बागलुङमा दुध उत्पादन, प्रशोधन र बजारिकणका विषयमा गोष्ठी

आदर्श अनलाइन, बागलुङ
उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकको जीवनस्तरमा सुधार परियोजना अन्तर्गत सहभागितात्मक बजार प्रणाली विकास गोष्ठी सम्पन्न भएको छ ।

धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र बागलुङ र प्राक्टिकल एक्सन नेपाल, काठमाडौंको आयोजनामा बुधबार बागलुङमा सम्पन्न भएको गोष्ठिमा दुध प्रशोधन केन्द्र, दुध उत्पादक सहकारी, व्यवसायीक कृषक र साना किसानहरु, दुग्ध संकलन केन्द्र, दुग्ध डेरी पसल र व्यवसायीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

गोष्ठिमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा दुधको उत्पादन, विक्रि परिमाण, अवस्था, उत्पादक र व्यवसायी विचको व्यवासायीक सम्बन्ध, दुधको व्यवसायीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमको पहिचान गर्नुका साथै कृषक, व्यवासायी, सहकारी र सरोकारवालाका विच अनुभव आदान प्रदान गरेको थियो ।

काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा हाल १२ हजार लिटर दुध उत्पादन हुँदै आएको र सो मध्ये ७ हजार लिटर दुधमात्र संकलन गरि विक्रि वितरण हुँदै आएको बताईएको छ ।प्राक्टिकल नेपालका सिनियर कार्यक्रम अधिकृत चन्द्र कार्कीले परियोजनाको माध्यमबाट उर्जाको प्रयोग गरेर दुधलाई प्रशोधन तथा बजारिकरण गरि कृषकको जीवनस्तर सुधार गर्न सहयोग गरिने बताउनु भयो । उहाँले बागलुङमा नियमित विद्युत प्रवाह नहुँदा कृषक र डेरीहरुले भोग्नु परेको समस्या, प्राविधिक ज्ञानको कमी, सुख्खा सिजनमा दुधको उत्पादनमा आउने कमी, उपयुक्त स्थानमा संकलन केन्द्र नहुँदा कृषकले भोग्नु परेको समस्यालाई समाधान गर्न काम गरिने बताउनुभयो ।

गोष्ठिमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषीराम सापकोटाले दुधको उत्पादन बढाउन र नाफा आर्जन गर्नका लागि स्थानीय घाँसको उत्पादनमा जोड दिनुपर्ने बताउनु भएको थियो । उहाँले भेटेरीनरी अस्पताल बागलुङमा कृषकलाई प्रोत्साहन कार्यक्रम, रोग नियन्त्रणका लागि खोप कार्यक्रम, घाँस उत्पादन वृद्धिका लागि प्रति रोपनी बाँझो जग्गामा घाँस उत्पादन गरेबापत ३ हजार रुपैयाँ, कृतिम गर्भाधानबाट जन्मिएका पाडी बाच्छी हुर्काउनका लागि प्रति पाडा बाच्छा १० हजार रुपैयाँ अनुदान प्रदान गरिदै आएको बताउनुभयो ।

कार्यक्रममा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारीमा आवद्ध सदस्यहरुको दुधको उचित मुल्य प्रदान गर्दै दैनिक ३ हजार ५ सय दुध बागलुङसँगै जिल्ला बाहिर पनि विक्रि वितरण गर्दै आएको बताउनु भयो । उहाँले संघको क्षमता वृद्धि गरि थप सेवा विस्तार गर्ने सोच रहेको समेत बताउनुभयो ।

गोष्ठीमा सुजल डेरी पोखराका भुपेन्द्र गिरीले बागलुङका किसानले सिजनमा मात्र नभएर अफ सिजनमा पनि आफुहरुलाई दुध दिन सके सरकारले तोकेको मुल्य तिरेर सधै सबै खरिद गर्न तयार रहेको बताउनु भएको थियो । तर उहाँले, सिजनमा दुध धेरै हुँदा जिल्लामा विक्रि नभएर पोखरा पठाउने र अफ सिजनमा जिल्लामै खपत हुँदा आफुहरुलाई नदिने हो भने सुजल डेरीले दुध खरिद गर्न नसक्ने बताउनुभयो ।

गोष्ठिमा सहभागी दुग्ध उत्पादक कृषकहरुले विहानको दुध विहान र बेलुकाको बेलुकानै संकलन गर्ने वातावरण बनाउँनु पर्ने, स्थानीय पालिका र जनप्रतिनिधिले कृषकका समस्या बुझिदिनु पर्ने, घाँसको विउ, औषधी उपचार र अनुदानका विषयमा गम्भिर बनिदिनु पर्ने लगाएतका विषयमा जोड दिएका थिए ।

गोष्ठिमा बागलुङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख मित्रलाल सापकोटा, योजना शाखाका शषबहादुर पुन, काठेखोला गाउँपालिकाका पशु सेवा शाखाका सुनिल शर्मा, योजना शाखाका उत्तम पौडेल लगाएतले बोल्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *