बडिगाड गाउँपालिकाले संकलन गर्याे लक्ष्यभन्दा झण्डै ३० प्रतिशत बढी राजस्व

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लक्ष्यभन्दा २९.९३ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले एक करोड ४० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा गाउँपालिकाले एक करोड ८१ लाख ९० हजार २ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको हो ।

पालिकाले लक्ष्यभन्दा ४१ लाख ९० हजार २ सय ५६ रुपैयाँ बढी राजस्व संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । राजस्व वृद्धि गर्न गाउँपालिकाले राजस्व चुहावट भएका क्षेत्रहरुको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गरेको भण्डारीको भनाइ छ ।

पालिका भित्र रहेका पसलहरुको नविकरणका लागि नियमित बजार अनुगमन, लघुजलविद्युत आयोजनाहरुलाई करको दायरामा ल्याइएको, जेसिबी वर्षभरी सञ्चालन हुनु, बेरुजु असुली, जस्ता कारणले राजस्व संकलन वृद्धि भएको उहाँको भनाई छ । गाउँपालिकाले राजस्व संकलनलाई व्यवस्थित बनाउन १० वटै वडा कार्यालय र पालिकाबाट विद्युतीय माध्यमबाट राजस्व संकलन गर्दै आएको उहाँको भनाइ छ ।

सबैभन्दा बढी अन्य सेवा शुल्क तथा बिक्री र हेभि ईकुईपमेन्ट शुल्क शीर्षकबाट ५२ लाख २८ हजार दुई सय ८७ रुपैयाँ राजस्व संकलन गरेको छ भने सबैभन्दा कम न्यायिक दस्तुर शीर्षकबाट पाँच सय १० रुपैयाँ राजस्व संकलन गरेको भण्डारीले बताउनुभयो ।

“गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ अघिल्लो वर्ष एक करोड ४० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो, तर एक करोड १६ लाख उठेको थियो, हामी लक्ष्यमा पुग्न सकेको थिएनौँ, तर आर्थिक वर्ष २०७९÷८० मा लक्ष्य भन्दा बढीनै संकलन गर्न सफल भयौँ,” उहाँले भन्नुभयो – “नयाँ दर्ताको कामलाई तीव्रता दिइयो, अहिलेसम्म जलविद्युत आयोजना दर्ता मात्रै थिए, करको दायरामा आएका थिएनन्, ति सबैलाई करको दायरामा ल्यायौँ, नयाँ दर्ता लगायतको कामलाई प्राथमिता दिँदा राजस्व संकलनमा सुधार भएको छ ।”

पालिकाले आर्थिक वर्ष २०७९÷०८० मा घरबहाल करबाट आठ लाख ७२ हजार नौँ सय ५४ रुपैयाँ, बहाल बिरौटी करबाट चार लाख ६१ हजार तीन सय ५९ रुपैँया, सवारी साधन करबाट १२ हजार रुपैयाँ, भूमीकर÷मालपोतबाट २३ लाख ६२ हजार पाँच सय १८ रुपैँया, अन्य करबाट तीन लाख ४७ हजार तीन सय २१ रुपैया, शिक्षा क्षेत्रको आम्दानीबाट पाँच हजार, परीक्षा शुल्कबाट २४ हजार छ सय, अन्य प्रशाशनिक शुल्कबाट १० लाख १२ हजार आठ सय ८३ रुपैँया राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

सिफारिश दस्तुरबाट २२ लाख ५६ हजार पाँच सय ८८ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट ६ लाख २७ हजार एक सय, नाता प्रमाणित दस्तुरबाट एक लाख ७ सय ५३, अन्य दस्तुरबाट आठ लाख ९१ हजार नौँ सय १३, व्यवसाय करबाट नौँ लाख ९२ हजार ७ सय १०, अन्य राजस्वबाट छ लाख १२ हजार छ सय ५०, बेरुजु प्राप्तिबाट ११ लाख ६६ हजार एक सय ४७, दहत्तर बहत्तर बाँडफाँडबाट पाँच लाख २२ हजार पाँच सय ४० र घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट छ लाख ९२ हजार चार सय २१ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो ।

गाउँपालिकामा रहेका १० वटा वडामध्ये सबैभन्दा धेरै वडा नम्बर ५ को कार्यालयबाट १७ लाख ६० हजार तीन सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ भने सबैभन्दा कम वडा नम्बर ४ को कार्यालयबाट चार लाख २७ हजार ४ सय ७२ रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका लेखा अधिकृत डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०÷०८१ मा बडिगाड गाउँपालिकाले एक करोड ५० लाख आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९÷८० कै जस्तै तीव्र रुपमा लागे लक्ष्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *