नेपालका ‘५० प्रभावशाली महिला’ मा बागलुङकी शिलशिला

रोहन जि.सी, बागलङ

नेपालका ५० प्रभावशाली महिलाको सूचिमा बागलुङकी शिलशिला आचार्यको नाम समावेश भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा विद्युतीय सञ्चारमाध्यम अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’को सूची सार्वजनिक गरेको छ ।

राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमुलक ५० महिलाहरु यो सूचीमा समावेश छन् ।

नेपालका ‘५० प्रभावशाली महिला’को सूचीमा बागलुङकी शिलशिला आचार्यको पनि नाम सार्वजनिक भएको हो । बागलुङ नगरपालिका वडा नम्बर १ मा जन्मिएकी शिलशिला बुबा राजेन्द्र आचार्य र आमा इन्दु आचार्यकी जेठी छोरी हुनुहुन्छ ।

वातावरण विद् शिलशिला हिमालयन क्लाइमेट इनिसिएटिभको प्रमुख कार्यकारी अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ ।

छात्रवृत्तिमा डाक्टर पढ्न पाएको अवसर छाडेर वातावरण अभियन्ता बन्नुभएकी शिलशिला आचार्य सन् २०११ मा नर्वेको युनिभर्सिटी अफ बर्गनबाट जैविक विविधता र वातावरण व्यवस्थापनमा स्नातकोत्तर सकेपछि उहाँ नेपाल फर्किनु भयो र सडक अभियान/आन्दोलनहरू, दिवंगत उज्ज्वल थापाको अगुवाइमा सञ्चालित ‘नेपाल युनाइट्स’ लगायत अभियानमा सहभागी भएपछि उहाँ आफैंले भक्तपुर ग्रीन हाइवे अभियान शुरू गर्नुभएको थियो ।

अनलाइनखबरको केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको प्रारम्भिक सूचीमा १५० जना महिलाको नाम देशभरबाट तयार गरिएको थियो । यसरी तयार भएको १५० माथिको सूचीलाई फागुन ८ गते ५० जनाको नाम छनोट गरिएको हो ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५० प्रभावशाली महिला’ छनौटको उद्देश्य हो ।

उक्त छनौटमा ‘नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिँदै समाजमा केही भइरहेको छ र आ-आफ्नो क्षेत्रमा अतुलनिय योगदान दिइरहेका महिलाहरूको समावेश गरिएको अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँलेले बताउनुभयो ।

‘५० प्रभावशाली महिला’ छनौट अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा, पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य रहनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *