लेखानीमा गाउँभेला तथा पूर्व जनप्रतिनिधि सम्मान

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीले गाउँभेला तथा पूर्व जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा पञ्चायतकालदेखि गत स्थानीय तह निर्वाचन अघिसम्म विभिन्न समयमा लेखानीको वडादेखि गाविससम्म र अहिलेको नयाँ संरचना अनुसार बनेको वडामा नेतृत्व गरेका पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । लेखानीलाई विभिन्न समयमा योगदान गरेर अहिलेको स्थीतिसम्म ल्याउन योगदान पु¥याउने व्यक्तिहरुको स्मरण सम्मान गर्नु अहिलको पुस्ताको दायित्व सम्झेर पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको काठेखोला गाउँपालिका—८ लेखानीका वडाध्यक्ष परमानन्द कँडेलले बताए ।

‘विगतका कठिन परिस्थीतिमा यो ठाउँको नेतृत्वको गरेर अहिलेको अवस्थामा ल्याईपु¥याउनु भएका अग्रजहरुको सम्मान गर्नु हामी सबैको दायित्व हो,’ उनले भने,‘अग्रजको सम्मान गरौं विकास निर्माणको काममा अग्रसर बनौं भन्ने नाराका साथ हामीले यो कार्यक्रम गरेका छौं ।’ उक्त अवसरमा पूर्व प्रधानपञ्चहरु स्वर्गीय परमानन्द कँडेल, स्वर्गीय भिबहादुर पुन, स्वर्गीय भिमबहादुर रोका, स्वर्गीय दलबहादुर श्रीस, स्वर्गीय टेकबहादुर रोका, स्वर्गीय टिकानिधि कँडेल, पूर्व अध्यक्षहरु पूर्णबहादुर श्रीस, दिलबहादुर छन्त्याल, चित्रकला छन्त्याल श्रीसलाई सम्मान गरिएको थियो ।

पूर्व वडाध्यक्षहरु दिल्लीराम गौतम, मणिभद्र शर्मा कँडेल, डिलाराम कँडेल, पृथीलाल शर्मा कँडेल, गंगाबहादुर छन्त्याल, हर्कबहादुर छन्त्याल, पदमबहादुर काउचा, डम्बरसिंह घर्तीमगर, स्वर्गीय बमबहादुर श्रीस, प्रेमबहादुर गुरुङ, स्वर्गीय चिन्ताराम छन्त्याल, स्वर्गीय रामबहादुर पुन, रेखबहादुर श्रीस, नरबहादुर काउचालाई सम्मान गरिएको छ । त्यसैगरी उपाध्यक्षहरु नरहरी कँडेल, खर्कबबहादुुर श्रीस, लेखानी समाज युके, लेखानी समाज बहराईन, लेखानी समाज जापानलाई सम्मान गरिएको छ । नयाँ संरचनामा काठेखोला गाउँपालिका—८ बनेपछिका वडा सदस्यहरु कासीराम कँडेल, चन्द्रीकला विक, तुल्सा श्रीस र चन्द्रकुमार पुनलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले समग्र काठेखोला र लेखानीको विकासका लागि आफुहरु सक्रियता पूर्वक लागिरहेको बताए । ‘हामीलाई तपाईहरुले २०७९ सालको वैशाखमा काठेखोला गाउँपालिकाको जिम्मेवारी दिएर पठाउनुभएको छ,’ उनले भने,‘त्यसलाई पूरा गर्नका लािग हामीले योजनावद्ध ढङ्गले काम गरिरहेका छौं । लेखानी र समग्र काठेखोलाकै विकासमा टेवा पुग्ेनगरी हामी काम गर्छौं ।’ अन्य वडाहरुको तुलनामा लेखानीले छिटो छरितो र गुणस्तरीय काम गर्ने गरेको थापाले बताए ।

‘यहाँको वडाध्यक्ष लगायत यहाँका जनप्रतिनिधिको सक्रियता र तपाईहरुको साथले गर्दा काठेखोला गाउँपालिका भित्र लेखानी सबैभन्दा राम्रो काम गर्ने वडामा गनिन्छ,’ उनले भने,‘हामीले गाउँपालिकाबाट विनीयोन गरेको भन्दो धेरै बजेट वडाध्यक्षज्यूले आफ्नै सक्रियतामा केन्द्र र प्रदेशबाट पनि ल्याउनुभएको छ । त्यसले पनि यहाँको विकासका लागि ठूलो योगदान पुगेको छ ।’ आफुहरुले गाउँपालिका भित्रको भौतिक विकास संगसंगै मानवीय विकासलाई पनि महत्वका साथ अगाडि बढाईरहेको बताए ।

‘भौतिक विकास त हामीले गर्छौं नै सडक पूर्वाधारलाई व्यवथीत गर्ने, गाउँपालिकाको आफ्नो प्रशासकिय भवन बनाउने हाम्रो प्राथमिकता छन्,’ उनले भने,‘त्यससंगै हामीले मानवीय विकासमा पनि ध्यान दिएका छौं । यसैवर्ष मात्रै हामीले गाउँपालिका भित्रका विपन्न, गरिब, दलित गरी २२ जना छात्रछात्रालाई प्राविधिक शिक्षा अध्ययनका लागि निःशुल्क व्यवस्था गरेर लेते मुस्ताङ पठाएका छौं । क्षमता विकास र सीपमूलक तालिमहरु सञ्चालन गरेका छौं ।’ उनले लेखानीमा आवश्यक रहेको पाहुनाघर निर्माणका लागि गाउँपालिकाले बजेट विनीयोजन गर्ने समेत बताए ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले सिमित स्रोत साधन र जनताको असिमित आकांक्षाबीच गाउँपालिकाले समग्र क्षेत्रको विकासमा ध्यान दिईरहेको बताए । उक्त अवसरमा एमाले लेखानीका अध्यक्ष डम्बरसिंह घर्ती, पूर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याल, लेखानी समाज युकेका अध्यक्ष लालबहादुर रोका, लेखानी माविका प्रअ खिमानन्द कँडेल, गाजा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सूर्य कँडेल, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, नागरिक समाजका कृष्ण छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।

उक्त अवसर पारी आयोजना गरिएको गाउँभेलामा सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाईमा बोल्ने प्रश्नकर्ताहरुले विगतका जनप्रतिनिधिले सुरु गरेका कामलाई निरन्तरता दिनुपर्ने, भौैतिक विकाससंगै क्षमता विकासमा ध्यान दिनुपर्ने, वडा भित्रको सुरक्षामा ध्यान दिनुपर्ने, झाँडी सरसफाई गर्दा आवश्यक र उपयोगी बोटहरु जोगाउनुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए । झकबहादुर सुनार, विष्णुबहादुर थापा लगायतले प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा सवाल जवाफ खण्डको सहजीकरण पत्रकार संगम घर्तीमगरले गरेका थिए । उठेका प्रश्नहरुको जवाफ दिँदै वडाध्यक्ष परमानन्द कँडेलले वडामा आएको बजेटको न्यायोचित रुपमा विनीयोजन गरिएको बताए । उनले वडाका गतिविधिहरुको अर्धवार्षिक र वार्षिक रुपमा समीक्षा गर्ने गरेको बताउँदै सुझावहरु सदैव ग्रहण गरेर अगाडि बढ्ने बताए । अध्यक्ष कँडेलले यस आर्थिक वर्षमा लेखानीमा विनीयोजित बजेट र तय गरिएका योजनाहरुको बारेमा जानकारी गराएका थिए ।

गाउँभेलाले झाँडी सरसफाई लगायतका विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ । कार्यक्रमको सञ्चालन वडा सदस्य मोम रोकाले गरेका थिए । उक्त अवसरमा लेखानीका पूर्व प्रधानपञ्च र पूर्व अध्यक्षहरु तस्विर समेत अनावरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *