अन्नपुर्णमा शैक्षिक सामग्री प्रदर्शनी

अमृत बास्कुने, म्याग्दी
शिक्षक, विद्यार्थी र अभिभावकहरुको अन्तरनिहित प्रतिभा पहिचान र प्रचार प्रसार गर्ने उद्देश्यले म्याग्दीको अन्नूर्ण गाउँपालिकाले शैक्षिक सामाग्री प्रदर्शन मेला आयोजना गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा समृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयनको सह–आयोजनामा भएको शैक्षिक सामग्री प्रदर्शनी मेला–२०८० मा गाउँपालिका भित्रका २४ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

आधारभूत विद्यालयबाट सामग्री सहित एक जना शिक्षक, एक जना विद्यालय व्यवस्थापन समितिका सदस्य वा पदाधिकारी तथा दुई जना विद्यार्थी एवम् माध्यमिक विद्यालयबाट चार जना विद्यार्थी, एक शिक्षक र एक जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारी वा सदस्य सहभागी रहेका थिए । गाउँपालिका भित्र रहेका ३६ विद्यालयहरु मध्ये २४ विद्यालयले प्रदर्शनीमा सहभागिता जनाएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विद्यालयककका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुमा भएका फरक फरक प्रकारका क्षमता पहिचान गरेर सिप साझोदार गर्नका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थी अभिावक तथा शिक्षक एवम् कर्मचारीहरुले देखाएको आफ्नो रुचि लगाब र क्षमताको उच्चतम प्रदर्शनले सबैलाई हौसला मिल्ने बताउनु भयो । प्रदर्शनीमा सहभागी हुन आएका विद्यार्थीहरुले बनाएको सामग्रीले गाउँपालिकाकै हौसलाउच्च भएको बताउँदै यस्ता कार्यक्रमहरु निरन्तर अनि फरक फरक तबरले आयोजना गरिने पनि उहाँको भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष दिवा पुनले कुनै पनि कार्यक्रम स्तरीय, उत्कृष्ट अनि दिगोपनका साथ अगाडी बढ्नु पर्ने बताउनुभयो । कार्याक्रम प्रभावकारी भएको र सहभागी सबै बिद्यालयले तयार गरेको सामग्री निकै राम्रो भएको उहाँको भनाई थियो । सबैको प्रयास निकै राम्रो र अतुलनीय छ यसलाई दिगो तबरले नै अगाडी बढाउनु पर्छ र यस्ता कार्यक्रम निरन्तर हुनु पर्छ उहाँको भनाई थियो ।

समृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयनका कार्यकारी निर्देशक कृष्णबहादुर तिलिजा पुन, शैक्षिक तालिम केन्द्र विस्तारीत केन्द्र बेनीका झलक सुवेदी, सामाजिक विकास समितिका संयोजक एवम् अन्नपुर्ण गाउँपालिका २ का अध्यक्ष ओमप्रसाद फगामी, ज्ञानप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक सान्तबहादुर नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रदर्शनीमा माध्यमिक विद्यालय तर्फ प्रभा माध्यमिक विद्यालय नारच्याङ पहिलो, ज्ञानप्रकाश माध्यमिक विद्यालय दाना दोश्रो र सर्वोदय माध्यमिक विद्यालय भुरुङतातोपानीले तेश्रो स्थान हासिल गरेका छन् । माध्यमिक तर्फ पहिलो हुनेले १८ हजार सात सय ५०, दोश्रो हुनेले १२ हजार र तेश्रो हुनेले सात हजार सात सय पचास रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै आधारभुत विद्यालय तर्फ पहिलो ज्योती आधारभुत विद्यालय दाना, दोश्रो नारच्याङ आधारभुत विद्यालय र तेश्रो सरस्वती आधारभुत विद्यालय काभ्रे भएका छन् । आधारभुत तर्फ पहिलो हुनेले १२ हजार पाँच सय, दोश्रो हुनेले आठ हजार सात सय पचास हजार र तेश्रो हुनेले छ हजार दुई सय पचास रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेता विद्यालयहरुलाई नगद सहित र सहभागीलाई सहभागिताको प्रमाणपत्र बितरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कटुवालले बताउनुभयो । प्रदर्शनीको मुल्याङ्कन गाउँपालिका अध्यक्ष भारतकुमार पुनको नेतृत्वको पाँच सदस्यीय टोलीले गरे गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *