भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्तको स्मृतिमा पुरस्कार कोष स्थापना

प्रेम छोटा


आदिकवि भानुभक्त पूर्वका पुराना कविहरु विष्णुदास आचार्य, सुवानन्ददास, शक्ति बल्लभ अर्याल, इन्दिरस, बसन्त शर्मा, रघुनाथ भट्ट, यदुनाथ पोखरेल, विद्यानन्दकेशरी, उदयानन्द अर्याल, हीनव्याकरणी विद्यापति, वीरशाली पन्त, गुमानी पन्त र लक्ष्मीपति आदि पर्दछन् । यी पुराना कविहरुमा वीरशाली पन्तको नाम नसुन्ने वाङमयसेवीहरु कमै होलान् । तर उनका बारेमा चासो राख्ने पहिलो व्यक्ति इतिहासशिरोमणी बाबुराम आचार्य नै हुन् । यद्यपी नेपाली साहित्य र साहित्यकारहरुका सम्बन्धमा खोजी गरी तिनलाई प्रकाशमा ल्याउने जस्तो उच्च कार्य नेपाली साहित्यको इतिहासमा सर्वप्रथम माध्यमिककालका युवा कवि मोतिराम भट्टद्वारा थालनी भएको देखिन्छ । तापनि उनको खोजीमा न वीरशाली पन्तको नाम पाइन्छ, न प्रमेनिधि पन्तको नै । साच्चै भन्ने हो भने बागलुङका यी दुईजना कवि राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खालका मानिन्छन् ।

त्यस सम्बन्धमा इतिहास शिरोमणी बाबुराम आचार्यले जग बसालेको चौतारीमा वरिष्ठ इतिहासविद् सूर्यविक्रम ज्ञवाली र वेदान्तचार्य डा.स्वामी प्रपन्नाचार्यले इँटा थपिदिने काम गर्नु भएको पाइन्छ । यी विशिष्ट विद्वानहरुको अनुसन्धानबाट वीरशाली पन्तका बारेमा थाहा पाउन एउटा बलियो आधारशिला निर्माण भएको छ । वीरशाली पन्तका सम्बन्धमा अधिकांश उत्तरवर्ती अनुसन्धित्सुहरु अद्यावधी बाबुराम आचार्यकै विचारधारामा केन्द्रीत रहेका पाइएका छन् ।

साविक धवलागिरी अञ्चल, बागलुङ जिल्लाको सेरोफेरोमा बस्ने पन्तहरु मूल रुपमा चार हाँगामा बाँडिएका छन्, वसु पन्त, नाथु पन्त, भगी पन्त र सरम पन्त । यी चारथरी पन्तका पूर्वजहरु कुमाउँतिरका हुन् । हाम्रा पुराना कवि प्रेमनिधि पन्त पनि कुमाउँमै जन्मेका हुन् भन्ने कुरा प्रेमनिधि स्वय र सुकृतिदत्त पन्तले उल्लेख गरेका छन् । कुमाउँगढबाट आएका प्रेमनिधि पन्तले आफ्नो समग्र जीवन बागलुङमै विताए तापनि अन्तिम समयमा उनी काशीवासी भएका थिए ।

पन्तहरुका पूर्वजहरुको खोजीका क्रममा कुमाउँका रमापति पन्त र उमापति पन्त, यी दुई विद्वानहरु नेपालको उत्तरी क्षेत्र मुस्ताङ जिल्लामा अवस्थित मुुक्तिनाथको दर्शन गरी फर्कदा कृष्णगण्डकीको किनारैकिनार हुदै बागलुङ बजारबाट पूर्वतिर बगिरहेको कालीगण्डकीको दायातर्फको निरहे (निर्णयघाट) भन्ने ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण देखी सो ठाउँमा बस्न मन परेको हुँदा विक्रमको सोह्रौ शताब्दीका तत्कालिन राजा मलयवम मल्लका पिता र स्वयं मलयवम मल्लले आश्रमका निम्ति तिनीहरुलाई अनुमति प्रदान गरेका थिए । यसै कार्यबाट त्यस बेलाका शासकहरुमा विद्वान, कवि, लेखकहरुको यथेष्ट कदर र सम्मान हुने गरेको बुझिन्छ ।

उक्त चारथरीका पन्तहरुमा ‘सरस’ पन्तका सन्तानहरु पर्वत जिल्लाको लिमिठाना र फलेवास, भगी पन्त र वसु पन्तका सन्तानहरु बागलुङ जिल्लाको मूलपानी, गैह्रागाउँ, ढिकीचौरमा बसोबास गरेको पाइन्छ । भगी पन्तको हाँगामा वेदान्तका प्रकाण्ड विद्वान एवं यशस्वी कवि वीरशाली पन्त जन्मेका हुन् । गलकोटे राजगुरु पं.काशीराज पन्त समेत भगी पन्तका सन्तान थिए ।

वीरशाली पन्तका सम्बन्धमा भगीरथ पन्तका छोरा गौरीश्वर पन्त, गौरीश्वरका छोरा महेश्वर पन्त, महेश्वरका छोरा धरणीधर, दाताराम, त्रिलोचन, दयाराम र हर्षदेव पन्त, यी पाँच भाईहरुमा काँहिला दयाराम पन्तका छोरा वीरशाली पन्त बागलुङ मूलपानी गैह्रागाउँ ढिकीचौरमा जन्मेका थिए भन्ने कुरा बागलुङ बलेवास्थित लक्ष्मीनारायणमन्दिरको शिलालेख र घण्टामा कुँदिएको पन्तहरुको वंशावलीको सुत्र र इतिहासको सङ्केत भेटिएको छ । यस्तै बागलुङ जिल्लामै कालीगण्डकीको तटमा अवस्थित लक्ष्मीनारायण मन्दिरको उल्लिखित शिलापत्र र यस पंक्तिकारलाई प्राप्त भगी पन्तको वंशावलीमा सो बारे स्पष्ट उल्लेख गरेको पाइन्छ । यसरी नै वीरशाली पन्त स्वयंले ऋण लिई जमानी बसेको कागजी हस्ताक्षर पाइएको छ ।

वीरशाली पन्तको काव्यात्मक व्यक्तित्वबारे सोधखोज गर्दा वीरशाली पन्तको वीरशाली पन्तकृत ‘सरस प्रेमावली’ वा ‘श्रीकृष्ण चरित्र’ १२००० श्लोकको महाकाव्य (६ हजार संस्कृतमा, ६ हजार नेपलीमा भएको) को एक तृतियांश बालकृष्ण सम, एक तृतियांश ढुण्डीराज शर्मा (गुल्मी) र अर्को तृतियांश उनकै खलकका पनाति शि.उदयराज पन्तका अनुसार उनैसंग छ भनि बालकृष्ण नेभा, शास्त्रदत्त पन्तको सहलेखनमा पाइन्छ । हालसम्म चर्चाका विषय बन्न पुगेका ‘गोपिका स्तुति’ र ‘द्रोपदी विलाप’ नामक दुई कृति वीरशाली पन्तले लेखेका हुन् । भनि स्व.सूर्यविक्रम ज्ञवालीको भनाई छ तापनि उहाँले कुनै ठोस प्रमाण दिनु भएको छैन । प्रसिद्ध भाषाविद् प्रा.बालकृष्ण पोखरेलले फेला पारेका साढे अठासी ‘श्लोक वीरशाली पन्तको हस्ताक्षरबाट लेखिएको विमलवोधानुभव’ मौलिक ग्रन्थ यसको ठोस आधार हो, जुन हस्तलिखित ग्रन्थ मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ ।

उनको सन्तानहरुका अनुसार श्री ५ राजेन्द्रविक्रमको राज्यकालमा उनलाई राजदरवारमा झिकाइएको थियो र त्यही आएपछि मात्र यिनले भक्तिरसका कविता रचेका हुन् । ‘राजेन्द्रशतक’ नामले एउटा स्तुतिकाव्य पनि वीरशाली पन्तले रचेको सुनिन्छ भन्ने विचार प्रा.ठाकुर प्रसाद पराजुलीको भनाईमा पाइन्छ । यसका अतिरिक्त वीरशाली पन्तको नेपालमा मात्र होइन, भारतमा पनि यक्षकृति फैलिएको थियो । वृन्दावनकलाधारी पण्डित रेवतीमरण खुलालसंग वीरशाली पन्तकृत ‘ब्रह्मतत्व मिमासा’, ‘भक्तिस्वरुपम्’ र ‘स्वरुपसिद्धान्तमुक्तावली’ भन्ने तीनवटा ग्रन्थ र अद्वैत, द्वैत र अन्य दर्शनलाई मीमांशामा अँगालेर विशिष्टाद्वैतका रुपमा लिएको ग्रन्थ भएको बुझिएको छ ।

वीरशाली पन्त विशिष्ट अद्वैतवादी कवि भएको कुरा ‘भक्तिस्वरुपम्’ बाहेक उनका वाणोपनिषद तम्घास गुल्मीका शशी पन्थीसित छ भन्ने कुरा बुझिन आएको छ तर खोज्न बाँकी नै छ । एकातिर उनका यी ग्रन्थहरुले र अर्कोतिर स्वरुपसिद्धान्तमुक्तावली जस ग्रन्थ लगायत अन्य ग्रन्थहरुमा विभिन्न छन्द तथा अलङ्कारयुक्त पद्यात्मक ग्रन्थहरु निकै परिष्कृत र विद्वतापूर्ण ग्रन्थ छन्, भनि डा. प्रपन्नाचार्यले सिद्ध गरेका छन् । वीरशाली पन्त संस्कृतका विद्वान भएर पनि संस्कृतमा भन्दा नेपालीमा उनका कृतिहरु धेरै छन् तर सबै अनुसन्धानकै गर्भमा छन भन्ने स्वयं डा.प्रपन्नाचार्यको भनाइ पाइन्छ ।

वीरशाली पन्तका सम्बन्धमा उदेकलाग्दा दैवी घटनामा आधारित रहस्यमय जनश्रुति पनि सुन्न पाइन्छन् । उनी अध्यात्मवादी भएकाले त्यस बेलाका भुर्रेवावा ज्योतिमुनिबाट दिक्षित भई पछि कृष्णभक्त वेदान्तवादी भनेको र तत्पश्चात शेष जीवन भारतको वृन्दावनमा बिताएको इतिहास साक्षी छ ।

यस्ता सिर्जनशिल स्रष्टा, महात्मा, योगी, तपस्वी र सिद्ध पुरुष वीरशाली पन्त आज मिथक जस्तै भएका छन् । यद्यपी प्राचिन नेपाली साहित्यको प्राथमिककालका रमापति, उमापति, हरिराम, शिवराम, प्रेमनिधि पन्त, देवीदत्त पन्त, वीरशाली पन्त र सुकृतिदत्त पन्त आदी यशस्वी विद्वान कवि लेखकहरु गौरवशाली विभूति मानिन्छन् । तिनीहरु मध्ये समग्रमा वीरशाली पन्तका बारेमा भन्नुपर्दा माथि उल्लिखित आधारमा बौद्धिक चिन्तक र भाषा वाङ्मयको प्राचिन परम्परापछि सिर्जनात्मक साहित्यको जग बसाल्ने र नेपाली साहित्यको इतिहासलाई सबैभन्दा बढी चम्काउने वीरशाली पन्त नेपालका आदिकवि हुन् ।

करिव २५० वर्ष अघिका यस्ता यशस्वी तथा पुराना कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाद्वारा अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोष सञ्चालनका लागि प्रेम छोटाको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उप.प्रा.हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोविन्द पन्त तथा सदस्यहरुमा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ र ज्ञानेन्द्र पन्त रहनु भएको छ ।

बागलुङ नगरपालिकाबाट अक्षयकोषका लागि ५ लाख रुपैयाँ रकम कोषको नाममा जम्मा भएको छ । उक्त कोषबाट हरेक वर्ष भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई वीरशाली पन्त स्मृति गौरवमय पुरस्कारका रुपमा नगद २५ हजार, दोसल्ला र सम्मानपत्रद्वारा निकट भविष्यमा उक्त पुरस्कार प्रदान गरिनेछ । पहिलो पटक प्रदान गरिने पुरस्कारका लागि बागलुङ नगरपालिकाबाट आवश्यक रकम उपलब्ध गरिने छ भने कोषको प्रमुख संरक्षकमा बागलुङ नगरपालिका रहने प्रावधान रहकेो छ । अस्तु

यो पनि पढ्नुहोस्