सिर्जना पन्त, बागलुङ
विद्यार्थीले पानी पिउँदा धारामा लगाएको सकेट हराएको भन्दै कुटपिट गर्ने शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको छ ।
बागलुङ नगरपालिका–७ स्थित श्री सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यन गर्दै आएका ८ वर्षीय आविश्कार विकलाई वैशाख १७ गते आइतबार कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका ७ छरिखोला निवासी ४० वर्षीय केशवराज गौतम विरुद्ध १९ गते साँझ प्रहरीमा उजुरी दिएका हुन् ।
वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै बालकलाई कुट्दा टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप छ ।
आरोपित शिक्षकलाई लिन प्रहरी पठाउने तयारी गरिएको भएपनि आफै प्रहरीमा उपस्थित हुने भन्दै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताउनुभयो ।
बालकको वैशाख १८ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ । यस विषयमा मंगलबार दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबिच छलफल भएको थियो ।
शिक्षकले गल्ती स्विकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतीपूर्तीसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अनेत्र सरुवा गर्ने गरि छलफल भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
विद्यार्थी कुट्ने शिक्षक विरुद्ध प्रहरीमा उजुरी
