जिल्ला अदालत बागलुङको प्रगति लक्ष्य भन्दा बढी

सिर्जना पन्त, बागलुङ
जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष ०७८÷७९ मा २७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए ।

जिल्ला न्यायाधीश दिवाकर भट्टले प्रविधिको दुरुपयोग, कानुनी सचेतनाको कमीले यौनजन्य मुद्दाहरुको संख्या बढ्न थालेको बताउनुभएको थियो ।

यस्ता घटना न्यूनिकरण गर्नको लागि प्रत्येक स्थानीय तह सचेत हुनुपर्ने, स्थानीय स्तरबाटै कानुनी सचेतनाका कार्यक्रम अगाडी बढाउनु पर्नेमा उहाँको जोड थियो ।

तर, यसवर्ष अदालतमा यौनजन्य घटनाको दर्ता हुने संख्या बढेको मात्र छैन्, दोब्बरले बढेको छ । असार मसान्तसम्म जिल्ला अदालत बागलुङमा जबरजस्ती करणीका ४३ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७८÷७९ मा दर्ता भएका मुद्दा भन्दा १६ थान मुद्दा ०७९÷८० मा बढी दर्ता भएका छन् ।

आर्थिक वर्ष ७८÷७९ मा हाडनातामा करणी सम्बन्धी ५, जबरजस्ती करणी उद्योग सम्बन्धी ९, बाल यौन दुरुपयोग सम्बन्धी ५ वटा मुद्दा दर्ता भएका थिए, भने अप्राकृतिक मैथुनका मुद्दा एउटा पनि दर्ता भएको थिएन । तर, आर्थिक वर्ष ०७९÷८० मा जबरजस्ती करणी उद्योगका १४, हाडनातामा करणीका ५, बालयौन दुरुपयोगका ४ र अप्राकृतिक मैथुनका ४ वटा मुद्दा दर्ता भएका छन् ।

सम्बन्ध विच्छेदका मुद्दामा पनि वृद्धि भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो । आर्थिक ०७८÷७९ मा ३ सय १९ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ०७९÷८० मा ३ सय ७८ थान मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

पारिवारिक बेमेल, बालबालिका तथा युवा पुस्तामा यौन शिक्षाको अभाव, गैर जिम्मेवार सरोकारवालाका कारण यस्ता घटनाको संख्यामा वृद्धि हुँदै गएको भण्डारीको भनाई छ । ‘हरेक वर्षको सुरुवातमा वर्षभरी पर्ने मुद्दाको लगत समेत अनुमान गरेर काम गर्छाै,’ भण्डारीले भन्नुभयो ‘तर, पछिल्लो समय यौनजन्य अपराधका मुद्दाहरु अप्रत्यासित रुपमा बढ्न थालेका छन्, यो समाज र राष्ट्र दुवैका लागि राम्रो होइन् ।’

जिल्ला अदालत बागलुङले आर्थिक वर्ष ०७९÷८० मा ५ सय २३ वटा मुद्दा दर्ता हुने अनुमान गरेको थियो । आर्थिक वर्ष ०७८÷०७९ बाट जिम्मेवारी सरेर आएका ३ सय ८९ थान मुद्दा थिए । वर्षिक ९ सय १२ थान मुद्दाको लगत अनुमान गरेको अदालतमा नयाँ दर्ता हुने मुद्दाको संख्यामा वृद्धि हुँदा ९ सय ६४ थान मुद्दा कायम हुन पुगे ।

जिम्मेवारी सरेर आएको र नयाँ दर्ताबाट गरेर ६ सय १५ थान मुद्दा फछ्र्याैट गर्ने अनुमान गरेको अदालतले ७ सय ५१ थान मुद्दा फछ्र्याैट गरेको छ । अनुमान भन्दा १ सय ३६ थान बढी मुद्दा फछ्र्याैट गरेको स्रेस्तेदार भण्डारीले बताउनुभयो ।

‘संघ प्रदेश र स्थानीय तह निर्वाचन नभएको मुद्दाको फछ्र्याैट हुने संख्या अझ बढी हुने थियो,’ भण्डारीले भन्नुभयो ‘वर्षिक फछ्र्याैट भन्दा १४.९१ प्रतिशत मुद्दा बढी फछ्र्याैट गर्न सफल भएका छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *