सरकारले भरिया समातेर तस्कर जोगायो : बस्नेत

आदर्श अनलाइन, म्याग्दी

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेतले सरकारले सुन तस्करी काण्डमा भरियालाई समातेर तस्करलाई जोगाएको आरोप लगाउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले उक्त धारणा राख्नुभएको हो । विमानस्थल हुँदै डेढ सय किलो सुन बाहिर निस्कन्छ, त्यो बोक्ने भरिया समातिन्छन् तर अरु उम्कीन्छन् सरकारले गर्न खोजेको के हो? सरकारी निकायको सुरक्षा जाँच अनि राजश्व अनुसन्धान तथा भन्सार जस्ता निकायको मिलेमतो बिना कुनै हालतमा त्यो परिणाममा सुन बाहिरिन सक्दैन । सरकारले आफैले तस्करीको सेटीङ मिलाए पछि मात्रै त्यस्तो कार्य हुन सक्छ होइन भने कसरी सम्भव छ–उहाँले भन्नुभयो ।

पूर्व मन्त्री समेत रहेका राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बस्नेतले फरक प्रसंगमा भन्नु भयो–सहकारीमा पैसा राख्ने हैन झिक्ने मात्र आउन थालेको झण्डै दुई वर्ष पुग्न लाग्यो, बैंकको हालत पनि त्यस्तै छ, समस्या समाधान तर्फ ध्यान दिन पर्छ कि पर्दैन? केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा अर्थतन्त्रको अवस्था ठिक थियो अहिले महंगी तीन गुणा बढि सक्यो, राज्यको पुजीगत खर्च छैन, विकासको काम ठप्प छ देश कसरी चलाउने ?

अहिलेका सत्ता साझेदारहरुले प्रतिशोधको राजनीति गरेको आरोप लगाउँदै भन्नुभयो–‘अर्काको बिरुद्धमा मोर्चा बनाउने खेलमा सरकार लागेको छ ।’ मेडिकल पढ्ने विद्यार्थीहरु बिदेशीदा अर्वौं रुपियाँ मुलुकबाट बाहिर गएको छ । त्यसलाई व्यवस्थापन गर्ने कसरी कसैले सोच्छ भने त्यो एमालेले सोच्ने थियो तर अहिले अन्तर्राष्ट्रिय दलाल सँग मिलेर कमिसन लिने खेलमा सत्तासाझेदार लागेका छन् । नेपालमा मेडिकल पढ्ने कलेजहरु बन्द भए नयाँ खोल्न नपाउने भन्दै अनसन बसिन्छ अनि नेपालीलाइ जबरजस्ती बाहिर पठाइन्छ खेल कस्को हो ?

अरुलाई समातेर हिड्दा एमाले कमजोर भएको बताउँदै बस्नेतले भन्नुभयो अबको चुनावमा एमाले एक्लै चुनाव लड्छ हिम्मत भए अरु पनि चुनावमा एक्लै आउ । कहिले कांग्रेसलाई लिएर, कहिले माओवादी र राप्रपा लिएर हिड्दा एमालेको मत केही कम आयो अब त्यो हुँदैन एमाले एक्लै लड्छ अनि बहुमत ल्याउँछ । एमाले माथि कसैले प्रश्न उठाउँछ भने त्यसलाई चिर्न हामी तयार छौं । एमाले मात्रै देशको सही नेतृत्व गर्न सक्ने पार्टी हो ।गृहमन्त्रीको राजिनामा माग्नुको कारण नबुझी एमालेलाई आरोप लगाएको बस्नेतले बताउनुभयो ।

उहाँले भन्नु भयो गृह र अर्थ मन्त्रालय एवम् प्रधानमन्त्री कार्यालयको मिलेमतो बिना विमानस्थलबाट अवैध सामान भित्रन नसक्ने भएको हुनाले त्यसलाई चुस्त बनाउन नसकेको हुनाले नैतिकताका आधारमा उनीहरुले राजीनामा दिनुको बिकल्प नभएको उहाँको भनाई थियो ।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका अध्यक्ष विजय घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुसन किसानले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *