इमेज सहकारीका बचतकर्तालाई जाहेरी दर्ता गर्न प्रहरीको आव्हान

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जाहेरी दरखास्त पेश गर्न आव्हान गरेको छ ।

प्रहरी कार्यालयले आइतवार सार्वजनिक सूचना जारी गर्दै मुद्दा दर्ता गरी अनुसन्धान गर्नका लागि जाहेरी दरखास्त पेश गर्न पीडित बचतकर्तालाई आव्हान गरेको हो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले इमेज सहकारीको अनुगमन निरीक्षण गर्दा सहकारी ऐन २०७४ बमोजिमको कसुर गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट देखिएकाले थप अनुसन्धान गरी कार्वाही अगाडि बढाउनका लागि जाहेरी दरखास्त आवश्यक परेको प्रहरीले जनाएको छ ।

इमेज सहकारीको बारेमा आवश्यक अनुसन्धानको लागि सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, सहकारी विभाग नयाँ बानेश्वर काठमाडौंको पत्र केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं मार्फत जिल्ला प्रहरी कार्यालयमा आएको कार्यालयले जनाएको छ ।

इमेज सहकारीमा बचतकर्ता रही बचत रकमको सावा ब्याज फिर्ता नगरेको लगायत ठगी गरेको भए सम्बन्धित कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने प्रयोजनार्थ जाहेरी दरखास्त पेस गर्न आ–आफ्नो नागरिकता, पासबुक लगायत प्रमाणहरुको प्रतिलिपि साथमा लिई जिल्ला प्रहरी कार्यालय बागलुङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालयले पीडित बचतकर्तालाई सूचनामार्फत आव्हान गरेको छ ।

इमेज सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहित इमेज सहकारीका मुख्य व्यक्तिहरु जेठ ४ गतेदेखि सम्पर्क विहिन भएपछि बचतकर्ता समस्यामा परेका छन् ।

बचतकर्ताले प्रहरी प्रशासन, नियमनकारी निकाय, सहकारी अभियान लगायत कानुन व्यवसायीसंग यस विषयमा परामर्श गर्नुका साथै राजनीतिक दल, जनप्रतिनिधिलाई समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

इमेज सहकारीले बागलुङ बजारमा सञ्चालित मुख्य कार्यालयबाट १ अर्ब २४ करोड, गलकोट सेवा केन्द्रबाट १८ करोड र बुर्तिबाङ सेवा केन्द्रबाट १२ करोड गरी बागलुङवासीको १ अर्ब ५४ करोड बचत संकलन गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *