गंगा ढकालको पानी लडाईं, छेक्न बाटो बाराबार

सिर्जना पन्त, बागलुङ
बागलुङ नगरपालिका–१३ पैयुँपाटा बडहरेका ६७ वर्षीय गंगा ढकाल पाध्य पछिल्लो १ वर्षयता आफ्नै दाजुभाईसँग पिउने पानीका लागि लडिरहनु भएको छ ।

गंगाको घरबाट ठ्याक्कै तल पानी ट्याङ्की छ, ट्याङ्की नजिकै गंगा र उहाँका छिमेकीले २०७२ सालबाट पानी पिउने गरेको धारा छ । यो ट्याङ्की र धारा निर्माण गर्न गंगाले पनि अन्य छिमेकीले जस्तै श्रमदान गर्नुभएको थियो । बालुवा, सिमेन्ट बोक्नु भएको थियो, ६ दिनसम्म कामदारलाई खाजा बनाएर खुवाउनु भएको थियो ।

हाल वडाका वडाअध्यक्ष रहेका नारायण पौडेल तत्कालिन समयमा उक्त खानेपानी निर्माण समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

तत्कालिन समयमा व्यक्तिको जग्गामा धारा निर्माण गरिएको थियो । धाराबाट निस्किएको पानीको निकास थिएन, त्यसैले गंगाले पाइपबाट बाटोमा पानी पुर्याएर प्रयोग गर्दै आउनु भएको थियो । तर, पानी लिन सोही ठाउँका एक र वडा नम्बर १४ का एक स्थानीयको जग्गाबाट जानुपर्ने बाध्यता थियो ।

२०७९ चैत महिनाबाट गंगाले पानी ल्याउन धारासम्म पुग्ने बाटोमा स्थानीयले तारबार गरिदिएका छन् । बडहरेका १० घरधुरीका लागि सिम्ले भन्ने स्थानबाट ल्याईएको पानी गंगाकै घरमुनी ट्याङ्की बाँधिएको छ । सोही ट्याङ्कीबाट २ घरका लागि १ धारा निर्माण गरेर पानी वितरण गरिएको भएपनि गंगालाई पानीको धारासम्म पुग्ने बाटोमा बार लगाएर पिउने पानीबाट बञ्चित गरिएको छ ।

बाटोमै बार लगाएर रोकिएको चैतमा १ वर्ष पुरा हुँदै छ । गंगाको स्थानीयसँग पानीको विवाद भने पछिल्लो ३ वर्षदेखिकै हो । स्थानीय र गंगा बिचको समस्या सल्टाउन ३ वर्षमा ७ पटकसम्म पुगेको वडा अध्यक्ष नारायण पौडेलले बताउनु भयो ।

गंगाको घर बडहरेको सबैभन्दा उपल्लो तहमा भएकाले पानी पुर्याउन अधिकतम प्रयास गरेर गंगाकै सहमतिमा घर नजिकै ट्याङ्की बनाएको भएपनि अरुको जग्गाको बाटो हुँदै पानी लिन जानु पर्ने भएकाले समस्या आएको अध्यक्ष पौडेलले बताउनु भयो ।

गंंगाले छिमेकीको खेतबारीमा जाने बाटोमा बार लगाएपछि छिमेकीले पनि धारामा जाने बाटो बारेको देखिन्छ, पौडेलले भन्नुभयो, यो विषय न्यायीक समितिमा पनि पुगेको छ १९ गते छलफलको तयारी गरेका छौं ।

गंगालाई खानेपानीको पहुँचमा पुग्न बार लगाएका स्थानीय नारायण ढकालले आफुलाई आफ्ना जीजुबाजेको पालादेखि हिड्दै आएको बाटामा गंगाले बार लगाएपछि आफुले पनि आफ्नो जग्गामा बार लगाएको बताउनु भयो ।

‘पिउने पानी रोक्ने मनसाय होइन्, गंगाको घरमाथी हाम्रो खेतबारी छ, हामिले वर्षौदेखि हिडेको बाटोमा उनले बार लगाएका छन्,’ नारायणले भन्नुभयो ‘यस विषयमा वडा र नगरपालिकामा पुग्यौँ सुनुवाई नभएपछि आफ्नो जग्गामा बार लगाएका हौँ, धारामा बार लगाएका छैनौँ ।’

तर, गंगाले भने आफ्नो घर वा गोठको छेउबाट बाटो दिन तयार रहँदा रहँदै पनि स्थानीयहरु घर आगनको बिचबाटै बाटो चाहिन्छ भनेर आफुमाथी अन्याय भइरहेको बताउनु हुन्छ ।

माथि खेतमा जाने बाटोको विकल्प दिन्छु, मेरो घरको र गोठको जुन छेउबाट बाटो प्रयोग गर्दा पनि हुन्छ भनिरहेकै छु, गंगाले भन्नुभयो, तर मेरो घर बिचबाट बाटो चाहिन्छ भन्दै मलाई एकल बनाएर वडा अध्यक्षदेखि सम्पूर्ण गाउँलेहरु म माथी लागि रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *