ताहरुको रकम फिर्ता गरिने भएकाले ढुक्क हुन अनुरोध गरिएको छ । संस्थाको चल अचल सम्पत्ती तथा व्यक्तिगत सम्पत्ती समेत विक्री वितरण गरेर भएपनि वचत फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आव्हान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *