एमालेको मध्यपहाडी संकल्प यात्रा बागलुङमा दुई दिन (कार्यतालिका सहित)

आदर्श अनलाइन, बागलुङ
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले ल्याएको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाझञ्ज्याङसम्मको मध्यपहाडी पुष्पलाल लोकमार्गमा चल्ने संकल्प यात्रा बागलुङमा दुई दिने सम्म चल्ने भएको छ ।

बागलुङका स्थानीय तहको विकास निर्माण, पर्यटन प्रर्बद्धन संगै नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहितको टोली मङ्सिरको २० र २१ बागलुङमा आउने भएपछि नेकपा एमाले बागलुङले तयारीलाई तिब्रता दिएको छ ।

अध्यक्ष ओली सहित १५० केन्द्रिय नेता सहभागी हुँने उक्त यात्रालाई बागलुङमा भव्य बनाउनका लागि नेकपा एमाले बागलुङले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

नेपालकै लामो मार्ग मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा १४२ किलोमिटर पर्दछ ।
उक्त लोकमार्ग आसपासका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्न थालिएको नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्य पहाडी (पुष्पलाल) लोकमार्ग समृद्धिकालागि संकल्प यात्रा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मंसिरको २० र २१ गते ओली सहितका १५० केन्द्रिय नेताहरु बागलुङमा आउनेभएको अध्यक्ष केसीले बताउनुभयो ।

“स्थानीय सम्बन्धलाई राष्ट्रियकरण गराउने हाम्रो अभियान हो, हामीले एकसाथ १५० नेताहरु सहितको समूहलाई बागलुङमा पाउदा एउटा अवसरको रुपमा लिएका छौं” केसीले भन्नुभयो “बागलुङका लोकमार्गको समस्या, सालझण्डी ढोरपाटन सडकको समस्याका विषयमा समेत उठान गर्नेछौं, ऐतिहासिक पर्यटकीय स्थलहरुको भ्रमणले पर्यटनको विकास गर्नेछ ।”

यस्तो छ कागलुङको कार्यक्रम

रुकुम सिमानाको पातीहाल्नेमा २० गते बिहान साँढे ८ ओली सहितका नेताहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । सिमानाका प्रवेशपछि २१ गते दिउँसो १ बजे सम्म नेताहरुले बागलुङका ६ वटा स्थानीय तहमा विभिन्न कार्यक्रममा सहभागि हुने भएका हुन् ।

लोकमार्ग आसपासका पालिकाहरुको विकास निर्माणको विषयमा छलफल गर्ने तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

नेता ओली सहित केन्द्रीय नेता रहेको १५० जनाको समूहलाई यात्रामा मोटरसाइकल स्कटिङ गरिने छ । जस्कालागि एक सय मोटरसाईकलहरु परिचालन गरिने छ । प्रेस चौतारी मार्फत मिडिया परिचालन र भेटघाट कार्यक्रम समेत राखिएको छ ।

२० गते बिहान पातीहाल्नेमा केन्द्रीय सदस्य साबित्रा रानाको टोलीले स्वागत गरेपछि टोलीले निसीखोलाको झिवाखोलामा जनभेटघाट गर्ने छ । बुर्तिवाङ बजारमा सोही दिन बिहान १० बजे केन्द्रीय सदस्य सूर्य पाठकले स्वागत गर्नेछन् । बुर्तिवाङमा खाना खाएर टोलीले ढोरापाटन र तमानखोलाका कार्यकर्तासँग भेटघाट गर्ने बताइएको छ ।

२० गते नै बडिगाड गाउँपालिकाको दुइ स्थानमा भेटघाट पछि गुल्मीको वामीटक्सारमा आयोजना गरिएको आमसभामा ओलीले सम्बोधन गर्ने योजना छ ।

त्यसपछि नेताहरुको टोली पुन बागलुङको गलकोट आउने छ । गलकोटमा बेलुकीको बसाइ समेत हुने भएकोले भेटघाट र अन्तरक्रिया लगायतका कार्यक्रम गलकोटमा सम्पन्न हुनेछन् । गलकोटकालागि पोलिटव्युरो सदस्य मनकुमारी केसीले टोलीको स्वागत गर्नेछिन् । त्यहाँ ताराखोलाका स्थानीयलाई समेत समेटिनेछ ।

मंसिर २१ गते ओली सहितको संकल्पयात्रा बागलुङको घोडाबाँधे हुँदै बागलुङ आउने भएको छ । उक्त दिन बिहान १० बजे बागलुङ बजारमा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले स्वागत गर्नेछन् । उक्त दिन दिउँसो होटल दि राजनमा जभेटघाट कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

टोलीले कालिका मन्दिरको दर्शन र अबलोकन गर्नेछन् । खानापछि मालढुंगामा बिदाइ गरेपछि ओलीले फेरी पर्वतको कुश्मामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने योजना छ ।

उक्त संकल्पयात्राको क्रममा बागलुङको समृद्धिकालागि केही एजेण्डाहरु पार्टी नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको तर्फबाट पेश हुने बताइएको छ । बिशेषगरी बागलुङको समृद्धिको यात्रालाई प्रभाव पार्ने कालीगण्डकी करिडोर मध्यपहाडी लोकमार्ग, उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना र सालझण्डी ढोरपाटन सडक जस्ता बिषय एजेण्डाको रुपमा प्रस्तुतीकरण गरिने छ ।

अभियानलाइ सफल बनाउन उद्योगी, व्यवसायी, पत्रकार, प्रशासन र सुरक्षा निकायमा छलफल गर्ने योजना एमालेको छ । यो अभियान सफल पार्न एमालेले मंसिर १२ गते गलकोट, १३ गते बुर्तिवाङ, १४ गते बागलुङ बजारमा सामुहिक तयारी भेला समेत राखेको छ ।

पत्रकार सम्मेलन एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र एमाले प्रवत्ता गणेश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम बारे कार्यालय सचिव अमरबहादुर थापाले प्रस्तुतीकरण गर्नुभएको थियो भने एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले पत्रकारुको जिज्ञासालाई मेटाउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *